सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले सुर्खेतका स्थानीय तहलाई नगदसहित स्वास्थ्य सामग्री प्रदान गरेका छन । उनले यहाँका नौवटै स्थानीय तहमा पुगेर दुई लाख २५ हजार नगदसहित स्वास्थ्य सामग्री वितरण गरेका हुन ।
तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा मात्रै कोरोना भाइरसविरुद्धको महामारीमा जीत हासिल गर्न सकिने भन्दै पूर्वमन्त्री थानीले स्वास्थ्य तथा राहत सामग्री वितरणमा सबैले एकद्वार नीति अवलम्बन गर्नुपर्ने सुझाव दिए।
“स्वास्थ्य सामग्रीदेखि खाद्यान्न राहत वितरणमा मनोमानी र पक्षपातका दृश्य देखिएका छन्, स्थानीय तहले एकद्वार नीतिको पूर्ण पालना गराउनुपर्छ”, उनले भने, “जहाँ बढी आवश्यक छ, त्यतै साधन–स्रोतको परिचालन गर्नुपर्छ ।”
उनले प्रत्येक स्थानीय तहलाई रु २५ हजार नगदसहित मास्क, सेनिटाइजर, पञ्जा, साबुनलगायतका स्वास्थ्य सामग्री प्रदान गरेका थिए । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई नगद तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा काँग्रेस जिल्ला सभापति कमलराज रेग्मी, निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सहसभापति नारायण कोइराला, नगरका जनप्रतिनिधिको सहभागिता रहेको थियो । नेता थानीले वीरेन्द्रनगरका कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारलाई सहयोग गर्ने अभियानअन्तर्गत थानीले पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुन, भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्द, लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनार, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्द, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई कार्यालयमै पुगी नगद तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।