सिमकोट : वर्षमो एक पटक कर्णाली करिडोरको अनुगमनका नाममा हुम्लामा आउने संसदको विकास तथा प्रविधि समितिले एक पटक पूनः सिमकोटलाई चाँडै राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि सरकारलाई निर्देशन दिने जनाएको छ ।
जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुले संसदको विकास तथा प्रविधि समितिको टोलीसँग सदरमुकाम सिमकोटलाई चाँडो भन्दा चाँडो राष्ट्रिय सडक सञ्जालसँग जोड्न माग गरेपछि समितिले सो बताएको हो ।
समितिका सभापति कल्याणी गुरुङ खड्का सहितको टोलीसँग जिल्लाका समस्याका बारेमा छलफल गर्ने क्रममा सो माग राखिएको हो । छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जनप्रतिनिधि, राजनीति दल र नागरिक समाजले एकस्वरमा हाल निर्माणाधीन कर्णाली करिडोरको हुम्ला खण्डको सडकलाई चाँडो सम्पन्न गरेर सदरमुकाम सिमकोटसम्म सडक पुर्याउन माग राखिएको जानकारी दिए ।
करिडोर अन्तर्गत कर्णाली नदीमा पर्ने साना ठुला पुलको निर्माण कार्य पनि चाँडो सम्पन्न गर्ने गरी व्यवस्था गर्न माग गरिएको छ । सडक निर्माणका लागि आवश्यक विस्फोट पदार्थ, खाद्यान्न समस्या, हालै वर्षाले जिल्लामा ठुलो क्षति पुर्याएकोले त्यसको राहतको व्यवस्था, केही बस्तीका घरमा जोखिममा रहेकोले पुनःस्थापनाको व्यवस्था गर्ने समितिले प्रतिवद्धता गरेको छ ।
हुम्लावासीको माग सुनिसकेपछि सभापति गुरुङले कर्णाली करिडोरको हुम्ला खण्डको सडक निर्माण कार्य समितिको प्राथमिकतामा परेको बताइन् । समितिकै पहलमा करिडोरको हुम्ला खण्डको असजिलो भाग नेपाली सेनालाई निर्माण कार्य गर्न दिन सरकार तयार भइसकेकोले अब पनि सडक निर्माण कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण र र निर्देशन दिने आश्वासन दिएकी थिइन् ।
यसअघि हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले करिडोरको हालसम्मको प्रगतिका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराएका थिए ।
हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको सिमकोटको निर्माण अवस्था बुझ्न संसदीय समिति हुम्ला पुगेको थियो । सडक निर्माणको कामले गति लिन नसकेको अवस्थामा समितिले चाँसो देखाएको हो ।
समितिका सदस्य एवं सांसद रंगमति शाहीले काम ढिलो भइरहेकोले यसलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने सुझाव समितिले आफ्नो अनुगमनपछि सरकारलाई निर्देशन दिने बताइन् ।
सिमकोट पुगेको टोली हिल्सा क्षेत्रमा पनि सडक निर्माणको अवस्था बुझ्न हेलिकोप्टरबाट पुगेको थियो । त्यसपछि हेलिकोप्टरबाटै टोली हुम्ला खण्डको बाँदरठेलामा हेलिकोप्टरबाट उत्रेर सलीसल्लासम्म सडकको अवस्था बुझ्न पैदल मार्गबाट पुगेको थियो ।
त्यसैगरी टोली चंखेली गाउँपालिकाको लोती खोलामा निर्माण हुन लागेको पुलको बारेमा पनि बुझेको छ । हुम्ला खण्डको हेलिकोप्टरबाट अनुगमनपछि टोली मुगु पनि पुग्ने कार्यक्रम रहेको छ ।
टोलीमा सभापति गुरुङ, सांसद शाही, यज्ञराज सुनुवार लगायत दश जना सांसद, अन्य समितिका सदस्य, सचिवालयका सदस्य र नेपाली सेनाका अधिकारीको सहभागिता रहेको छ ।
टोली हुम्ला पुगे लगत्तै जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधि, राजनीनितक दल, स्थानीय प्रशासन र नागरिक समाजसँग छलफल कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लावासीको तर्फबाट माग पत्र एमाले अध्यक्ष दल बहादुर रावलले पेस गरेका थिए । सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न पुरानै आग्रह हुन् । र, हुम्ला आउने सबै नेताहरुले जोड्ने आश्वासन दिन्छन् ।