काठमाडौं : आइतबारदेखि राजधानीमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । मर्यादा मिडियाको आयोजनामा सातै प्रदेशबाट दलित समुदायका महिलालाई प्रतिनिधित्व गराएर सञ्चालन गरिएको उक्त कार्यशालामा दलित समुदायको राजनीतिक, सामाजिक तथा पेशागत जीवन सुरु गरिरहेका ३ दर्जन महिलाको सहभागिता रहेको छ ।
कार्यशालामा संविधान सभा सदस्य कमला विश्वकर्मा, वागमती प्रदेशसभा सदस्य शोभा शाक्य, मधेशी दलित महासंघकी केन्द्रीय सदस्य गीता पासवान, एशीयन जेण्डर ट्रेनिङ केआइजीएपीइ २० फेलो सावित्रा परियार, १९ फेलो अन्जु कडेल र मर्यादा मिडियाका अध्यक्ष प्रकाशचन्द्र परियारले संयुक्त उद्घाटन गरेका थिए ।
महिला समानता, प्रतिनिधित्व पहुँच र प्रगतिलाई केन्द्रमा राखेर महिला सहभागिता र प्रतिनिधित्वमा विविधताको प्रवर्द्धन गरिरहेको मर्यादा मिडियाले दलित महिला भित्रको विविधतालाई वकालत सुरु गरेको अध्यक्ष परियारले बताए । समारोहमा पहाडी दलित महिला, मधेसी दलित महिला र नेवारी दलित महिलाको समस्यालाई सम्वोधन गर्न नयाँ पहल थालिएको उद्घोष गरिएको छ ।
कार्यशाला उद्घाटन सत्रका वक्ताले नेपालको सामाजिक संरचनामा सबैभन्दा पिधान भएको दलित समुदाय भित्र पनि दलित महिलाको सशक्तिकरण राज्य, दल, नीजि क्षेत्र र गैरसरकारी क्षेत्रको विशेष पहल हुनुपर्ने जोड दिइएको छ । लैङ्गिक, जातीय र आर्थिक रुपमा त्रिकोणात्मक मार खेपिरहेको दलित महिलाको सवाल अब राजकीय सवाल बनाउन नसके समतामूलक समृद्धिको कल्पना पनि गर्न नसकिने वक्ताहरुको टिप्पणी थियो ।
कार्यशालामा मानव अधिकार, सामाजिक न्याय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र मानव मर्यादाका विविध पाटोबारे विषय विज्ञबाट अन्तरक्रियात्मक प्रशिक्षण दिइएको छ।