सुर्खेत । विश्वव्यापी महामारी कोरोना भाइरसले आक्रान्त पारेका बेला कर्णाली प्रदेश अहिलेसम्म सुरक्षित देखिन्छ । नेपालमा गएको माघमै भित्रिसकेको कोरोनाबाट तीन सय ४ जना संक्रमित हुँदा कर्णालीमा भने शुन्य संख्या छ । यो कर्णालीबासीका लागि खुशीको कुरा हो । तर साच्चिकै कर्णाली सुरक्षित राख्नका लागि भने चिन्ताको विषय पनि हो ।
कोरोनाले हालसालै दुई जनाको ज्यान लिइसकेको छ । सिन्धुपाल्चोककी २९ बर्षीया महिलाको कोरोनाले ज्यान गएको भोलिपल्टै कर्णालीसँग जोडिएको जिल्ला बाँकेमा २५ बर्षीय युवकको मृत्यु भयो । शनिबार र आइतबार नेपालमा पहिलो पटक दुई जनाको मृत्यु हुँदा कर्णालीमा भने अहिलेसम्म संक्रमित नै नदेखिनु सुरक्षित ठानिनु स्वभाविक छ ।
तर कोरोना रोकथाम र नियन्त्रणका लागि यो ठूलो दुर्घटनाको विषय पनि हुन सक्छ । नेपालमा कोरोना छैन भनेर आनन्द मानिएका बेला चैतबाटै संक्रमित भित्रिएको प्रमाण चैत १० गते मात्रै देखिएन, ११ गतेदेखि नेपाल लकडाउन गर्ने अवस्था सिर्जना भयो । जुन आजसम्म जारी छ ।
फ्रान्सबाट कतार हुँदै आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएर सार्वजनिक गरेको भोलिपल्टै सरकारले नेपाल लकडाउनको घोषणा गरेको थियो । जबकी उनी चैत ४ गते नेपाल आएकी थिइन । भेनेजुयलाकी साथीमार्फत उनले आफूलाई कोरोना संक्रमणको आशंका गर्दा नेपाल लकडाउन हुने अवस्था सिर्जना भयो ।
त्यसयता लगातार संक्रमण देखिरहेका छन । पछिल्लो समय दैनिक संक्रमितको संख्या आइरहेको छ । जुन विदेशबाट भन्दा छिमेकी देश भारतबाट भित्रिनेहरुमा संक्रमण बढी देखिएको छ । अरु जिल्लामा दैनिक संक्रमित बढिरहेका बेला भारतसँग पाइला पाइलामा सम्बन्ध गासिएको कर्णालीमा कोरोना संक्रमित छैनन् भन्नु अब हास्यास्पद हुन्छ ।
छिमेकी जिल्ला बाँकेको नेपालगञ्ज कोरोनाको हटस्पट बन्दा कर्णाली कसरी सुरक्षित रहन सक्छ ? जबकी भारतबाट भित्रिएकामध्ये नेपालगञ्जबाट कर्णालमिा धेरै भित्रिने गरेका छन । यस्तो अवस्थामा कर्णालीमा कोरोना छैन भन्नु गैर जिम्मेवारपन हो । बरु कोरोना परीक्षणको दायरा फराकिलो बनाउनु आजको आवश्यकता बनेको छ ।
पछिल्ला रिर्पोट र वास्तविकता
केही समयअघि रुकुम पश्चिमका दुई जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । सुर्खेतमा गरिएको परीक्षणमा रिर्पोट पोजेटिभ आएपछि नमुना धनगढी पठाइयो । जतिबेला नेपालगञ्जमा सुविधासम्पन्न प्रयोगशाला बनिसकेको थिएन । धनगढीमा पनि पोजेटिभ रिर्पोट आएपछि उनीहरुलाई कोरोना संक्रमण पुष्टि जस्तै भयो ।
तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रिर्पोट नेगेटिभ आएको भनियो । त्यो घटना त्यत्तिकै ढिसमिस भयो । उनीहरु भारतबाट आएका थिए । सोमबार दैलेखमा एक जनाको रिर्पोट पोजेटिभ आएको भनिएको छ । थप परीक्षणका लागि नमुना नेपालगञ्ज पठाइएको छ । सम्भवतः यसबाट कर्णालीमा कोरोना प्रवेश गरेको पुष्टि हुनेछ ।
यी बाहेक थुप्रै परीक्षणहरु सुर्खेतमै सिमित पारिएको छ । आरडिटी पोजेटिभ देखिएकाहरुको थप परीक्षण गरिएको छैन । कोरोना आशंका गरिएकाहरुको तेस्रो चौथो परीक्षण पनि गरिएको छैन । यसले गर्दा कर्णालीमा कोरोना नभएको होइन कि, परीक्षण पर्याप्त नगरिएको पुष्टि हुन्छ ।
यसअघि बाँके, बर्दिया, कपिलवस्तु, पर्सामा क्वारेन्टाइनमा राखेर घर पठाइएकालाई कोरोना देखिएपछि फेरि अस्पताल ल्याइएको छ । शुरुमा नेगेटिभ देखिएपनि पछि पोजेटिभ देखिएको धेरै तथ्य र तथ्यांक छन । तर कर्णाली प्रदेश सरकार एकपटक परीक्षण गरेर कोरोना छैन भन्दै हाइसञ्चो गरेर बसेको देखिन्छ । जुन गरीब र अभावको भूमरीमा रहेका कर्णालीबासीका लागि चिन्ताको विषय हो ।
कोरोनाले निम्त्याउन सक्ने संकट
कर्णाली यसअघिदेखि नै रोग र भोकले गाँिजएको प्रदेश हो । गरीबी, अभाव, समस्या र चुनौतिका ठूल्ठला पहाड कर्णालीमा छन । जुन पन्छाउन अहिले पनि सकिएको छैन । अहिले पनि कर्णालीका धेरै नागरिक दुई चार पैसाको जोहो गर्न भारतको कालापहाड जान बाध्य छन । बर्षमा दुई खेती लगाएर दुई चार महिना कालापहाड गएर पहाड पल्टाउने कहानी कर्णालीमा लेखेर र पढेर साध्य छैन ।
अभाव र गरीबीकै कारण कर्णालीमा सबैको रोगप्रतिरोधात्मक क्षमता बलियो छ भन्न सकिन्न । यसअघि झाडापखालाकै कारण कर्णालीका धेरैले ज्यान गुमाउनुपरेको तथ्य सबैका अगाडी छर्लंग छ । औषधि भएपनि झाडापखाला र ज्वरोका कारण कर्णालीका मानिसहरुले ज्यान गुमाउनुपर्ने बाध्यता ज्युका त्युँ छ ।
यस्तो अवस्थामा युरोप र अमेरिकालाई समेत तहसनहस पारेको कोरोनाले कर्णालीलाई बाँकी राख्न सक्छ भन्नु मुर्खता हो । संघीय सरकारको लापरबाहीका कारण दुई जनाको अकालमै ज्यान गएको आलोचना भइरहेकै छ । यस्तो अवस्थामा कर्णाली प्रदेश सरकारले समयमै गर्नुपर्ने काममा ढिलासुस्ती गर्नु हुदैन ।
अझै पनि समय भएको बेला कोरोना छैन भन्दै सुस्ताउने हो भने यसले भोलि सिंगो कर्णाली फेरि ठूलो महामारीबाट गुज्रिन सक्छ । अरु प्रदेशमा जस्तो सुविधासम्पन्न अस्पताल र भौगौलिक सहजता कर्णालीमा छैन । त्यसमाथि एकपछि अर्को गरी आँधीको गतिमा फैलिने कोरोना रोक्ने सरकारको क्षमता नहुन सक्छ ।
त्यसैले अहिले नै परीक्षणको दायरा फराकिलो बनाएर सजगता अपनाउनु जरुरी छ । कर्णाली प्रदेश सरकार र पालिका सरकारले पनि चनाखो भएर परीक्षणको दायरा बढाउन अतिआवश्यक छ ।
अब के गर्ने ?
कर्णालीलाई अहिले पनि कोरोनाबाट सुरक्षित राख्ने थुप्रै उपाय छन । कोरोना परीक्षण गर्दा पोजेटिभ नआएको भन्दै हाइसञ्चो गरेर बस्नेभन्दा परीक्षणको दायरा दैनिक बढाउन जरुरी छ । क्वारेन्टाइनमा बसेर घर पठाइएकोहरुलाई पनि पुन परीक्षण गराउन आवश्यक छ ।
लकडाउनलाई थप कडाई गर्दै भारतबाट आएकाहरुको दोहोर्याएर परीक्षण गर्न आवश्यक छ । बाँके नेपालगञ्जसँगको सिमा वारपार गर्नेहरुलाई कडा निगरानी र परीक्षण गर्नु अनिवार्य छ । सबैभन्दा धेरै भारबाट लुकिछिपी भित्रिएका तर गाउँमै लुकेर बसेकाहरुको आरडिटी होइन, अब पिसिआर परीक्षण गर्नुपर्छ ।
यसअघि आरडिटीमा नेगेटिभ देखिएकाको पछि पोजेटिभ रिर्पोट आएको छ । जसले कोरोना फैलाउन ठूलो भूमिका खेल्छ । यसर्थ कोरोनामुक्त कर्णाली भन्दा सबै ठाउँमा स्वास्थ्यकर्मी पठाएर पिसिआर परीक्षण गर्न सकेको खण्डमा मात्रै सरकारको दायित्व पूरा हुन्छ ।