काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा फेरि सत्ता र शक्तिको दम्भात्मक प्रस्तुति दिएका छन । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले पुरानै रवाफ देखाएर दम्भात्मक शैली प्रस्तुत गरेका हुन ।
उनले भारतलाई हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी मात्रै दिएनन्, आफूलाई हटाएर प्रधानमन्त्री बन्ने सपना नदेख्न नेकपाकै अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाललाई समेत जवाफ फर्काए ।
संसदमा झण्डै दुई घण्टा बोलेका प्रधानमन्त्री ओलीले आफ्नो सत्ता र शक्ति स्वार्थलाई बचाउन मात्रै होइन, सरकारका नीति तथा कार्यक्रम र अहिले भइरहेका कामको राम्ररी बचाउमा समय खर्च गरे ।
नेपालको सत्ता पल्टाउने सपना नदेख्न विदेशीलाई चेतावनी
सम्बोधनको शुरुवातमा केही नरम देखिएका प्रधानमन्त्री केपी शर्मा ओली केही समयअघि नेकपाभित्र चर्किएको सत्ता संघर्षमा बोल्दा भने आक्रोशित बने । उनले नेपालको सत्ता कसैले चाहेर परिवर्तन नहुने र आफू जनताबाट दुई तिहाई मत ल्याएर प्रधानमन्त्री बनेको समेत बताए ।
आफूलाई सत्ताबाट हटाउने चलखेल शुरु भइसकेका बेला कुनै देशको राजदुतले आएर बचाएको टिप्पणी गरिएकाप्रति प्रधानमन्त्री ओलीले कडा शब्दमा खण्डन गरे । उनले आफूलाई हटाएर नेपालको सत्ता परिवर्तन गर्ने सपना नदेख्न काठमाडौँमा रहेका विभिन्न देशका राजदुतलाई समेत चेतावनी दिए ।
नेकपाभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउन चलखेल शुरु भएका बेला चिनिया राजदुत होउ यान्छीले सक्रियता बढाएकी थिइन । त्यतिबेला उनले प्रधानमन्त्री ओली, नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेर ओलीको सत्ता संकट टार्न निर्णायक भूमिका खेलेकी थिइन ।
राजदुत यान्छीको भूमिकालाई लक्षित गर्दै नेकपाकै शीर्ष नेता र विपक्षी कांग्रेसका नेताहरुले देशी विदेशीको आशीरवादले प्रधानमन्त्री ओली सत्तामा टिकेको आरोप लगाएका थिए । सोही टिप्पणीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले कसैलाई रिझाएर प्रधानमन्त्री बन्ने सपना नदेख्न चेतावनी दिएका हुन ।
काठमाडौँमा विगतको जस्तो अरु देशको राजदुतले सत्ता चलाउने, गलाउने, हटाउने, बनाउने कुरा अब सम्भव नभएको भन्दै नेपालको आन्तरिक राजनीतिमा खेल्ने सपना नदेख्न पनि विदेशी नियोग र शक्ति राष्ट्रका राजदुतलाई चेतावनी ओलीले दिए ।
अहिले अन्तराष्ट्रिय समुदायको विश्वास जितेर, छलफल गरेर आत्मीयता देखाएर भारतविरुद्धको माहोल तयार पार्नुपर्ने प्रधानमन्त्री ओली सत्ता रुझानमै आशक्ति देखाउन अभ्यस्त भएका छन । जुन उनको पुरानै दम्भी शैली हो । यसले देश र जनताप्रति भरोसा राख्दैन ।
आफूलाई टक्कर नदिन प्रचण्ड माधवलाई धम्की !
सांसदले उठाएका प्रश्नको जवाफ दिन रोष्ट्रममा उभिएका प्रधानमन्त्री ओलीले झण्डै आधा घण्टा आफ्नो सरकार र शक्तिको बखानमा समय व्यतित गरेका थिए । सत्ताको बचाउमा उनले आफ्ना सहकर्मी तथा प्रतिष्पर्धी प्रचण्ड र माधव नेपाललाई कडा रुपमा प्रहार गरे ।
उनले आफू जनताको भोटले प्रधानमन्त्री बनेको भन्दै कोठे छलफल गरेर प्रधानमन्त्रीबाट हटाउने सपना नदेख्न चेतावनी दिए । घुमाउरो शैलीमा उनले विगतमा पटक पटक सत्ता फेर्ने, सांसद किनबेच गर्ने, नौ नौ महिनामा सरकार फेर्ने कथा नेपाली जनताले देखेको र सुनेको भन्दै अब त्यसो गर्न सम्भव नभएको पनि स्पष्ट पारे ।
आफू पाँच बर्षको प्रधानमन्त्री भएको र यही अवस्थालाई अनुकुल पारेर बाँकी पाँच बर्ष पनि आफूले सत्ता सम्हाले प्रधानमन्त्री ओलीको कथन थियो । उनले घुमाउरो शैलीमा आफू नेपालको राजनीतिमा एक्लो बृह्स्पति भएको पनि जिकिर गरेका थिए ।
सत्ता फेर्ने प्रवृत्तिप्रति लक्षित गदै उनले बेलायती प्रधानमन्त्री विस्टन चर्चिलको उदाहरण दिएर आफूलाई जनताले पाँच बर्षका लागि चुनेको र अब जनताले मात्रै हटाउने सक्ने बताए । यसका लागि कसैले चलखेल गरेर सम्भव नहुने पनि प्रधानमन्त्रीे दाबी थियो ।
सोही क्रममा ओलीले अबको चुनावमा पनि आफू नै बिजय हुने र नेकपाको आगामी महाधिवेशनमा आफै अध्यक्ष बन्ने पूर्व संकेत समेत दिएका छन । यसका लागि माधव प्रचण्डले माग गरेको एक व्यक्ति एक पदको एजेन्डा आफूले स्वीकार नगर्ने ओलीको स्पष्टोक्ती छ ।
यो तर्कले ओलीलाई आफू सत्ता र पदको लोभी भएको देखाउँछ । उनले अरु नेताहरुका कुरा सुनेर निर्णय गर्न सक्ने भन्दै आफ्नै ढिपीले अरुलाई पछार्न खोज्ने व्यहोर दोहोर्याएका छन जुन उनका लागि फेरि पनि हानिकारक हुन सक्छ । यसअघि उनको यो दम्भकै कारण फेरि सत्ता झण्डै फुत्किएको थियो ।
भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याइन्छ
संसदमा नयाँ जोश र जाँगरका साथ प्रस्तुत भएका प्रधानमन्त्री ओलीले भारतसँग नयाँ शिराबाट वार्ता शुरु हुने छनक पनि दिए । संसदमा सम्बोधन गर्नुअघि भारतले मिचेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा जारी गरेका प्रधानमन्त्री ओलीले आफ्नो काम ऐतिहासिक भएको सगौरव घोषणा गरे ।
नेपालको भूमिलाई नसमेटिएको नक्सा चलाउँदै आएको प्रसंग कोट्याउदै उनले पुर्खाले आर्जेको देशको सीमालाई न्याय गर्न नक्सा बल्ल जारी गरिएको बताए । निकै लामो समयदेखि नेपालको नक्सामा लिम्पियाधुरा थिएन । लिपुलेक र कालापानी समेटिएपनि लिम्पियाधुरा नभएको भन्दै धेरै इतिहासकारले असन्तुष्टि जनाउदै आएका थिए ।
तर सो असन्तुष्टि प्रधानमन्त्री ओलीले नेपालको गौरवमा परिणत गरेका छन । नक्सा जारी गरेको तमासाका लागि होइन भन्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेरै छाड्ने दाबी गरे । यसका लागि कुनै डर, त्रास, चिन्ता र समस्या नभएको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।
आफूलाई राष्ट्रवादीको ट्याग लगाउनेले राष्ट्रवादको खिल्ली उडाएको भन्दै प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रवादमाथि निम्छरा शब्द प्रयोग नगर्न चेतावनी समेत दिए । उनले नेपाली भूमि फिर्ताका लािग जस्तोसुकै कदम चालिने र भारतसँग यसको जवाफ नभई नेपाली भूमि फिर्ताका लागि अल्टिमेटम समेत दिने बताए ।
भारतसँग ओली जति कडा हुन्छन, जनता उनको साथमा भएको देखिन्छन । तर वास्तविकता त्यो मात्रै पनि होइन । अमेरिकालाई समेत टक्कर दिने भारत र चीनले चाहेको खण्डमा नेपाललाई बाँकी राख्न सक्दैनन् ।
यस्तो अवस्थामा ओलीले नरम प्रस्तुती शैली देखाएर भारतसँग कुटनीतिक क्षमतामाथि टेकेर वार्ता र छलफल बढाउनु आवश्यक हुन्छ । तर यो सुझाव उनी मान्न तयार देखिदैनन् ।
ह्रवीप लगाएर भएपनि एमसिसी पारित गरिन्छ
प्रधानमन्त्री ओलीले अमेरिकी सरकारको मिलिनियम कर्पोरेशन च्यालेन्जिंग फण्ड एमसिसी संसदले पारित गर्ने बताएका छन । संसदमा छलफलमा रहेको एमसिसीलाई सांसदले पािरत गर्ने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरे । तर केही सांसदको असन्तुष्टि र टिप्पणीमाथि जवाफ दिदै प्रधानमन्त्री ओलीले एमसिसी झस्केला अर्थात चोरबाटोबाट नभई संसदकै मूलबाटो पारित गरिने पनि बताए ।
नेपालका ट्रान्समिसन लाइन निर्माण गर्न ठूलो बजेट आव्श्यक रहेकाले यसका लागि एमसिसीको बजेट स्वीकार गरिएको पनि प्रधानमन्त्री ओलीको दाबी छ । एमसिसी अघिल्लो सरकारले ल्याएकाले यसमा आफूलाई दोष नथोपर्न पनि प्रधानमन्त्री ओलीले जिकिर गरे ।
विधिपूर्वक संसदमा ल्याइएको एमसिसी प्रक्रिया पुर्याएरै पारित गर्ने भन्दै संसदमा आवश्यक परे ह्वीप लगाइने पनि उनले बताए । संसदमा आफ्नो बहुमत रहेकोतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएरै संसदले पारित गर्ने विश्वास व्यक्त गरे ।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेकपा नेता भीम रावलले एमसिसी झस्केलाबाट पारित गर्न खोजेको भन्दै प्रश्न गरेका थिए । खासगरी सरकारप्रति तिखो टिप्पणी गर्ने कांग्रेस युवा नेता गगन थापा र नेकपा नेता रावलप्रति प्रधानमन्त्री ओलीले पनि कडै जवाफ फर्काएका छन ।
थापाको प्रश्नमा जवाफ दिदै प्रधानमन्त्री ओलीले नेपालको नक्सा तमासा देखाउन नभई नबनाएको भन्दै नेपाली भूमि फिर्ता गरेर छाड्ने बताए । हिजोको संसद बैठकमा गगन थापाले सीमामा अलपत्र नेपाली ल्याउन नसक्ने सरकारले मासिएको भूमि ल्याउँछ भनेर रत्तिभर विश्वास नभएको बताएका थिए ।
साथै प्रधानमन्त्री ओलीले विदेशमा अलपत्र नेपालीलाई प्रक्रिया र सावधानी पुर्याएर ल्याउने बताएका छन । भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा चीनसँग पनि कुरा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन ।
प्रधानमन्त्रीको ओलीको कार्यशैलीप्रति आक्रोशित भएका नेताहरु सरकारको ध्यानाकर्षण गराउँछन । जनताप्रति उत्तरदायी हुन बाध्य पार्छन । तर प्रधानमन्त्री ओलीले आफू देश र जनताप्रति उत्तरदायी हुनेभन्दा कुटिल शैली अपनाएर सत्तामा टिकिरहन चाहन्छन ।
जनता समस्यामा परेको, अफ्ठ्यारोमा परेको, सीमामा सास्ती भएको कुरालाई नरम रुपमा स्वीकार गरेर सबैको साथ सहयोगबाट उद्धार गर्नुको साटो ओली विपक्षीप्रति कडा रुपमा प्रस्तुत भएर समस्यामा परेकाहरुको समस्यालाई पनि ओझेलमा पार्ने गर्छन । जसले उनले गरेका राम्रा काम पनि सधै ओझेलमा पर्ने गरेका छन । यसले प्रधानमन्त्री ओलीलाई सधै राजनेता बन्नबाट रोकिरहन्छ ।