काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ । सोमबार रौतहट र बारामा ९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन सय ४ पुगेको छ । यसअघि आइतबार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको थियो ।
रौतहटको इशनाथ र माधवनारायण नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बारामा भेटिएका संक्रमित पत्रकार हुन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुष पत्रकारमा पनि संक्रमण पुष्टि भएको छ ।
दुई जनाको मृत्यु, ३६ जनालाई निको !
लकडाउनको ५७ औँ दिनसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । ३६ जनाले भने कोरोना भाइरस जितेर घर फर्किएका छन । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षीय महिला र बाँके नरैनापुरका २५ बर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनीहरुमा तत्कालै लक्षण देखिएर तत्कालै ज्यान गएपछि त्रास पनि बढेको छ । यसअघि लगातार ३६ जनासम्म मानिस उपचारपछि निको भएर घर फर्किदा अवस्था सामान्य रहने अनुमान गरिएको थियो । तर दुई जनाको अकल्पीय ढंगले ज्यान गएपछि भने नेपालीमा पनि त्रास थपिएको छ ।
सरकारले कोरोना संक्रमण र जोखिमको अवस्थालाई हेरेर जेठ २० गतेसम्म लकडाउन बढाएको छ । लकडाउन जारी रहदा बाहिर हिड्न र गल्लीमा हिड्न समेत कडाई गरिएको छ । भारतबाट भित्रिएकाहरुमा धमाधम लक्षण देखिएपछि काठमाडौँ उपत्यकामा पनि भयावह अवस्था सिर्जना भएको छ ।
नेपालमा तीन सय संक्रमित पुग्दा विश्वमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघेको छ । तीमध्ये ३ लाख १६ हजारको ज्यान गएको छ भने १८ लाख उपचारपछि निको भएर घर फर्किएका छन ।