सुर्खेत । जताततै लकडाउन छ । जेठको पहिलो हप्तामा प्लस टुको परीक्षा दिएर बस्नुपर्ने विद्यार्थी घरमै थुनिन बाध्य छन । अरु विद्यार्थी घरमै थुनिएर आकुलब्याकुल भएपनि कृषि विषय पढेका विद्यार्थी भने खेतबारीमा रमाएका छन । उदाहरण हुन, सुर्खेत बड्डीचौरका गीताचन्द्र अधिकारी ।
उनी अहिले आइएसस्सी तेस्रो बर्षमा अध्ययनरत छन । कुनाथरी बड्डीचौरमा रहेको जनज्योती स्कुलमा पढ्ने उनी लकडाउनका कारण स्कुल जान सकेका छैनन् । तर स्कुल नखुले के भो त ? उनले आफ्नै खेत, करेसा र भैसीगोठलाई विद्यालय बनाईदिएका छन ।
लकडाउनमा पनि आफु मज्जाले घरकै काममा व्यस्त, खुशी र अभ्यस्त रहेको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन । फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै उनले कृषि कर्मको सम्पूर्ण विवरण खुलाएका छन ।
उनको कृषि कर्मबाट खुशी भएर विद्यालयका प्राचार्य नारायण सिग्देलले सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गर्दै यसलाई 'सम्पूर्ण अभिभावकको इच्छा, लकडाउनले नछेक्ने शिक्षा'को संज्ञा दिएका छन । कोरोनाको लकडाउनले गर्दा सारा विश्व घरमै थुनिन बाध्य भएका बेला पनि खेतबारीमा काम गर्ने कृषि शिक्षा स्कुलले दिन सकेको उनको भनाई छ ।
सामाजिक सञ्जाल फेसबुकमा उनले अगाडी लेखेका छन, 'देशका सबै विद्यार्थीहरुलाई केही समय काममा लगाउन सक्ने हो भने आत्मनिर्भर हुन सम्भव छ ।'
नेपालमा बार्षिक २५ अर्बको चामल मात्रै आयात हुने गरेको छ भने त्यत्तिकै मात्रामा भारतबाट तरकारी पनि किनेर ल्याइने गरेको छ ।