सुर्खेत : बालुवाटारको नाम सुन्ने बित्तिकै धेरैको ध्यान काठमाडौं जान्छ । देशका प्रधानमन्त्री बस्ने बालुवाटार सँधै चर्चाको विषय पनि हो । यो देशको विगत, वर्तमान र भविष्य बालुवाटारले निर्धारण गर्छ । तर कर्णालीमा बालुवाटारको कथा अर्कै छ । काठमाडौँमा जसरी बालुवाटारबारे चर्चा र विश्लेषण हुन्छ, कर्णालीमा ठीक उल्टो कथन छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–११ मा पनि बालुवाटार छ । जहाँ देशका प्रधानमन्त्री, कर्णालीका मुख्यमन्त्री होइनन, यो देशका सबैभन्दा बढी पीडित र अपहेलित दलितभित्रको पनि दलित समूदाय गन्धर्वको बसोबास छ ।
उनिहरू वीरेन्द्रनगर नगरपालिका–११ स्थित जनता सामुदायिक वन नजिक झुप्रा खोलाको किनारमा विगत २५ वर्षदेखि अस्थायी रुपमा बस्दै आएका छन् । नेपाल पुर्वको विभिन्न जिल्लाबाट फिरन्ते जिवन बिताँउदै सुर्खेत आईपुगेका गन्धर्व परिवारको मुख्य पेशा हो सारंगी बजाउँदै गीत गाउँने । र, घर नजिकैको झुप्रा खोलामा गई गिट्टी कुट्ने, बालुवा चाल्ने । अनि त्यही निर्माण गरेको बाजा बेच्ने अनि गुजाँरा चलाउँने ।
गन्धर्व परिवारको दैनिकी हिजो आज यसरी नै चलिरहेको छ । सरकारले उनीहरुको बसोबासलाई सामुदायिक वन घोषणा गरिसकेको छ । उपभोक्ता समुहले समय समयमा सुचना जारी गरि स्थान खाली गर्न दबाब दिइरहेका छन् ।
यस दबाबाले गर्दा गन्धर्व परिवार कतिबेला घरवार विहिन हुन्छौँ भन्ने चिन्तामा छन् । २५ घर परिवार उक्त वन भित्रको करिब ३ कठ्ठा ऐलानी जग्गामा बस्दै आएका छन् । जग्गाधनी प्रमाणपत्र नहुँदा गन्धर्व सबै परिवार भूमिहिन हुन् ।
गन्धर्व समुदाय चरम गरिबि तथा भोकमरीको अवस्थाबाट गुज्रिरहेका छन् । यसरी भूमिहीन उनीहरुले सरकारसँग घरबास माग गर्दै आएका पनि छन् । उनीहरुको माग सम्बोधनका लागि फियान नेपाल नामक संस्थाले सहजीकरण गर्दै आएको छ । २०७५ असोजबाट उनीहरुसँगै यो संस्था आधारभूत आवश्यकतादेखि जिविकोपार्जनसँग पनि जोडिएको छ ।
समुदायलाई सशक्तीकरण गर्दै माग सम्बोधनका लागि सवाल सँग सम्बन्धीत सरकारी, गैरसरकारी तथा नागरिक समाज लगायतका सरोकारवाला निकायहरूसँग समन्वय, सहकार्य र सहजीकरण गदैँ आएको छ । गत असोज २० गते वीरेन्द्रगरमा फियान नेपालले ‘खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभूत समबन्धित ऐन कार्यान्वयनको अवस्था, चुनौती र सरोकारवलाहरूको भूमिका विषयक अन्तरक्रिया’ कार्याक्रमको आयोजना गरेको थियो ।
भूमि, व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयमा भएको कार्यक्रमका प्रमुख अथिति थिए, मन्त्री कुर्मराज शाही। फियानले खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभूत सम्बन्धी छलफल गरेको थियो ।
त्यस अन्तरक्रियामा सहभागीहरुले सरकार समक्ष आ–आफ्ना समस्या समाधानका माग राखेका थिए । त्यस्तै क्रममा गन्धर्व समुदायका अगुवा तथा गन्धर्व बस्ति खाद्य अधिकार सञ्जालका सदस्य धनबहादुर गन्धर्वले आफ्नो समुदायमा भएका विभिन्न समस्या समाधानका माग राखे । उनले समुदायमा तत्कालको लागि शुद्ध खानेपानीको लागि पहल गर्न मन्त्री समक्ष आग्रह गरे ।
‘हाम्रो गन्धर्व समुदाय लामो समय देखि खोलाको अशुद्ध पानी पिउन बाध्य छ, साथै ऐलानी जग्गामा बसोबास भएको र खेतीपातीको लागि कुनै जमिन पनि छैन् त्यसका लागि जमिन उपलब्ध गराई दिन् मन्त्रालयलाई आग्रह गर्दछौ’ गन्धर्व समुदायका अगुवाहरुले यसरी नै आफ्ना माग राखेका थिए ।
कार्याक्रमलाई सम्बोधन गदैँ मन्त्री कुर्मराज शाहीले गन्धर्व बस्तीमा पानीको समस्या छ वा छैन् ? बस्ती कस्तो छ ? अन्न उत्पादन हुन्छ कि हुँदैन् ? जस्ता विषयको अनुगमनका लागि आफुसहित मन्त्रालयको टोली बालुवाटार आइपुग्ने आश्वासन दिए ।
अन्तरक्रिया कार्यक्रममा यस्ता भोगचलन गरि बसेका तर आफ्नो जग्गाको पुर्जा नभएका र खेती गर्न चाहना भएपनि जग्गा जमिन नभएका परिवारका समुदायलाई तत्काल जग्गा उपलब्ध गरेर बीउ समेत दिने घोषणा मन्त्रीले गरे ।
‘तपाईंहरूले उत्पादन गर्न चाहनु हुन्छ वा श्रम गर्न सक्नु हुन्छ भने हामी बीउ दिन्छौ, अनुदान दिन्छौ, कृषि सामाग्री दिन्छौँ’ त्यसबेला मन्त्री शाहीले गन्धर्व समूदायलाई आश्वस्त पारेका थिए । तर मन्त्री शाहीले वादी समूदायलाई आश्वस्त पारेको एक महिना पुग्नै लागिसक्यो । बादी बस्तीको पीडा बुझ्ने, उनीहरुको जीवन फेर्न सरकार सहयोगी हुने गरी अनुगमनमा जानेबारे कुनै सुरसार देखिएको छैन ।
त्यति मात्रै होइन, उनी यतिबेला आफ्नै पद सकिने अवस्थामा पुगेका छन् । ६ महिने कार्यकाल लिएर मन्त्री बनेका शाहीको कामभन्दा गफ धेरै दिने प्रमाण यो आश्वासनलाई पनि लिन सकिन्छ । मन्त्री शाहीको पद सकिनै लागेका बेला उनी कति आश्वासन पुरा गरे ? त्यो त लेखाजोखा होला । तर आफ्नै अगाडि त्यसरी कामै गरेर देखाउने आश्वासन दिने मन्त्री शाहीले बोलेको पूरा गरे त ? भन्ने कर्णाली खबरको जिज्ञासामा गन्धर्व समुदायका अगुवा धनबहादुर गन्धर्वले भने, ‘अहिलेसम्म मन्त्रालयबाट न मन्त्री आए । न मन्त्रालयका कुनै पनि कर्मचारी आए । हामीलाई आश्वासन मात्रै दिइयो । आश्वासन दिएरै बिदा हुन लागे भन्ने सुनेका छौँ ।’
यसबारे उनीहरुले मन्त्रालयमा पनि नबुझेका होइनन । तर जवाफ रित्तो मात्रै पाए । कतिसम्म भने कर्मचारीले यो कार्यक्रम र आश्वासनबारे पर्याप्त जानकारी नभएको भन्न समेत भ्याए । ‘मन्त्रीले हामीलाई कार्यक्रममा आश मात्रै देखाउँनु भयो । आजसम्म हाम्रो बस्तीमा आउनु भएको छैन’ धनबहादुरले कर्णालीखबरसँग भने, ‘मन्त्रालयका सचिवलाई फोन गरे बुझदा पनि गन्धर्व बस्तीमा जाने कुरा नभएको भने । सचिव आफै पनि म बाहिर छु भनेर फोन काटे ।’
अभाव, गरीबी र सिमान्तकृत समूदायको बस्ती रहेको कर्णालीको राजधानी सुर्खेतमा यस्ता कैयौँ बालुवाटारका कथा छन् । जहाँ बालुवाकै भरमा जीवन मात्रै होइन, नेता र मन्त्रीको भोट पनि चलिरहन्छ ।
तर गन्धर्व समूदायले छोएको पानी खान समेत कन्जुस्याई गर्ने नागरिक समाज र सरकार भने आश्वासका पोका दिएर मात्रै पन्छिने गरेको छ । जुन यसपटक पनि दोहोरियो । यो आश्वासनको श्रृङ्खला कहिलेसम्म दोहोरिन्छ ? स्वयंम गन्धर्व समूदायलाई पनि पत्तो छैन ।