(यस वर्षको इन्टिग्रिटी आइकनको पहिलो नम्बरमा परेकी कर्मचारी हुन्, मनमाया भट्टराई पंगेनी । अकाउन्टबिलिटी ल्याब संस्थाले गरेको विभिन्न अध्ययन, अनुसन्धानबाट पंगेनीलाई यस वर्षको उत्कृष्ट कर्मचारीको पहिलो नम्बरमा राखेको हो । यसबारे अकाउन्टबिलिटी ल्याबले गरेको पंगेनीबारेको विस्तृत रिर्पोट यसप्रकार छ - सम्पादक)
काठमाडौँ : मनमाया भट्टराई पंगेनीका हजुरबुबा गाउँका बुद्धिजिवी कहलिन्थे । २०१० सालतिरको कुरा हो, मनमायाकी आमा सानै थिइन् । उनले पढ्ने इच्छा देखाइन् । मनमायाका हजुरबुबाले मनमायाकी आमालाई विद्यालय भर्ना गरि दिए । पढाई राम्रै चल्दै थियो । ४ कक्षाबाट ५ कक्षामा जाने बेलामा मनमायाकी आमाको भाई जन्मिए । अब उनले पढाई छोडेर भाईको हेरचाह गर्नुपर्ने भयो ।
त्यसै बेला उनको ठुल्दाईलाई पढ्न बनारस पठाइयो । मनमायाकी आमाको पढाईमा त्यहीनेर पूर्णविराम लाग्यो । उनको विवाह पनि नपढेकै व्यक्तिसँग भयो । त्यसमा पनि धेरै नै उमेरको अन्तर भएको व्यक्तिसँग । छोरीको रुपमा मनमाया जन्मिइन् । आफु पढ्न नपाएको कुराले जहिले पनि उनको मन पोलिरहन्थ्यो ।
त्यसैले पनि उनी छोरीलाई धेरै पढाएर सरकारी सेवाको ठुलो ओहोदामा पुगेको हेर्न चाहन्थिन् । छोरीलाई पढाउन भनेजस्तो सजिलो भने पटक्कै थिएन । त्यो पनि त्यतिबेला । जतिबेला नेपालमा पढ्नुपर्छ भन्ने भावना नै कम थियो । मनमायालाई कक्षा १ मा भर्ना गर्न उनकी आमाले साहुसँग ऋण लिएकी थिइन् ।
उनकी आमाले त्यसबखत जिल्लाको बडा हाकिमको रवाफ देखेकी थिइन् । उनी आफ्नी छोरीले पनि जिल्ला सम्हालेको हेर्न चाहन्थिन् । मनमायाले पनि आमाको सपनालाई कमजोर बनाइनन् । १ कक्षादेखि १० कक्षासम्म नै प्रथम भइन् । त्यसबापत कहिल्यै पनि शुल्क तिर्नु परेन । २०५३ सालमा उनी अहेबको रुपमा सरकारी सेवामा प्रवेश गरिन् ।
स्वास्थ्य संस्थामा विरोधीलाई सहज सेवा दिने राष्ट्रसेवक
मनमायाको पहिलो पदस्थापन नवलपरासीको अरुणखोलास्थित नयाँढोलानी उपस्वास्थ्य चौकीमा भयो । त्यतिखेर स्वास्थ्यचौकीमा कुनै पनि पूर्वाधार थिएन ।
पूर्वाधार निर्माण गर्न स्वास्थ्य निर्देशनालयले १० हजार रुपैयाँ दिएको थियो । ३ महिनामा उनले आवश्यक पूर्वाधारसहितको उपस्वास्थ्यचौकी तयार गरिन् । त्यसपछि स्वास्थ्य स्वयंम सेविकाहरूसँग मिलेर गाउँगाउँमा स्वास्थ्य जनचेतना फैलाउने काम गरिन् ।
त्यतिबेला तमासपुर भन्ने गाउँमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन खोज्ने व्यक्तिलाई गाउँबाटै लेखेट्ने चलन थियो । मनमायाले पहिला समुदायका अगुवालाई सम्झाएर सचेतना कार्यक्रमदेखि खोप अभियान र गर्भवती तथा सुत्केरी सेवा सञ्चालन गरिन् । विस्तारै गाउँनै पूर्ण खोपयुक्त भयो ।
गाउँमा स्वास्थ्य शिविरको विरोध गर्ने स्थानीयहरू पछि नियमित स्वास्थ्य जाँच गराउन स्वास्थ्यचौकी आउन थाले । कामको व्यस्तताले अरु दिन स्वास्थ्यचौकी जान नसक्नेहरू पनि आइतबार हाटबजार जाने निहुमा स्वास्थ्यचौकी जान थालेपछि उनको साहस र अग्रसरताले विरोधी पनि खुशी भए ।
भाषा सिकेर स्वास्थ्य सम्बन्धी जनचेतना
त्यसपछि उनले अहेवको रुपमा ललितपुरको धापाखेल स्वास्थ्यचौकीमा २ वर्ष काम गरिन् । त्यहाँका बासिन्दाहरू नेवारी भाषा मात्र बोल्दथे । बुढापाकालाई सम्झाउन झनै गाह्रो हुन्थ्यो ।
महिलाहरू सुत्केरी गराउन स्वास्थ्यचौकी आउन पनि लजाउने भएकोले घरमै सुत्केरी हुनेहरुकोे संख्या धेरै थियो । उनले नेवारी भाषा सिकेर स्तनपान र संस्थागत सुत्केरी गराउनुको महत्वबारे जनचेतना फैलाउन शुरु गरिन । बिस्तारै महिलाहरू स्वास्थ्य चौकीमा आउन थाले । स्वास्थ्य जाँच गराउन थाले र स्वास्थ्य चौकी आउँदा आफुमाथी हुने हिंसाबारे पनि सुनाउन थाले ।
यसले उनलाई समूदायमै घुलमिल भएर उनीहरुकै भाषामार्फत धेरै कुरा बुझाउन सकिन्छ भन्ने पाठ सिकायो । यसले झन् काम गर्न प्रेरित त गर्यो नै । अरुलाई पनि गरेको काममा हौसला दिने बनायो ।
बादी समुदायका महिला सर्वेक्षण र सशक्तिकणको सुरुवात
२०६३ सालमा उनले शाखा अधिकृतमा नाम निकालेर महिला विभागमा पदस्थापन भइन् । सिंहदरबार गेट अगाडी बादी समुदायले गरेको विरोध कार्यक्रमले उनको मन छोएको थियो । विभागमा आईसकेपछि उनले यो विषयमा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यो समुदायमा, विशेष गरेर महिलाको समस्या के हो ? भनेर अनुसन्धान गर्ने प्रस्ताव महानिर्देशकसमक्ष पेश गरिन् । महानिर्देशकले उनीमाथी भरोसा गरे । उनले दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाँके जिल्लामा गएर तथ्यांक संकलन गरिन् ।
जम्मा १ हजार ४३७ घरधुरी बादी समुदायको भएको पत्ता लगाइन् । अध्ययनबाट उनीहरूलाई सशक्तीकरण पनि आवश्यक छ भन्ने पनि निष्कर्ष निकालिन । प्रतिवेदन मन्त्रालयलाई बुझाइन् । त्यसपछि बादी व्यवस्थापन समितिको स्थापना भयो । त्यो लगत्तै नेपाल सरकारले घर विकास कार्यक्रम र महिला शसक्तिकरणको कार्यक्रम पनि ल्यायो ।
त्यसपछिको प्रभावकारिता अध्ययन सर्वेक्षणमा, ती कार्यक्रममा सहभागि महिलाहरु विभिन्न संघ संस्थामा आवद्ध भएको, व्यवसाय गरिरहेको पाइयो । यसले उनलाई थोरै भएपनि बादी समूदायका महिलालाई नयाँ सपना र योजनामा हिड्न अग्रसर गराइन् ।
कार्यालयमा फाइलिङ सिस्टमको नायकत्व
यसबीचमा अहेवमार्फत सरकारी सेवामा प्रवेश गरेकी पंगेनी सहसचिवसम्मको यात्रामा पुगिन् । उनले गरेका काम त सह्रानीय थिए नै, त्यतिकै महत्वपूर्ण पनि थिए ।
२०७४ सालमा खुला प्रतिस्पर्धामार्फत सह–सचिवमा नाम निकालेपछि उनले निजामती किताबखानाको महानिर्देशकको जिम्मेवारी पाइन् । त्यहाँको सबै भन्दा ठुलो समस्या फाइलहरू व्यवस्थित नहुनु थियो । त्यसको एउटा कारण, प्रविधिको समुचित प्रयोग नहुनु थियो भने अर्को कारण केही कर्मचारीको फाइल छैन भनेर कामबाट पन्छिने बहाना थियो ।
उनले त्यसलाई मध्यनजर गरेर सेन्ट्रल फाइलिङ सिस्टमलाई कार्यान्वयनमा ल्याइन् । यसो गर्दा आर्थिक वर्ष २०७४÷२०७५ मा मात्र करिब ५ करोडको राज्य कोष असुली भयो । अहिले त्यो प्रणालीले निरन्तरता पाएको छ ।
त्यसरी हरेक व्यक्तिको विवरण सजिलै निगरानी गर्ने संयन्त्र निर्माण भएपछि गलत विवरण पेश गरेर राज्यकोष दोहन गर्ने प्रवृत्तीको अन्त्य भयो । यसले उनलाई सरकारी कार्यालयमै महत्वपूर्ण कागजात व्यवस्थापन गर्ने नयाँ नेतृत्वका रुपमा स्थापित गरायो ।
महिला, बालबालिका मन्त्रालयका दुई काम : महिलाको उद्धार र महिनावरी
पछिल्लो समय सरकारले धेरै नै प्रचार गरिरहेको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलालाई मात्र सेवा दिइरहेको थियो । उनले सुगमभित्र पनि दुर्गम क्षेत्रका महिला यस कार्यक्रमबाट बञ्चित रहेको देखिन् ।
त्यसपछि त्यस क्षेत्रको पहिचान गरी क्षेत्र विस्तार गरिन् । यसबाट सुगम भित्रका पनि दुर्गम क्षेत्रका विशेष गरेर जोखिममा रहेका गर्भवती महिलाहरुले सेवा पाउन थाले । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा गरेको यो अर्को महत्वपूर्ण काम थियो । यो उनको पहिलो काम थियो ।
यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महाशाखा प्रमुखको रुपमा आउनु भन्दा पहिला नै लैंगिक समानता नीति बनेको थियो । तर कार्यान्वयनमा आएको थिएन । उनले त्यसलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइन् ।
यो नीतिले हरेक नीतिलाई लैंगिक लेन्सबाट हेर्न थालियो । त्यसपछि “मर्यादित महिनावारी” कार्यक्रमलाई आक्रामक रुपमा कार्यान्वयनमा ल्याइन् र महिनावारीप्रतिको धारणा परिवर्तन गर्न सहयोगी भूमिका खेलिन । जसले गर्दा मर्यादित महिनावारी कार्यविधि बन्यो र कार्यान्वयनको चरणमा गयो ।
महिला प्रमुख जिल्ला अधिकारी भन्दै हेर्न आउनेको घुँइचो
सहसचिव भएपछि उनलाई गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बनाउने प्रस्ताव गर्यो । राज्यका हरेक निकायमा समता र समानताअनुरुप महिलालाई नेतृत्वको अवसर प्रदान गर्ने संवैधानिक व्यवस्थाअनुसार मनमाया प्रमुख जिल्ला अधिकारी बनिन् ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमा बढुवा गरेर विभिन्न जिल्ला पठाउँदा महिला, दलित, जनजाती, लोपोन्मुख जाती लगायतका कुरामा पनि ध्यान दिने गर्छ ।
आमाले समेत सजाएको सपना उनले पूरा गर्न पाउँदा असाध्यै खुशी थिइन् । नवलपरासीको प्रमुख जिल्ला अधिकारी भएर जब उनी कार्यालय पुगिन् । त्यहाँ सेवाग्राहीको भन्दा बढी महिला प्रमुख जिल्ला अधिकारीलाई हेर्नका लागि घुइँचो लागेको थियो ।
हरेक जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी आउँदा स्वागत र सम्मान हुन्छ नै । विभिन्न संघ संस्थाका प्रतिनिधि पनि भेटघाटदेखि आफ्नो संस्था र कामबारे सरकारसँग मिलेर काम गर्ने चाहना राख्छन् नै ।
उनी प्रमुख जिल्ला अधिकारी भएर नवलपुर गएपछि केही व्यक्ति उनलाई हेर्न नै आए । प्रमुख जिल्ला अधिकारी डरलाग्दो, मोटो जुंगा हुन्छ भन्ने मानसिकता बोकेका सेवाग्राही त्यतीखेर अचम्ममा परे, जब उनीहरुले प्रमुख जिल्ला अधिकारीका रुपमा एक राष्ट्रसेवक साधारण मनमायालाई देखे ।
हेर्न आएका सेवाग्राही, प्रमुख जिल्ला अधिकारी त महिला, दुब्लो पातलो अनी साधारण पनि हुँदोरहेछ भन्ने बुझेर फर्किए । यो मनमायाको आमाको सपना मात्रै पूरा भएको थिएन, सेवाग्राहीको नजरमा एक महिलाले पनि नेतृत्व गरेर जिल्ला हाँक्न सक्छिन् भन्ने दरिलो उदाहरण थियो । जुन मनमायाको मनमा अहिले पनि त्यो क्षण एक फरक अनुभूतिका रुपमा सुसज्जित छ ।
अनुगमनमा प्रभावकारिता विकास खोज्ने मनमाया
प्रमुख जिल्ला अधिकारीको भुमिकमा अहिले उनले विकासमा सुरक्षा नीति लिएर काम गरिरहेकी छिन् । उनले विकास निर्माणमा अनुगमनलाई प्राथमिकता दिएपछि अहिले जिल्लामा विकास निर्माणका कार्यहरूले तीव्रता पाएका छन् ।
सवारीकै मात्र उदाहरण दिँदा उनले हरेक ठाउँमा राज्यको अनुगमन जिम्मेवारलाई नियमित र प्रभावकारी बनाएकी छन् । जसकारण मानिसहरु लापरबाही गर्न नसकून । लापरबाही गरेको खण्डमा तत्कालै सचेत गराउने, कारबाही गर्ने । त्यसले उनीहरु दुर्घटनाबाट मात्रै बँच्दैनन् । राज्यको राजश्व बढाउन पनि सहयोगी भूमिका खेल्छन् ।
यसरी हेर्दा नववलपारीमा एक वर्षमा मात्र ७१५ सवारी साधनलाई कारबाही गरिएको छ । वार्षिक १५ लाख राजश्व उठ्ने ठाउँमा करिब २ करोड बढी राजश्व संकलन भएको छ ।
अनि उनी प्रमुख जिल्ला अधिकारी भएको जिल्लामा कतिसम्म लुट र लापरबाही थियो भने विदेशी कम्पनी भन्दै होंसी सिमेन्टको गाडीमाथि लुट मच्चाइन्थ्यो ।
होंसीको हरेक गाडीबाट सिमेण्ट लिएर जाँदा चालकलाई कब्जामा लिएर १००० रुपैयाँ असुली गर्ने प्रचलन थियो । जुन कुरा मनमायाले थाहा पाएपछि त्यो लुक र आतंक मात्रै रोकिएन । त्यसरी पैसा असुल्ने कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही समेत गरिन् ।
हिंसा न्युनिकरणमा प्रहरीसँग विद्यार्थीको सहकार्य कार्यक्रम
पछिल्लो समय बढ्दो हिंसा आम मानिसका लागि टाउको दुखाईको विषय बनिरहेको छ । तर यो न्यूनिकरणका लागि प्रयास पनि भइरहेका छन् । भलै ती सबै प्रयास प्रभावकारी भएका छैनन । उनी यस्ता कार्यक्रमलाई न्युनिकरण गर्न नयाँ सोच ल्याउँछिन् ।
हिंसा न्युनिकरणका लागि प्रहरीलाई समेत सहज हुने गरी उनले विद्यार्थीसँग प्रहरी कार्यक्रम ल्याइन् । त्यसका लागि १५०० जना विद्यार्थीलाई आफैले हिंसा, अपराधका बारेमा सचेतना फैलाउन र खुलेर आवाज उठाउन तालिम दिइन् ।
घर समुदायमा कुनै घटना घट्यो भने प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न प्रोत्साहित गरिन । त्यसले बालबालिकालाई थप सामाजिक काम प्रति पनि चासो बढेर आयो । अनि हरेक घर, परिवार तथा समाजमा हिंसाबाट कसरी सुरक्षित हुने र समयमै प्रहरीलाई खबर गर्नेबारे सचेतना फैलाएर हिंसा न्युनिकरणमा एक कदम अगाडिको बारेमा सोच कार्यक्रम चलाइन् ।
जसले थोरै भएपनि हिजोआज यस्ता घटनामा प्रहरीलाई तत्कालै जानकारी दिनुपर्छ भन्ने भावना बढाएको छ । यसले गर्दा पनि मनमाया अरु प्रमुख जिल्ला अधिकारीभन्दा फरक र प्रतिभाशाली कर्मचारी हुन भन्ने देखाउँछ ।
(यो सामग्री अकाउन्टबिलिटी ल्याबले यस वर्षका उत्कृष्ट कर्मचारी इन्टिग्रिटी आइकन २०२१ सार्वजनिक गर्दा तयार पारेको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको प्रोफाइल हो । इन्टिग्रिटी आइकन २०२१ अन्तर्गत बाँकी चार जना उत्कृष्ट उत्कृष्ट कर्मचारीको प्रोफाइल पनि हामी क्रमशः प्रकाशित गर्नेछौँ - सम्पादक)