खलंगा : जुम्लामा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुन लागेको छ । कात्तिक २५ गतेदेखि जुम्लामा महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो ।
जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा खुला महिला, पुरुष भलिबल प्रतियोगिता गुठीचौर गाउँपालिकाको त्रिभुवन मावि झारज्वालामा सञ्चालन हुने भएको छ ।
जुम्लाका प्रत्येक स्थानीयतहका १/१ महिला र एक पुरुष गरेर दुईवटा टिम प्रतियोगितामा सहभागिता हुन पाउने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले बताइन् ।
बिहिबार साँझ पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आचार्यले बताइन् । जुम्लाका ८ पालिकाका महिला र पुरुष टिम गरेर १६ टिम प्रतियोगितामा सहभागि हुने बताइन् ।
उक्त प्रतियोगितामा सहभागिता जनाउने टिमले कात्तिक २४ गतेसम्म टिम दर्ता गर्नु पर्नेछ । यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी कर्णाली प्रदेश मुख्यमन्त्री कपका लागि जिल्ला खेलकुद विकास समितिकाले पठाउने भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेले बताए ।
उनले भने, ‘प्रतियोगिता आयोजनाका करिब ९ लाख खर्च हुने अनुमान गरिएको छ । हामीसँग बजेट छैन् । प्रदेशले डेढ लाखसम्म पठाउने आश्वासन दिएको छ । बजेट आएको छैन् । आठै स्थानीय तहसँग समन्वय गरेर प्रतियोगिता सञ्चालन गर्न लागेका छौं ।’
प्रतियोगितामा प्रथम हुने महिला पुरुष टिमलाई पुरस्कार राशी ५० हजार, दोस्रो हुनेलाई ३५ हजारसहित मेडलको व्यवस्था गर्ने सदस्य सचिव संगिता आचार्यले जानकारी दिइन् । प्रतियोगितामा प्रथम आउने महिला पुरुष टिमसँग अन्य टिमका पनि उत्कृष्ट खेलाडीलाई छनौट गरिने भएको गरिने भएको छ ।
छनौट भएका खेलाडीलाई करिब एक महिनासम्म आन्तरिक प्रशिक्षण गराएर प्रदेश स्तरीय मुख्यमन्त्री कपमा सहभागी गराइने बताइएको छ । प्रतियोगिताको सह–आयोजक गुठिचौर गाउँपालिका रहने भएको छ । गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले भलिबल प्रतियोगिताको सह–आयोजक आफ्नो पालिका हुने प्रतिवद्धता जनाए ।