काठमाडौँ - कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवन शाही आज मुख्यमन्त्री बन्दैछन् । प्रदेश प्रमुख गोविन्द कलौनीले आज बेलूकी ७ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझसम्म मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ क बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ ः ३० बजे राजीनामा दिएका थिए । प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिएका हुन् ।
विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली कांगे्रससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको वक्तव्यमा उल्लेख छ । प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको कांगे्रस सोही सहमतिअनुसार पहिलोपटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो ।
माओवादी केन्द्र, कांगे्रस र नेकपा एकीकृत समाजवादीबीच भएको सहमतिअनुसार कांगे्रस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।
माओवादी, समाजवादीको समर्थनमा आज रातीसम्म प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीलाई नियुक्त गर्नेछन् । नियुक्त भएपछि आज शपथ लिने तयारी कर्णालीका सत्तारुढ दलहरुमा छ ।