काठमाडौँ: काठमाडौँको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् ।
दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन । काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनी प्रहरीमा निवेदन परेलगत्तै खोजी सुरु गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिए ।
कलेजबाट निस्केर गएको भन्ने छ, हामी खोज्दै छौँ, कारण पत्ता लागिसकेको छैन । उनका परिवारले भने संस्थानको छात्रावासबाटै शाही हराएको जिकिर गर्दै सेनाले सत्यतथ्य जानकारी दिनुपर्ने माग गरेका छन् । शाहीका फुपुका छोरा (नाताले दाई) पदम मल्लले भदौ १७ गते कलेजबाटै बेपत्ता भएको जनाउँदै उनको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन् ।
भदौ १७ मा हराएका उनका बारे २१ गतेमात्रै सेनाले परिवारलाई खबर गरेकाले त्यसप्रति आशङ्का उब्जिएको उनले बताए । खबर पाउने वित्तिकै काठमाडौँ आएर नेपाली सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि निवेदन दिएपनि अहिलेसम्म कुनै जानकारी आउन नसकेको मल्लको गुनासो थियोे ।
आज ५९औँ दिन भयो हराएको अहिलेसम्म अवस्था के छ कसैलाई पत्तो छैन, भइरहेको अनुसन्धान प्रक्रिया पनि चित्तबुझ्दौ छैन। बाध्य भएर मिडियामा आउनुपरेको छ ।” मल्लले आफ्नो विद्यार्थीको निगरानी गर्नुपर्ने जिम्मेवारी रहेको संस्थानले ध्यान नदिँदा शाहीको अवस्था अज्ञात बन्न पुगेको हो ।
शाही असल विद्यार्थी हुन्, गलत भए पनि कानूनी उपचारको बाटो अलग्गै हुन्छ, हामीलाई मान्छे चाहियो”, उनले जोड दिए । शाहीका साथीहरुले तपाईहरु छिटो आएर राजेशलाई निकाल्नुहोस्, हामीले देखेका छौँ भनेर खबर गरेको सुनाउँदै मल्लले अहिले विभिन्न बहाना निकालेर उसैमथि नै नैतिक प्रश्न खडा गर्ने अवस्था देखिएकोे मल्लको भनाइ थियो ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताए । उनले परिवार, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको पनि जानकरी दिए ।
उनी गेटबाट निस्किएपछि सम्पर्कमा आएका छैनन्, कारण फेला पार्न सकिएको छैन”, प्रवक्ता पौडेलले भने । दुई महिनादेखि फेला नपर्नुमा विडम्बना भएको र उनको खोजीका लागि प्रधानसेनापति प्रभूराम शर्माबाट स्पष्ट निर्देशन आएको पनि उनले जानकारी दिए ।
प्रवक्ता पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले समेत घटनाको अनुसन्धान गरिरहेको र सिआइवीलाई अनुसन्धानमा सेनाको पूर्ण सहयोग रहेको पनि बताए । परिवारका सदस्यले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ । रासस