काठमाडौं : जाडो मौसम शुरु भइसकेको छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। शरीरले न्यानो र तातो खानेकुरा खोज्न थालिसकेको छ । चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानापानमा पनि विशेष ध्यान दिनुपर्छ ।
चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन्। जाडोमा खासगरी हातखुट्टा, अनुहार (एक्स्पोज हुने भागको) छाला फुट्ने, फुस्रो हुने हुन्छ। यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ।
चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगकाे संक्रमण शुरु हुन थाल्छ ।
चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ। घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ। भिटामिन डिको कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहेको चिकित्सक बताउँछन्। चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन। चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ। जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ। यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ।
चिसो मौसमका उपयुक्त खाना
चिासो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ । चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ । तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन । बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।
- हरियो साग सबै मौसमको सुपर हिरीयो तरकारी हो । कतिपयमा जाडो मौसममा साँझपख सागसब्जी खाँदा सर्दी, रुघाखोकी लाग्छ भन्ने अन्धविश्वास छ, तर यो गलत हो । भिटामिन ए तथा केयुक्त सागले शरीरलाई धेरै फाइदा पुर्याउँछ । जाडोमा विशेषगरी मेथी, बेथे, पालक तथा तोरीेको साग, ब्रोकाउली एवं धनियाँ खानु उपयुक्त हुन्छ ।
- चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
- जाडो मौसममा अदुवा, लसुन, दालचिनी, बेसार, ल्वाङ, मरिच आदि मसला प्रयोग गर्ने हो भने त्यसले शरीरलाई तातो राख्नुका साथै सर्दी एवं रुघालाई टाढा राख्न मद्दत पुर्याउँछ ।
- ज्वानोको रस, अदुवाको चिया, बेसार, दालचिनी, मह तथा ल्वाङ मनतातो पानीमा दैनिक बिहान वा बेलुकी प्रयोग गर्दा टन्सिल, रुघा, फ्लु, ज्वरो, निमोनियाँजस्ता जटिलताबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।