सिमकोट : अपराधलाई नियन्त्रणमा लिन प्रहरीलाई देशभर हम्मेहम्मे परिरहेका बेला हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको प्रहरी चौकीमा भने उजुरी नै नपर्ने गरेको पाइएको छ ।
टाँढाको गाउँ त्यसमाथि एउटै समुदायको बसोवासका साथै झै झगडा, अपराध र चोरीका घटना नहुने भएपछि स्थानीयबाट प्रहरी चौकीमा उजुरी नपर्ने गरेका हुन् । चौकीका कुनै उजरी नआउने भएपछि प्रहरीको काम नै चौकीको सुरक्षा गर्ने र गस्तीमा निस्कने मात्र हुने गरेको छ ।
यसरी कुनै घटना नहुने भएपनि स्थानीयले उजुरीका लागि प्रहरीकोमा जानु नपर्ने बताउँदै वडाध्यक्ष पाल्जोर तामाङले लिमीका तीन गाउँमा कुनै अपराधिक घटना नहुँने भएपछि निक्कै हाईसन्चो भएको उल्लेख गरे ।
उनले गाउँगाउँबीच सामान्य विवाद आए गाउँलेसँग वडामै बसेर मिलाउने गरिएकोले प्रहरी चौकीसम्म पुग्नु नपर्ने बताए । चौकीका प्रहरी गाउँमा आएको देखिए रासन पानीको समस्या, उपाचार वा कार्यालय र आफन्तसँग फोन सम्पर्क गर्न आएको बुझ्नु पर्ने हुन्छ । लिमीका स्थानीयको असल व्यवहारकै कारण हालसम्म गाउँमा कुनै अपराध वा झै झगडा नभएकै कारण मुद्दा खेप्नु नपरेको हो ।
गत जेठमा जिल्लाबाट प्रहरी चौकी सुनखानी पुग्नु भएको चौकी इन्चार्ज कृष्णजंग शाहले तीन गाउँ तील, हल्जी र जाङ्बाट कुनै मुद्धा मामिला र उजुरी नपरेको बताए । उनले यस्तो उजुरी नपर्ने कार्य यसवर्ष मात्र नभएर अघिल्ला वर्षहरुको पनि नदेखिएको जानकारी दिए ।
लिमीबासी निक्कै शालिन, अनुशासित, अपराध गर्नै हुन्न भन्ने मानसिकता पाइएकोले प्रहरीले चौकी कुर्ने काम गरि रहनु परेको प्रहरीले जनाएको छ । यसवर्ष सिमा प्रहरी चौकीले लुकिछिपी जडिबुटी संकलन गर्न आएका एक जना गाउँ बाहिरका मानिसको गाउँलेकै उजुरी माथि छलफल गरेर मिलापत्र कार्य गरेको भएको थियो ।
त्यो बाहेक चौकी कुनै उजुरी आएको प्रहरी रेकर्डले देखाउँदैन । बरु चर्चित भारतीय धर्मगुरु सद्गुरुको लाप्चाबाट मानसरोवर कैशालको दर्शन गर्न आउने क्रममा राम्रोसँग सुरक्षा दिएर सघाएको चौकीले आफ्नो प्रगतिमा समेटेको छ ।
धेरै जंङ्गली जनावर र पंक्षी हुने लिमीमा मारकाट र शिकार खेल्न समेत स्थानीयले बन्देज लगाएका छन् । चौकीका प्रहरीको कामै गस्ती जाने, खाद्यन्नको व्यवस्था गर्ने र चौकीको सुरक्षा गर्ने रहेको छ । कुनै अपराधिक घटना नहुँने र हिउदमा हिउ पनि धेरै पर्ने भएको कारण प्रहरी जेठदेखि कात्तिक महिनासम्म चौकीमा बस्ने गर्छन् । कात्तिकपछि बैशाखसम्म लिमी चौकीको प्रहरी जिल्लामा फिर्ता हुने गर्छ ।
घटना नहुँने भएपछि सिमा सुरक्षा चौकी लिमीमा दरबन्दी अनुसारको जनशक्ति पनि नभएको प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले बताए । २३ जना दरबन्दी भएको लिमीको प्रहरी चौकीका लागि हाल नौ जना मात्र कार्यरत रहदै आउनु भएको छ । अपराधिक गतिविधि नहुँने भएकै कारण कम जनशक्तिबाट पनि चौकी राम्रैसंग सञ्चालन भइरहेको होे ।
अवस्था राम्रो भएको कारण पनि खाली दरबन्दीको जनशक्ति पुर्ती गर्नेतर्फ प्रहरी नलागेको बताइएको छ । केही समय अगाडी अनुगमनका क्रममा लिमी पुगेका उनले अपराध नियन्त्रण गर्न प्रहरीलाई निक्कै प्रयास गर्नु परि रहेका बेला लिमीका वासिन्दाबाट धेरै पाठ सिक्न सकिने बताए । लिमीका सेवाग्राहीको राम्रो आचरण, बानी भएकै कारण प्रहरीमा कुनै उजुरी नपरेको उनले बताए ।