काठमाडौँ । कर्णाली प्रदेशमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैलेखका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका हुन ।
यसअघि सुर्खेतको प्रादेशिक अस्पतालमा जाँच गर्दा उनको पिसिआर रिर्पोट पोजेटिभ आएपछि थप परीक्षणका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जमा पनि पिसिआर रिर्पोट पोजेटिभ आएपछि कर्णालीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको हो ।
कर्णालीसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणका क्रममा थप १८ जनामा संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
अधिकारीका अनुसार नयाँ देखिएका संक्रमितमा दैलेख र खोटाङ जिल्लाका हुन । संक्रमण देखिएकामध्ये धनुषा निवासी दुई, खोटाग हलेसी निवासी एक, बाँके नरैनापुर गाउँपालिका निवासी १२, दैलेख आठबीस वडा नंं १ निवासी एक , सुनसरी निवासी र झापा निवासी एक छन् ।
यसअघि आजै ६२ जनामा संक्रमण देखिएको थियो । बिहान ९ र दिउँसो ५३ जनामा संक्रमण देखिएको हो । अहिले देखिएका १८ जनासंँगै आजमात्रै ८० जनामा संक्रमण देखिएको छ । देखिएका संक्रमितमा सबभन्दा बढी बाँकेमा ५९ जनामा देखिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए।
अहिलेसम्म देखिएका संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन । दुई जनाको भने ज्यान गएको छ ।