फाइल फोटो
सिमकोट : संसद विकास तथा प्रविधि समितिको टोली हुम्ला आउने भएको छ । जिल्लामा कर्णाली करिडोरको निर्माण अवस्थाका बारेमा अनुगमन गर्न समितिको टोली हेलिकोप्टरबाट हुम्ला आउन लागेको हो ।
विहिबार बिहान नौ बजे टोली सिमकोट पुग्ने कार्यक्रम रहेको छ । टोली हुम्ला पुगे लगत्तै जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधि, राजनीनितक दल, स्थानीय प्रशासन र नागरिक समाजसँग पनि छलफल कार्यक्रम सञ्चालन गर्नेछ ।
हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको बिमााली जिल्ला हुम्लाको सडक निर्माणको अवस्था बुझ्न संसद्को विकास तथा प्रविधि समितिको टोली हुम्ला आउने भएको छ । समितिका सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा विहिबार काठमाडौंबाट हेलिकोप्टरबाट टोली हुम्ला आउन लागेको हो ।
कर्णाली करिडोरको हुम्ला खण्डमा निर्माण कार्य भइरहेको र त्यसको विकास निर्माणको गतिको अवस्थाको अनुगमन गर्न टोली हुम्ला आउन लागेको समितिका सदस्य एवं सासद रंगमति शाहीले जानकारी दिइन् ।
करिडोरको हुम्ला खण्डमा नेपाली सेना र हिल्सा सिमकोट सडक आयोजनाले निर्माण गरिरहेको छ । उनले काठमाडौंबाट सभापतिसहित हुम्ला आउन लागेको टोलीले स्थलगत रुपमा सडक निर्माणको अवस्थाको बारेमा जानकारी लिने र सुस्त रुपमा भइरहेको कामलाई गति दिन पनि निर्देशन दिने तयारी भइरहेको बताइन् ।
सडक निर्माणको कामले गति लिन नसकेको अबस्थामा समितिले चाँसो देखाएको उनले बताइन् । काम ढिलो भइरहेकोले यसलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने सुझाव समितिले आफ्नो अनुगमनपछि सरकारलाई निर्देशन दिने उनले बताइन् । सिमकोट पुगेको टोली हिल्सा र लिमी लाप्चा क्षेत्रमा पनि सडक निर्माणको अवस्था बुझन जानेछ ।
त्यसपछि हेलिकोप्टरबाटै टोली हुम्ला खण्डको बाँदरठेलामा हेलिकोप्टरबाट उत्रेर सलीसल्लासम्म सडकको अवस्था बुझ्न पैदल मार्गबाट पुग्नेछ । त्यसैगरि टोली चंखेली गाउँपालिकाको लोती खोलामा निर्माण हुन लागेको पुलको बारेमा पनि बुझ्नेछ ।
त्यसैगरि हुम्ला खण्डमा करिडोरमा पर्ने साना ठुला १८ वटा पक्की पुल निर्माणको कार्य प्रगति बारेपनि जानकारी लिने उनले बताइन् । हुम्ला खण्डको हेलिकोप्टरबाट अनुगमनपछि टोली मुगु पनि पुग्ने कार्यक्रम रहेको छ । टोलीमा सभापति, सांसद शाही, अन्य समितिका सदस्य, सचिवालयका सदस्य र नेपाली सेनाका अधिकारीको सहभागिता रहने भएको छ ।