कर्णाली : आइतबार स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आयोजनामा सदरमुकाम खलंगामा सातै पालिकाको स्वास्थ्य समिक्षा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा सेवा प्रवाहका हिसाबले बारेकोट गाउँपालिका पहिलो भयो ।
बारेकोटले ६१ दशमलब ९२ प्रतिशत ल्याएर प्रथम भएको हो । यस्तै सदरमुकाम खलंगामा रहेको भेरी नगरपालिकाले ५७ दशमलब ६० प्रतिशत ल्याएर दोस्रो, नलगाड नगरपालिकाले ५४ दशमलब ६४ प्रतिशत ल्याएर तेस्रो भयो । क्रमशः कुशे गाउँपालिकाको ५४ दशमलब ६१ प्रतिशत, छेडागाड नगरपालिकाको ४९ दशमलब ६०, शिवालय गाउँपालिकाको ४८ दशमलब २६ प्रतिशत, जुनीचाँदे गाउँपालिकाको ४२ दशमलब १७ प्रतिशत ल्याएका छन् । यो वर्षसँगै पहिलो वर्ष पनि बारेकोट प्रथम भएको थियो । यो वर्ष पनि प्रथम स्थान बारेकोटकै हातमा गएको छ ।
बारेकोट स्वास्थ्य सह–संयोजक डम्बर विक्रम कार्की भने, ‘दुई वर्ष लगातार प्रथम भयौं । यसमा गाउँपालिका, स्वास्थ्यकर्मी, स्वमंसेविका, आमा समूह लगायत स्वास्थ्यका क्षेत्रमा काम गरिरहनु भएका निकायको पूर्ण सहयोग भयो । दुर्गममा सेवा प्रवाह गर्न कठिन छ । यस्ता परिस्थितिलाई पार गरेर हामीले बारेकोटमा सेवा प्रवाह गरिरहेका छौं । आगामी दिन पनि सबैको साथ सहयोगबाट बारेकोटको स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयत्न गर्ने छौं ।’

‘हामीले सुरक्षित र संस्थागत तरिकाबाट सुत्केरीदेखि अन्य सेवा प्रवाह छौं । बारेकोटमा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या दिनौं बढिरहेको छ । गर्भका कारण ज्यान गुमाउनु परेको छैन । स्वास्थ्य संस्थामा कुनै पनि औषधि अभाव भएको छैन । सबै स्वास्थ्यमा औषधि पुगेको छ । स्थानीयले स्वास्थ्य संस्थाबाटै गुणस्तरीय सेवा लिन पाएका छन्’ बारेकोट स्वास्थ्य संयोजक विरराज सिंहले भने, ‘हाम्रो सेवा प्रवाहमा गाउँपालिकाको प्रत्यक्ष निगरानी छ । यो वर्ष मात्रै होइन लगातार दुई वर्ष हामी पहिलो भएका छौं । अझैं सेवा प्रवाहलाई प्रभावकारी बनाउने हाम्रो प्रयत्न रहने छ । यसबीचमा साथ सहयोग गर्ने बारेकोट गाउँपालिका, सम्पुर्ण स्वास्थ्यकर्मीको साथ सहयोग पाएका छौं । अझैं पाउने र सेवामा प्रभावकारिता देखाउने प्रयत्न जारी छ ।’
‘औषधि अभाव, स्वास्थ्यकर्मी अभाव’ अभावै अभावका समाचार बनिरहे जाजरकोटमा । अझैं भन्नु पर्दा बारेकोटको स्वास्थ्य अवस्था निकै कमजोर थियो । हाम्रो स्वास्थ्यमा लगानी र स्वास्थ्यकर्मीको खटनपटनले आज जाजरकोटकै पहिलो भएको छ’ गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह भने, ‘यसलाई पहिलो बनाउने बारेकोटका स्वास्थ्यकर्मी साथीहरुलाई धन्यवाद । अब बारेकोटवासीले औषधि नपाएर मर्नुपर्ने छैन । यस्तो अवस्थाबाट बारेकोटलाई मुक्ति दिलाउने छौं । त्यसका लागि गाउँपालिका सधैं साथ सहयोगमा रहने छ । यो हाम्रो लक्ष्य समेत हो ।’
दुर्गम र विकट जिल्लाहरुको लिस्ट पल्टाउने हो भने, जाजरकोट पनि छुट्दैन । सदरमुकाम खलंगादेखि पालिकाका केन्द्रसम्म मोटरबाटो पुगेपनि गाउँ बस्तीमा पुग्न बाँकी नै छ । विकास र पूर्वाधारका हिसाबले बारेकोटले पनि गति लिँदै गएको छ । सबै वडामा सडक पुगेपनि गाउँ बस्तीमा पुग्न बाँकी छ । जाजरकोटमा अन्य पालिकाको हिसाबमा बारेकोट कयौं गुणा अगाडि बढिरहेको छ ।
