काठमाडौँ : सोमबार कात्तिक १५ गते । बिहानदेखि नै सांसद पद गुमाएका नेकपा एकिकृत समादवादीका तीन जना मन्त्रीले राजीनामा दिने चर्चा थियो । मन्त्री पद गुमाएका तीन जना मन्त्रीको ६ महिने पदावधि सकिएपनि राजीनामा विकल्प थिएन ।
राजीनामा नदिएपनि सोमबार राती १२ बजेपछि उनीहरु स्वतः पदमुक्त हुने थिए । बिहानदेखि राजीनामा दिने तयारी नेकपा एसका मन्त्रीको मात्रै थियो । तर मध्यान्हपछि कर्णालीलाई नै तरंगित पार्ने गरी नयाँ सूचना मिडियामा आयो ।
मध्यान्हलगत्तै कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिने उद्घोष गरे । त्यो पनि अरुसँग होइन । प्रतिक्षारत मुख्यमन्त्री जीवन शाहीलाई फोन गरेरै मुख्यमन्त्री शाहीले राजीनामा दिने उद्घोष गरेका हुन् ।
‘एकदमै अन्योलपूर्ण समयमा मध्यान्हलगत्तै मुख्यमन्त्रीज्यूको फोन आयो । पुरानै अडान । घुर्की । राजीनामा नदिने कुरा त होला भन्ने लागेको थियो,’ कांग्रेस संसदीय दलका नेता जीवन शाहीलाई उदृत गर्दै उनको निजी सचिवालयले भन्यो, ‘मुख्यमन्त्रीज्युले फोन गरेर म राजीनामा दिन्छु । तपाई मुख्यमन्त्री बन्नुस । सत्ता हस्तान्तरण प्रक्रिया सहज बनाऔँ भन्नुभयो ।’
जुन शब्द जीवन शाहीले एकमहिनादेखि सुन्न प्रतिक्षा गरिरहेका थिए । सोही कारण उनलाई कर्णालीका प्रतिक्षारत मुख्यमन्त्री भनिएको थियो । जुन कुरा सोमबार आएर पूरा भयो ।
यो त्यतिबेलाको कुरा हो, जतिबेला माओवादीले सत्ता नछाड्ने अडान कसेको थियो । अनि कांग्रेसले बेलूकी नै सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको थियो । यस्तो अवस्थामा अन्योलता जताततै थियो । न महेन्द्र शाहीको मुख्यमन्त्री पद सुरक्षित थियो । न त जीवन शाही मुख्यमन्त्री बन्ने निश्चितता थियो ।
गएको बैशाख ३ गते नै मुख्यमन्त्री पदबाट हात धुनुपर्ने अवस्थालाई ६ महिना आड भरोसा दिएर सरकार बचाईदिएको कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नु उत्तम हुने ठानेर महेन्द्र शाहीले आफै एक कदम अगाडि बढेर राजीनामा दिने घोषणा गरेका हुन् ।
यसबीचमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले मध्यस्तता नगरेका होइनन् । तर प्रचण्डलाई देखाएर माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेतले कर्णाली प्रदेशको सरकार छाड्न मानिरहेका थिएनन । मुख्यमन्त्री शाही आफैँ नैतिकताका हिसाबले पनि राजीनाको पक्षमा थिए ।
तर केन्द्रमा प्रचण्ड र कर्णालीमा शक्ति बस्नेत पूरा बहुमतको दम्भकै शैलीमा सरकारको बचाउ गर्दै आएका थिए । तर सत्ता नछाडेपछि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता कांग्रेसलाई आइलागेपछि सुर्खेतमै रहेका पूर्ण खड्काले सोमबार बेलूकीसम्म राजीनामा नदिए समर्थन फिर्ता लिने बताइसकेका थिए ।
त्यसपछि नैतिकता मात्रै होइन, पार्टीप्रतिको औचित्य र आवश्यकतालाई चुनौति दिएर एक कदम अगाडि बढ्नुपर्ने बाध्यता महेन्द्र शाहीमा आइलाग्यो । त्यसलगत्तै उनले सरकार सुरक्षित नरहेको र जतिबेला पनि माओवादी सरकार ढल्न सक्ने भएकाले कर्णाली-काठमाडौँ गठबन्धन जोगाइराख्न सत्ता हस्तान्तरणमा इमान्दारिता देखाए ।
‘हामीले स्पष्टसँग मुख्यमन्त्रीले राजीनामा नदिएपछि समर्थन फिर्ता लिने निर्णय उहाँलाई सुनाइसकेका थियौँ,’ कर्णालीका एक कांग्रेस नेताले कर्णाली खबरलाई भने, ‘समर्थन फिर्ता लिएपछि उहाँको सरकार अल्पमतमा परिहाल्थ्यो । फेरि अल्पमतको सरकारमा बस्नु, फेरि विश्वासको मत लिनु, फेरि संकट झेल्नु र धोका दिएको आरोप खेपिरहनुभन्दा राजीनामा दिएर चुनावका लागि पनि गठबन्धन बचाऔँ भन्ने धारणा उहाँमा आयो होला । ढिलै भएपनि सहमति मानेर सत्ता हस्तान्तरण गर्नुभयो । त्यही खुशीको कुरा हो ।’
जसकारण मुख्यमन्त्री शाही आफैले जीवन शाहीलाई फोन नै गरेर सहजै रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका हुन् । त्यसपछि जीवन शाही आफू नयाँ मुख्यमन्त्री बन्नेमा ढुक्क भए भने समयमै सत्ता हस्तान्तरण प्रक्रिया सहज बनेपछि नेता कार्यकर्तामा पनि बधाई र शुभकामना साटासाट गर्ने लहर चल्यो ।