काठमाडौं : कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पद मुक्त हुँदैछ । बैशाख ३ गते ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री पद उपहार पाएका तीनको पदमुक्त हुने भएको हो ।
तत्कालिन एमालेबाट ‘फ्लोर क्रस’ गरेर मन्त्री पद उपहार पाएका ‘दैलेखका सांसद अम्मरबहादुर थापा, कालिकोट सांसद कुर्मराज शाही र डोल्पाका सांसद नन्दसिंह बुढा’को पद मुक्त हुने भएको हो ।
थापा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छन् । शाही, भूमि, व्यवस्था, कृषि तथा सहकारी छन् । भने, बुढा उद्योग, पर्यटन, वन तथा वातावरण छन् ।
उनीहरुलाई पार्टीको हित, निर्णय र ह्वीपविपरित गरेको भन्दै एमालेले पदमुक्त गरेको थियो । मन्त्री पद उपहार पाएका तीन र तत्कालिन सल्यानका सांसद प्रकाश ज्वालालाई सांसद पद नरहने गरी कारबाही गरेको थियो ।
सांसद पद गुमेपछि संविधानमै ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । मन्त्री भएको छ महिना पुगेपछि उनीहरुको पद स्वतः मन्त्री पदमुक्त हुने भएको हो ।
हाल, प्रकाश ज्वाला माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय उप–महासचिव छन् । थापा एसको कर्णालीको अध्यक्ष छन् । मन्त्री पदमुक्त हुने भएपछि एकीकृत समाजवादीबाट कसलाई मन्त्री बनाउने छलफल भइरहेको एक नेताले बताए ।