सल्यान : सल्यानमा सञ्चालित आँखा शिविरबाट स्थानीय लाभान्वित भएका छन् । आँखा शिविरबाट ३ सय १६ जनाको जाँच भएको थियो । जसमा ८७ जनाको आँखाको शल्यक्रिया गरेपछि फेरि संसार देख्न सफल भएका छन् ।
बनगाड कुपिण्डे नगरपालिकाको वडा १ देवस्थलमा भएको आँखा शिविर सञ्चालन भएको थियो । जुन आफैमा एक अवसर थियो । तर धेरै नागरिक सो शिविरमा उपस्थित हुन सकेनन् ।
सुचना नपाएर धेरै नागरिक आँखा जचाउन छुटेको स्थानीयले गुनासो गरेका छन् । आँखा शिविरको लागि नगरमा प्रचारप्रसार नभएका कारण आँखाका बिरामी उक्त शिविरबाट सेवा लिन वञ्चित भएका स्थानीयको गुनासो छ । आँखाका १ हजार भन्दा बढी बिरामी रहेको नगरमा ३ सयको मात्रै जाँच भएको छ ।
आँखा शिविर सञ्चालन गर्ने संस्था रक्षाचौर दाङले सुचना संप्रेषणका लागि नगरपालिका, पालिकाको स्वास्थ्य शाखामा एक महिना अघि पोष्टर पम्पलेट पठाएको थियो ।
तर विडम्बना नागरिकले उक्त सुचना थाहै पाएनन् । देवस्थल वरपरका नागरिकबाहेक अन्य वडाका नागरिकले यो सुविधाबाट बञ्चित हुनुपरेको गुनासो बढेको छ । व्यवस्थापन र समन्वयको पाटो नगरपालिका हो । तर शिविरका लागि नगरपालिकासँग स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिरहेका रक्षाचौर दाङको चिकित्सकको टोलीले पनि गुनासो गरेको छ ।
जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्य शाखा प्रमुखले फोनै नउठाउँदा धेरै नागरिक शिविरबाट बञ्चित भएको गुनासो बढेको हो । शिविरका लागि सुचना पुर्याउनेदेखि व्यवस्थापनमा समेत नगरपालिकाले आवश्यक सहयोग नगरेको शिविर सञ्चालन प्रमुख सिफाग्राम गौतमको दुखेसो छ ।
यस्ता शिविरमा नागरिकको सेवाका लागि स्थानीय तहले धेरै पहल गर्नु पर्ने भएपनि त्यो नपाएको उनले गुनासो गरे । सल्यानका नागरिकको लागि दाङबाट लाखौं खर्च गरेर शिविर गर्न आएपनि स्थानीय तहले राम्रो व्यवस्थापन नगर्दा स्थानीयलाई घाटा भएको चिकित्सकको गुनासो छ ।
शिविर सञ्चालनदेखि, व्यवस्थापन र सहजीकरणका लागि स्थानीय तहका जनप्रतिनिधिले असहयोग गरेको पनि उनीहरुको गुनासो छ । आर्थिक अभावमा पेलिएका सल्यानका नागरिक समयमै सुचना पाएको भए निशुल्क आँखा चेकजाँच गर्न पाउने कुरामा जनप्रतिनिधि गैरजिम्मेवार भएको पनि उनको तर्क छ ।
नेपाल नेत्र जोति संघ, राप्ती आँखा अस्पताल तुलसीपुर दाङको सहयोग र एनवीपी आँखा हेरचाह केन्द्र नर्वेको आर्थिक सहयोगमा २ दिने निशुल्क आँखा शिविर सञ्चालन भएको थियोे ।
मोतिया विन्दु र आँखाको अन्य समस्या भएमा केही नागरिकले उक्त सेवा लिएका थिए । जसले थोरैलाई भएपनि नयाँ ज्योति समेत दिएको छ । तर धेरै नागरिकले देवस्थलमा आँखा शिविर सञ्चालन भएको कुरा जानकारी नपाउँदा समस्या भएको उनले बताए । सुचना पुर्याउनका लागि सामाजिक सञ्जालको प्रयोगमा पनि कन्जुस्याई गरिएको गुनासो छ ।