सल्यान : नेकपा एमाले सिम्ताले बहालवाला शिक्षकलाई पार्टीको वडा कमिटी अध्यक्ष र सचिव निर्वाचित गरेपछि सिम्तामा चर्को विरोध सुरु भएको थियोे । वडा अधिवेशनबाट दर्जनभन्दा बढी शिक्षक पार्टीको कमिटीमा बसे । जसको चौतर्फी आलोचना भयो । विरोध, आलोचना र दबाबले एमालेको कार्यकारी पदमा बसेका शिक्षकले शुक्रबार राजीनामा दिएका छन् ।
शिक्षक त्यसमाथि प्रधानाध्यापक नै एमालेको कार्यकारी पदमा बसेपछि झन् विरोध चुलिएको थियो । सामाजिक सञ्जालमा पार्टीको जिम्मेबारीमा बसेका शिक्षकको विरोध र आलोचना चर्किएको थियो ।
जुन समाचार कर्णाली खबर डटकममा ‘सिम्तामा प्रधानाध्यापक नै एमालेको कार्यकारी पदमा’ पहिलोपटक प्रकाशित भएको थियो । विद्यालयका प्रधानाध्यापकदेखि शिक्षक कर्मचारी पार्टीको कार्यकारी पदाधिकारीमै बसेपछि एमाले सिम्तालाई उठेका प्रश्नको जवाफ दिन हम्मेहम्मे परेको थियोे ।
नेपालको संविधानले कुनै पनि सरकारी बहालवाला कर्मचारीहरु पार्टीको कार्यकारिणी पदमा बस्न नपाउने व्यवस्था गरेको छ । यस्तो व्यवस्था हुँदाहुँदै नेकपा एमालेले बहालवाला शिक्षक र कर्मचारीलाई वडाको मुख्य जिम्मेवारी दिएको थियो ।
यत्रतत्र नागरिकले समेत चर्को आलोचना र विरोध गरेपछि शुक्रबार पार्टी पदाधिकारी बसेका सबै शिक्षकहरुले सामुहिक राजिनामा पेश गरेका छन् । नेकपा एमाले सिम्ता गाउँ कमिटीमा वडा अध्यक्ष सचिव लगाएतका महत्त्वपूर्ण पदमा बसेका शिक्षक र कर्मचारीले सामुहिक राजिनामा दिएका हुन् ।
सिम्ता ४ का अध्यक्ष शंकर महतारा, सचिव बिर्खवहादुर महतारा, वडा ६ का सचिव लोकेन्द्र पुन, वडा ७ का अध्यक्ष नवीन केसी, वडा नं ८ का पार्टी कमिटी अध्यक्ष हस्तबहादुर चन्द लगायतले सामुहिक रुपमा राजिनामा दिएको विज्ञप्ति समेत सार्वजनिक गरेका छन् ।
उनीहरुको राजीनामाको स्थानीय स्तरबाट स्वागत र सराहनासमेत भएको छ । पार्टीको मुख्य पदमै वहालवाला शिक्षकहरु बसेपछि त्यसबारेको समाचार कर्णाली खबरमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि उनीहरुको आलोचना पनि चुलिएको थियो ।
शुक्रबार राजीनामा दिँदै शिक्षकहरुले कर्णाली खबरसँग कुरा गर्दै सिम्ता गाउँ कमिटीमा राजिनामा पेश गरेको बताए । एमाले सिम्ताकै केही नेताहरुले शिक्षकलाई पद दिएर ढालका रुपमा मात्रै प्रयोग गरिएकाले राजीनामा दिएर सही निर्णय गरेको टिप्पणी गरेका छन् ।
र, यो पनि पढौँ