नयाँ खानेपानी योजना निर्माणपछि तयार भएका धारा - तस्बिर : राजन रावत, हुम्ला
सिमकोट : हुम्लाका चार वटा गाउँपालिकामा एक वर्षमा २१ वटा साना तथा ठुला खानेपानीका योजनाहरु सम्पन्न भएर सञ्चालनमा आएका छन् । स्थानीयको मागका आधारमा निर्माण भएका योजनाहरु सञ्चालनमा आएपछि शुद्ध खानेपानी आपूर्तिमा सहज भएको हो ।
सिमकोट गाउँपालिका–४ का छोप्साङ लामाले क्योही खानेपानी योजना निर्माण भएर सञ्चालनमा आउदा स्थानीय उपभोक्तालाई सहज भएको जानकारी दिए । स्थानीयले पुरानो योजनाबाट निर्माण भएका धारामा पानी आउने छोडेको बेला नयाँ योजनाबाट बनेका घरघरका धाराले शुद्ध खानेपानीको उपभोग गर्न पाएका छन् ।
उक्त गाउँभरी भएका ७७ घुरधुरीमै धारा निर्माण भएकोले यसबाट सरसफाइमा समेत सहजता आएको छ । खानेपानी योजनामा लगानी गरेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले एक वर्षमा नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकामा २१ वटा नयाँ खानेपानीका योजना निर्माण भएर सञ्चालनमा आएको बताए ।
यसबाट ३८५ ब्यक्तिगत धारा र १६० वटा सार्वजनिक धारा निर्माण भएर सञ्चालनमा आएका छन् । योजना अन्तर्गत नै ४६ वटा इन्टेक र ४८ वटा पानी संकलन ट्याङ्की निर्माण भएका छन् । यसबाट चार वटै गाउँपालिकाका आठ हजार ७८४ जनसंख्या लाभान्वित भएको परियोजनाले जनाएको छ ।
स्थानीय स्तरमा योजना निर्माणमा प्राविधिक सहयोग र सहजिकरण गरिरहेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोबिन्द शाहीले जसमा नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमीमा पनि खानेपानीको योजना निर्माण भएर सञ्चालनमा आएको बताए ।
यी सबै योजनाबाट ६८ दशमलव ६५ किलोमिटर मुख्य पाइपलाइन र एक सय दशमलव पच्चीस किलोमिटर वितरण पाइप लाइन निर्माण गरिएको छ । यसका लागि परियोजना, गाउँपालिका र स्थानीय उपभोक्ताको जनश्रमदान गरी सात करोड २८ लाख ३६ हजार ६६६ रुपियाँ लागत लागेको परियोजनाले जनाएको छ ।