सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण देखिएका युवा क्वारेन्टाइन बसेर आएको खुलेको छ । भारतकै वनवासामा रहेको क्वारेन्टाइनमा ३५ दिन बिताएका युवालाई आठबीसकोट नगरपालिकाले उद्धार गरेर ल्याएको थियो ।
क्वारेन्टाइनमा रहँदा रिर्पोट नेगेटिभ देखिएको थियो । पछि नगरपालिकाले उद्धार गरेर ल्याउँदा पनि आरडिटी रिर्पोट नेगेटिभ आएपछि घर प्रवेश गराइएको थियो । तर सोमबार उनको पिसिआर रिर्पोट पोजेटिभ आएपछि दैलेख र सिंगो कर्णाली प्रदेश त्रसित बनेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कर्णालीका पहिलो संक्रमित युवा दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय पुरुष हुन । एक साताअघि भारतबाट आएका उनको स्वाबको नमूना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो ।
पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पनि रिर्पोट पोजिटिभ देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण पुष्टि गरेको हो । सङ्क्रमित व्यक्ति अहिले नगरपालिकास्थित क्वारेन्टाइनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
३५ दिन क्वारेन्टाइन बसेर घर फर्किदा कोरोना !
भारतको आगरामा कोल्डस्टोरमा काम गर्ने ती व्यक्ति आगराबाट कोल्डस्टोरकै गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमानाका वनवासासम्म आएका थिए । वनवासामा ती युवा ३५ दिन क्वारेन्टाइनमा बसेको खुलेको छ ।
क्वारेन्टाइन अवधि पूरा भएपछि भारतीय पक्षले जबर्जस्ती नेपालतिर पठाएपछि ती युवासहित नेपालीलाई स्थानीय तहको समन्वयमा उद्धार गरेर सम्बन्धित नगरपालिकामा पठाइएको थियो ।
दैलेखको आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले जेठ १ गते महेन्द्रनगरबाट गाडी रिजर्भ गरी लक्ष्मी माध्यमिक विद्यालय, सात्तलामा बनाइएको क्वारेन्टाइनमा राखेको बताए । ती युवासहित ३९ जनालाई एकैपटक उद्धार गरिएको थियो । जेठ ३ गते क्वारेन्टाइनमा बसेका सबैको पिसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो ।
वडा सिल, नगरपालिका र जिल्ला पनि सिल गरिदै !
“उद्धार गरी ल्याइएपछि आरडिटी जाँच गरिएको थियो, त्यसमा रिपोर्ट नेगेटिभ देखिएको थियो”, वडाध्यक्ष विश्वकर्माले भने, “कोरोना पोजेटिभ देखिएको खबर पाएपछि अहिले वडा सिल गरेका छौँ ।” क्वारेन्टाइनमा रहेका ३९ जनाको पिसीआर परीक्षण गर्दा उनको रिपोर्ट मात्रै पोजिटिभ देखिएको थियो ।
आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिका नै सिल गर्ने तयारी गरिरहेको बताए । महेन्द्रनगरबाट सिधै बसमा आएकाले समुदायले त्रास मान्नुपर्ने अवस्था नरहेको तर गाडीमा आएका अन्यको ‘कन्ट्याक्ट ट्रेसिङ’ जरुरी रहेको उनको भनाइ छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डा रीता भण्डारी जोशीले सङ्क्रमित युवालाई जिल्ला अस्पताल, दैलेखमा रहेको आइसोलेसनमा ल्याउने तयारी गरिएको बताइन । “स्वास्थ्य अवस्था एकदम ‘नर्मल’ छ, थप समस्या भए दैलेख अस्पतालमा नै भेन्टिलेटर छ, त्यहीँ राखेर उपचार गरिनेछ”, उनले भनिन ।