काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाका दाहिने हात हुन्, पूर्णबहादुर खड्का । कांग्रेस महामन्त्री खड्का बालुवाटारमा जति शक्तिशाली छन्, कांग्रेसका लागि कर्णालीमा त्यत्तिकै प्रभावशाली मानिन्छन् । देउवाका दाहिने हात खड्काले संघीय सरकारका कसलाई मन्त्री बनाउने, कसलाई हटाउने र कसलाई किचेन क्याबिनेटमा ल्याउने ? भन्ने सामथ्र्य राख्छन् ।
धेरैलाई थाहा भएकै कुरा हो, कांग्रेसमा पूर्णबहादुर खड्का जति पावरफूल उनको तहका अरु नेता छैनन् । देउवाका सबैभन्दा विश्वासिला र त्यही विश्वासबाट शक्ति आर्जन गरेका खड्का राजनीतिक दृष्टिकोणमा पनि अग्रस्थान सम्हाल्ने क्षमता राख्छन् ।
कांग्रेसको केन्द्रीय नेतृत्वमा पूर्णबहादुर खड्का जति शक्तिशाली छन् । कर्णालीमा त्यति देखिन अझै समय लाग्ने सम्भावना छ । केही समय अघि कांग्रेस महाधिवेशनमा पनि कर्णालीमा पूर्णबहादुर खड्का पक्ष रामचन्द्र पौडेल पक्षसँग कडा प्रतिष्पर्धामा देखियो । जसरी उनको एकलौटी विजयको प्रतिक्षामा कार्यकर्ता बसेका थिए, त्यसरी उनको एकलौटी जित सम्भव भएन ।
कोइराला हुँदै रामचन्द्र पौडेल पक्षलाई हराउन निर्णायक भूमिका खेल्न चाहने खड्का यतिबेला कर्णालीमा बहुमत पाएका एमाले र माओवादीलाई पछि पारेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने कसरतको निर्णायक मोडमा उभिएका छन् ।
जीवन शाहीलाई मुख्यमन्त्री बनाउने कोरियाग्राफर खड्का
कर्णालीको सत्ता फेरबदल आफ्नो पक्षमा पार्न यतिबेला कर्णालीका सबै टावर लिडर सुर्खेतमा छन् । कांग्रेस महामन्त्री खड्का र माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, नेकपा समाजवादीका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वाला पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छन् ।
सुर्खेतका टावर लिडरमा पनि पूर्ण बहादुर खड्काको आफ्नो प्रभाव छ । त्यो प्रभाव देखाउने र कर्णालीमा आफ्नो पावर देखाउने सही समयमा पूर्ण बहादुर खड्का छन् । उनले कर्णालीमा कांग्रेसबाट एक्लो सिट जितेका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउनका लागि माओवादी सरकारलाई विश्वासतको मत दिने बेलामा ६ महिनापछि मुख्यमन्त्री कांग्रेसलाई दिनुपर्ने सहमति गर्न लगाएका थिए ।
त्यही सहमति अनुसार जीवन शाही यतिबेला मुख्यमन्त्री बन्न लागेका हुन् । बैशाख ३ गते कांग्रेस, माओवादी र एमालेका सांसदले फ्लोर क्रस गर्ने बेला पनि जीवन शाहीलाई अडान लिन लगाएर पूर्णबहादुर खड्काले कांग्रेस सरकारको खाका तयार पारेका थिए ।
केन्द्रमा पनि देउवा सरकार गठनमा माओवादी र नेकपा एकिकृत समाजवादीको समर्थन लिन खड्का अघि सरेका थिए । सोही कारण उनी सरकार सञ्चालन कार्यदलको संयोजक बनेका थिए । कर्णालीमा पनि शक्ति बस्नेत र प्रकाश ज्वालालाई सँगै राखेर मुख्यमन्त्री शाहीलाई राजीनामा गराउन खड्काले नै भूमिका खेलेका थिए । एक हप्तादेखि सुर्खेतमा बसेर राजनीतिक सरगर्मी बढाईदिएका खड्काले अन्ततः मुख्यमन्त्री शाहीलाई राजीनामा दिन तयार बनाए । यसका लागि उनले केन्द्रमा जनार्दन शर्मासँग एकतहको वार्ता र विश्वास दिलाएका थिए ।
तर कर्णालीबाट शक्ति बस्नेतले केन्द्रको खासगरी प्रचण्डको निर्देशन चाहिने भन्दै राजीनामा नदिने अडान लिँदै आएका थिए । शनिबारदेखि राजीनामा नदिए कात्र्तिक १५ गते सरकालाई दिएको समर्थन फिर्ता लिएर एमालेसँग सत्ता समीकरण अघि बढाउने खड्काको तयारी थियो ।
सोही अनुसार एमालेसँग पनि एकचरणको वार्ता भएको थियो । विश्वास पात्रमार्फत भएको वार्ता सकारात्मक भएको भनिएपनि माओवादी फ्याक्टर कर्णालीमा सबैभन्दा महत्वपूर्ण रहेकाले सोही अनुसार माओवादीलाई विश्वासमा लिन मुख्यमन्त्री खड्का सफल देखिएका हुन् ।
हुम्लाबाट मात्रै कर्णाली प्रदेशसभामा प्रत्यक्ष सिट जितेका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने कोरियोग्राफर कांग्रेस महामन्त्री खड्का हुन् । सोमबार बेलूकीसम्म मुख्यमन्त्री शाहीले राजीनामा गरेपछि जीवन शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ने छ ।
कर्णालीमा एक जिट जितेर सरकारको नेतृत्व गर्ने जीवन शाही इतिहासकै भाग्यमानी मुख्यमन्त्री हुनेछन् । यद्यपी, माओवादीको १२, कांग्रेसको ६ र समाजवादीको ३ सांसदसहित २१ जनाको समर्थनमा जीवन शाही मुख्यमन्त्री बन्न लागेका हुन् ।
स्मरण रहोस, काभ्रेका डन गणेश लामालाई पोखरा पठाएर उनका गुरु स्वतन्त्र सांसद दीपक मनाङेलाई फकाएर विपक्षी गठबन्धनमा आवद्ध गराई पृथ्वीसुब्बा गुरुङको सत्ता उल्ट्याउने पनि पूर्णबहादुर खड्का नै हुन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको नेतृत्वमा कांग्रेस सरकार बनाउन पनि खड्काले महत्वपूर्ण भूमिका खेलेका थिए ।