फोटो स्रोत : कर्णालीका निवर्तमान मुख्यमन्त्री महेन्द्र शाहीको सचिवालय
सुर्खेत : प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट नियुक्त भई शपथग्रहणलगत्तै नवनियुक्त मुख्यमन्त्री जीवन शाही निवर्तमान मुख्यमन्त्री महेन्द्र शाहीको अंगालोमा बेरिएका छन् । मंगलबार राती मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख कलौनीबाट शपथ लिएका थिए । त्यसअघि प्रदेश प्रमुख कलौनीले नै शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र हस्तान्तरण गरेर फूलमाला लगाई बधाई दिएका थिए ।
प्रदेश प्रमुख कलौनीकै कार्यालयमा मुख्यमन्त्रीको शपथ लिएलगत्तै जीवन शाही निवर्तमान मुख्यमन्त्री शाहीको अंगालोमा पुगेका हुन् । शपथ लिएपछि निवर्तमान मुख्यमन्त्री शाहीले नवनियुक्त मुख्यमन्त्री जीवन शाहीलाई बधाई दिएका थिए । बधाईलगत्तै मुख्यमन्त्री शाहीले महेन्द्र शाहीसँग अंकमाल गरेका थिए ।
जबकी उनलाई फूलमाला लगाएर बधाई दिन कर्णालीका सभामुख राजबहादुर शाही पर्खिरहेका तस्बिरमा देखिन्छ । उनले फूलमाला लगाउनै नपाई मुख्यमन्त्री शाही निवर्तमान मुख्यमन्त्रीको अंगालोमा कस्सिन पुगेका हुन् ।
प्रोटोकल अनुसार विशिष्ट किसीमका भेटघाटमा सामान्यतया हात मिलाइन्छ । नेपाली मान्यताअनुसार अझ हात मिलाएसँगै हँसिलो मुख लगाएर बधाई ज्ञापन गरिन्छ । तर विदेशी संस्कृतिमा भने हात मिलाएपछि अंकमाल अर्थात हग गर्ने गरिन्छ ।
तर नेपालमा उच्च तहका सरकारी व्यक्तित्वहरुले नमस्कार गर्ने, हात मिलाउने मात्रै गर्छन । तर कर्णालीका मुख्यमन्त्री शाही शपथलगत्तै निवर्तमान मुख्यमन्त्रीको अंगालोमा पुग्नु आत्मियता हो । पूर्व सहमतिअनुसार ६ महिनापछि सत्ता हस्तान्तरण गरेपछि मुख्यमन्त्री शाहीले निवर्तमान मुख्यमन्त्री शाहीसँग अंकमाल हालेर खुशी साटेको देख्न सकिन्छ ।
यसरी सत्ता हस्तान्तरण गर्दा निवर्तमान मुख्यमन्त्री शाही सत्ताधारी दलकै शक्तिशाली नेता एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कायम छन् । बहुमतका हिसाबले मुख्यमन्त्री कांग्रेसका शाहीभन्दा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्र शाही शक्तिशाली छन् ।
उनले मन्त्रालयमा बढीमा चार जनासम्म मन्त्री पाउन सक्छन् । तर मुख्यमन्त्री भएपनि जीवन शाहीले कांग्रेसबाट एक वा दुई जनालाई मन्त्री बनाउन सक्नेछन् । यसकारण पनि उनीहरुले अंकमाल आत्मियता र सत्ता सहयात्राको खुशियाली हो ।
प्राय नेपालमा वा विदेशमा सत्ता छाडेका कार्यकारी प्रमुख विपक्षी दलको नेतामा सीमित हुने गरेका छन् । कर्णाली बाहेक अरु प्रदेशमा निवर्तमान मुख्यमन्त्रीहरु प्रतिपक्षी दलका सीमित भइरहेका उदाहरण प्रशस्त छन् ।