काठमाडौँ, ५ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज आज चीन जाँदैछ। नेपाली सेनाले खरिद गरेको उक्त सामग्री लिन साँझ ७ बजे वाइडबडी चीनको ग्वान्जाओ जाने त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।
नेपाली सेनाका अनुसार वाइड बडी जहाजले १८ टनसम्म स्वास्थ्य सामग्री ल्याउने छ। जहाजले पिपिई,पिसिआर किट्स,एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ल्याउनेछ।
यसअघि पटकपटक जाने तयारी गरेर पनि वाइडबडी जहाज जान सकेको थिएन।
चीनको ग्वान्जाओ विमास्थलमा भएको व्यस्तताले गर्दा उडानको लागि ढिलो भएको सेनाले जनाएको छ।
सेनाले यसअघि नै दुइटा वाइडबडीमार्फत् र अरू स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने तयारी गरिसकेको थियो।
जहाजबाट ल्याउन ढिलो भएको कारणले सेनाले स्थलमार्गबाट १० ट्रक स्वास्थ्य सामग्री ल्याइसकेको छ।
२ सय ६५ क्युविक मिटरका १० वटा कन्टेनर शनिबार साँझ साढे ६ बजे काठमाडौं आइपुगेका हुन्।
ती कन्टेनरमा झण्डै ८ टन सामग्री भएको सेनाले जनाएको छ।
सेनाका अनुसार ९ सय ५२ क्युविक मिटरका कन्टेनर खासा आइसकेका छन् भने बाँकी स्वास्थ्य सामग्री पनि ल्याउने काम भइरहेको छ।
सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्रीका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरिसकेको छ।
स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ।
चैत १६ गतेको मन्त्रिपरिषदको बंठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो।