सिमकोट : चीनको पुराङ काउण्टीको ताक्लाकोटको स्थानीय प्रशासनले हुम्ला जिल्लाका लागि खाद्यान्न सहयोग गरेको छ । सिमा जोडिएको क्षेत्रका लागि सहयोग गर्ने कार्यक्रम अन्तर्गत उक्त खाद्यान्न सहयोग प्राप्त भएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खाद्यान्नमा मैदा र चामल सहयोग प्राप्त भएको बताए । कोरोनाले दुई देशको सीमाना हिल्सा नाका बन्द रहेका बेला चीनबाट खाद्यान्न सहयोग प्राप्त भएको हो ।
खाद्यान्नमा पच्चीस केजीका पाँच हजार १८० बोरा मैदा र आठ सय बोरा चामल रहेको छ । चीनबाट सहयोग प्राप्त खाद्यान्न बुझ्न हिल्सामा सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई गएका थिए । सहायक प्रजिअ राईले प्राप्त खाद्यान्न जिल्लामा समन्वय भए अनुसार नाम्खा गाउँपालिकाका स्थानीय, गुम्वा र सीमा सुरक्षा चौकी हिल्साका लागि वितरण गरिएको जानकारी दिए ।
राईका अनुसार अनुदान प्राप्त खाद्यन्न सबै भन्दा बढी लिमीका लागि एक हजार ८४५ बोरा मैदा लिमीका लागि वितरण गरिएको छ भने अन्य खाद्यान्न नाम्खा गाउँपालिकाकै हेक्पा, च्यादुक , केर्मी, खगालगाउँ, खोल्सी, याल्बाङ, याङ्गार, चाला, मुचु, तुम्कोट, यारी, हिल्साका स्थानीयलाई जनसंख्याका आधारमा वितरण गरिएको छ ।
उक्त सहयोग खाद्यान्न हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी हिल्सा, नेपाल प्रहरी, याल्वाङ गुम्वालाई पनि वितरण गरिएको हो । खाद्यान्न गाउँपालिकाका छ वटै वडाका जनप्रतिनिधिहरुको उपस्थितीमा वितरण गरिएको हो ।
नाम्खा गाउँपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्र भएपनि हालसम्म ढुवानी हुन नसकेको कारण चीनको सहयोगमा प्राप्त भएको खाद्यान्न त्यसै वितरण गरिएको हो ।
प्रजिअ शर्माले लिमीमा खाद्यान्न समस्या देखिन लागेका बेला प्राप्त सहयोगले राहत मिलेको बताए । यसैबीच कोरोनाविरुद्धका उपकरण र स्वास्थ्य सामग्री पनि सहयोग प्राप्त भएका छन् । उक्त सामग्री जिल्ला स्वास्थ्य सेवा कार्यालयमा ल्याउने तयारी गरिएको छ । खाद्यान्न र स्वास्थ्य सामग्री गरेर दुई करोड मुल्य भन्दा बढी रहेका छन् ।