पुष्कर शाह विश्व साइकल यात्री हुन् । उनले नेपालबाट साइकल चढेरै विश्वका १५५ देशको भ्रमण गरेका छन् । संसारलाई साढे पाँच फन्को लगाएका उनी पछिल्लो समय स्वदेशी पर्यटन प्रवद्र्धनमा लागेका छन् । यसले उनलाई स्वदेशप्रतिको माया मात्रै होइन, विश्वका पर्यटक नेपाल ल्याउनभन्दा नेपालकै पर्यटकलाई एक ठाउँदेखि अर्को ठाउँ घुमाउन प्रेरित गरेका छन् । यस्तै पर्यटन प्रवद्र्धन अन्तर्गत पछिल्लो समय उनी कर्णालीमा केन्द्रित देखिएका छन् । केही समयपहिले उनले इलामको श्रीअन्तुदेखि मुगुको रारासम्म १८ सय किलोमीटर साइकल यात्रा गरे । जुन आफैमा एक साहसिक यात्रा हो । झण्डै ७० जना टिम श्रीअन्तुदेखि रारासम्म पुगेको थियो । सयौँ जनाको नेतृत्व गरेपनि रारासम्म भने ७० जनाको टिम पुगेको थियो । कर्णाली चिनाउने उद्धेश्यअनुसार आफू रारा पुगेको उनले बताएका छन् । श्रीअन्तुदेखि रारासम्मको साइकल यात्राबारे कर्णाली खबरले विश्व साइकलयात्री पुष्कर शाहसँग गरेको सक्षिप्त कुराकानीको सम्पादित अंशः
तपाईले श्रीअन्तुदेखि रारासम्मै साइकल यात्रा गर्नुको उद्धेश्य के थियो ?
हाम्रो एउटै उद्धेश्य थियो, रारा चिनाउने । रारा भनेको कर्णालीको पर्यटन चिनाउने हो । पूर्व पश्चिम धेरै प्रचार भयो । तर कर्णालीको पर्यटन जहाँको त्यही देखेपछि यसलाई चिनाउनुपर्छ भन्ने लागेर साइकल यात्रा गरेका हौँ ।
श्रीअन्तुदेखि रारासम्म पुग्दा रमाइलो कत्तिको भयो ?
रमाइलो त भयो नै । केही ठाउँमा सास्ती पनि भयो । पूर्वबाट सिन्धुली, गोरखा हुँदै हामी पोखरा पुग्यौँ । त्यहाँबाट बागलुङ हुँदै रुकुमबाट जाजरकोट सल्यान भएर सुर्खेत पुग्यौँ । सबै ठाउँमा रमाइलो भयो । कर्णालीमा अझ धेरै रमाइलो भयो । हामीले पर्यटनका लागि जति गर्नुपर्ने थियो । त्यती गर्यौँ जस्तो लाग्छ ।
कर्णालीका जिल्लामा कस्तो पर्यटकीय सम्भावना देख्नुभयो ?
कर्णालीका हरेक जिल्लामा पर्यटन छ । रुकुमदेखि हामी जाजरकोट र सल्यान पुग्दा आफैमा पर्यटन हो । रुकुम जति राम्रो छ । त्यो भन्दा राम्रो जाजरकोट र सल्यान छ । सल्यानमा राउटेसँग भेट भयो । उहाँसँग भलाकुसारी गर्यौँ । सुर्खेतमा पनि केही पर्यटकीय क्षेत्र हेर्यौ । त्यसपछि सुर्खेतबाट दैलेख, कालिकोट, जुम्ला हुँदै मुगु पुग्यौँ । हामी साइकलमा थियौँ । कर्णालीमा सबै जिल्लामा पर्यटकीय सम्भावना देखेर त्यही अनुसार प्रचार पनि गरेका छौँ ।
कर्णालीका जिल्लामा सास्ती पनि केही भयो कि ?
सास्ती पनि भयो । तर त्यो भन्दा लागेको कुरा हामीले बागलुङदेखि पश्चिम लाग्दा हामीले कुनै प्रोत्साहन पाएनौँ । सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाबाट हौसलास्वरुप सम्मान त पायौँ । तर व्यवस्थापन केही पनि भएन । व्यवस्थापन नै पाएनौँ । सुर्खेतमा होटल बुलबुले भ्युमा बस्ने भनेका थियौँ । तर समय ढिलाईका कारण उल्टो सास्ती र दुव्र्यवहार भोग्याँै । हामीले यात्रा भरी सुर्खेतमा दुःख पायौँ । तर त्यसलाई कर्णालीको विशेषताका रुपमा लियौँ ।
पर्यटनप्रति कर्णालीका नेता, कार्यकर्ता, जनप्रतिनिधिको धारणा कस्तो पाउनुभयो ?
कर्णालीमा सम्भावना पर्याप्त छ । पर्यटकीय सम्भावना झन् धेरै छ । तर पर्यटनप्रतिको चाँसो, चिन्ता र वातावरण भने पाइन । सिधा भन्दा पूर्वदेखि हामी यात्रा गर्दा यसलाई प्रोत्साहन गर्ने संस्कार र शैली पनि कर्णालीमा निकै कम भेटे । सुर्खेतबाट हामी उकालो लागेपछि बाटोमा हामीले कतै पनि जनप्रतिनिधिको व्यवस्थापन सहयोग, प्रोत्साहन, सम्मान र हौसला पाएनौँ । मुगु पुग्ने बेला सांसद गोपाल बमले रारामा बस्ने व्यवस्था मिलाउनु भयो । त्यो बाहेक हामीले त्यस्तो ठूलो हौसला पाएनौँ । यो चिन्ताको विषय हो । कर्णालीमा पर्यटनको धेरै सम्भावना छ । तर त्यो उजागर र प्रवद्र्धन गर्न सकिएन भने खेर जान्छ ।
अब वर्षेनी श्रीअन्तुदेखि रारा साइकल यात्रालाई निरन्तरता दिने योजना के छ ?
हामी गम्भीर रुपमा सोचिरहेका छौँ । यही व्यवस्थापन, यही सहयोग, यही बुझाईले निरन्तरता दिन गाह्रो छ । हामीले यति ठूलो संख्यामा साइकल यात्रा गर्दा पनि पर्याप्त प्रोत्साहन र सहयोग पाएनौँ । पर्यटनमन्त्री, मेयर मुख्यमन्त्री कसैको चाँसो भेटेनौँ । कर्णालीका नेता र मन्त्रीलाई चाँसो नहुने हामीले मात्र गरेर केही हुँदैन । त्यसैले आउँदो वर्ष यसलाई निरन्तरता दिने वा नदिने भन्ने कुरा त्यतिबेला मात्रै थाहा हुन्छ ।
अन्तिममा केही भन्नु छ ?
अन्तिममा म सबैलाई कर्णाली घुम्न आग्रह गर्छु । कर्णाली जति सुन्दर छ । त्यो सुन्दरता भोलि नरहन सक्छ । कर्णाली प्रदेश सरकार, स्थानीय तह र केन्द्रकै ध्यान पर्यटन विकासमा नपुगे पनि कर्णाली आफैँमा धेरै सुन्दर छ । मेरो आग्रह, एकपटक कर्णाली घुम्नुस । तपाई विश्वका सबै सुन्दरता पाउनुहुन्छ । हामी रारा पुग्यौँ । रारा मात्रै होइन, शे फोक्सुन्डो, हुम्लाबाट मानसरोवर झन् आफैँमा स्वर्ग छ । सुर्खेत, दैलेख, सल्यान, रुकुम, जाजरकोट, कालिकोट र जुम्लामा पनि सुन्दरताको भकारी छ । त्यसैले एकपटक सबैलाई कर्णाली घुम्न आग्रह गर्छौँ ।