सिमकोट : सडक यातायात नजोडिकएको हिमाली जिल्ला हुम्लामा दसैं मनाउन घर आएका यात्रु मात्र नभइ बिरामीले पनि टिकटको सास्ती खेप्नु परेको छ । दसैं अवधिभर नीजि विमान कम्पनीहरुले न्यून उडान भर्नु रनेपाल एयरलाइन्सले उडान नै नभर्दा यात्रुले मर्का खेप्नु परेको हो ।
विमानस्थलमा पुर्याएका खार्पुनाथ गाउँपालिका–१ का बिरामी विरजित शाहीलाई हवाई टिकट नपाएर फिर्ता गर्नु परेको छ । सुर्खेत लैजाने तयारी गरिरहेका बेला तारा एयरमा टिकट नपाएपछि विरामीलाई फिर्ता गर्नु परेको आफन्तको गुनासो रहेको छ । विरामीलाई स्ट्रेचरमा बोकेर विमानस्थल लगिएको थियो । तर टिकट नपाउने भएपछि उनलाई आफन्तले डेरामा फिर्ता गर्नु परेको हो ।
दश दिनदेखि सिमकोटमा टिकट नपाएका यात्रु जयबहादुर शाहीले यात्रा नै स्थगित गर्नु परेको बताए । निजी एयरलाइन्सका स्टेशनमा दैनिक धाउदा पनि टिकट नपाएपछि काठमाडौं पुग्ने योजना नै स्थगित गरेको उनले जानकारी दिए । भनसुन र पहुँचका आधारमा टिकट वितरण हुन थालेपछि सर्वसाधारणले टिकट नपाउने समस्या ठुलो भएको बताउँदै उनले एयरलाइन्सले नियमित र बढी उडान नभर्दा समस्या भोग्नु परेको बताए ।
खार्पुनाथ गाउँपालिका–५ का वडा अध्यक्ष भिमराज शाहीले टिकट नपाएर यात्रु मात्र नभइ बिरामी समेत विमानस्थलबाट फिर्ता हुनु पर्ने अवस्था आएको बताए । उनले अन्य बेला दैनिक पन्ध्रसम्म उडान भर्ने नीजि एयरलाइन्सहरुले यतिबेला एक मात्र उडान भरेको कारण समस्या भएको जनाए ।
हुम्लाका लागि नीजि स्तरका तारा, सीता र समिट एयरले उडान भर्दै आएको भएपनि तारा एयरले एक मात्र उडान भर्ने, समिट एयरले नियमित उडान नभर्ने र सीता एयरले उडान भर्नै छोडेपछि यात्रु समस्या परेका हुन ।
सिमकोटबाट नेपालगञ्ज र सुर्खेतका लागि चार सय भनदा बढी यात्रुहरु मर्कामा पर्दै आएका छन् । यो समस्या नेपालगञ्जबाट हुम्ला आउने यात्रुको पनि उस्तै रहेको छ ।
नेपाल एयरलाइन्सलाई उडान भर्न माग
यात्रुलाई टिकट समस्या हुन थालेपछि हुम्लाबासीले नेपाल एयरलाइन्ससँग उडाको व्यवस्था गर्न माग गरेका छन् । सधैं दसैं तिहारको बेला उडान भर्ने उक्त एयरलाइन्सले यस पटक उडान नभरेपछि समस्या भएको भन्दै जिल्लावासीले माग गरेका हुन ।
यसरी उडानको माग गर्नेमा जनप्रतिनिधि, स्थानीय प्रशासन, पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, निर्माण व्यवसायी संघ, नागरिक समाजले संयुक्त रुपमा माग गरेका हुन् ।
गएको बैशाख यता नेपाल एयरलाइन्सले हुम्लाका लागि उडान भरेको छैन । जहाज नभएकै कारण नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न नसकिएको नेपाल एयरलाइन्सले जनाएको छ ।