सिमकोट : ‘डाक्टर, पाइलट, इन्जिनियर भएर ठुलो मान्छे बन्नु’ उबेला मात्रै होइन अहिले पनि दसैँमा मान्यजनको आशीर्वाद हो । यहिँ आशीर्वादको श्रद्धेय हुन् कर्णाली प्रदेश सरकारका भर्खरै नियुक्त मुख्यमन्त्री जीवनबहादुर शाही ।
‘कर्णाली’को नाम सुन्न वित्तिकै अझै पनि काठमाडौंका मान्छेहरु तर्सिन्छन् । सधैं रोग, भोक र अभावले सताइरहेको कर्णालीका मान्छे अशिक्षित छन् भन्ने सोच राख्ने गरेका छन् ।
यहिँ सोचलाई परास्त गर्दे ‘कर्णालीबाट पाइलट, डाक्टर, इन्जिनियर बन्न सक्छन्, आँटो खाएर फाँटो लगाएर गतिलो शिक्षा आर्जन गर्न सक्छन्’ भन्ने जीवन शाही हुन् ।
साविक हुम्लाको खार्पुनाथ गाउँ विकास समितिको वडा नम्बर ५ को खर्पेलगाउँमा विसं २०१९ साल फागुन १९ गते साविकै छिप्रा गाउँमा रहेको मावली घरमा बुवा मानबहादुर शाही र आमा देलकली शाहीको कोखबाट जन्म लिए ।
प्रारम्भिक शिक्षा जन्मेको गाउँ र सिमकोटमा लिए पनि शाही केही समयपछि काठमाडौंको बूढानीलकण्ठमा विद्यालय तहको शिक्षा आर्जन गरे । काठमाडौं अध्ययनका क्रममा करातेमा ‘ब्ल्याकबेल्ट’ विद्यालयमा अध्ययन गर्दा तत्कालिन युवराज दीपेन्द्रको मार्सल आर्टको गुरु, ज्यामेस्टिकमा दक्ष, भलिबलमा लगायतका खेलमा उनको दक्षता उत्तिकै थियो । पढाइतिर अंग्रेजीमा राम्रो दखल भएका जीवन शाहीले भलिबलमा त साविकको कर्णाली अञ्चल प्रतियोगितामा सहभागिता जनाए ।
उनी विद्यालय तहको अध्ययनपछि पाइलट अध्ययनका लागि अमेरिका पुगे । पाइलट कोर्स पुरा गरेर केही समय अनुभव बटुल्दै उक्त पेशालाई विट मारेर २०४६ सालमा नेपाली कांग्रेसको राजनीतिमा होमिए ।
राजनीतिले खासै महत्व नपाएको हुम्लाबाट नेपाली कांग्रेसको संस्थापक सभापति बन्न सफल भए । तत्कालिन अवस्थामा हुम्लामा कांग्रेसको वाममोर्चा साइनबोर्ड बनाएर पार्टी कार्यालय समेत स्थापना गराएका थिए ।
२०४६ सालदेखि २०६२ सालसम्म उनी नेपाली कांग्रेस हुम्लाको पार्टी सभापति निरन्तर पदमा रहिँरहे । २०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापतिमा पराजित शाही २०५५ सालमा भएको स्थानीय निर्वाचनबाट सभापतिमा निर्वाचित भए ।
तत्कालिन जिल्ला विकास समितिको सिमित साधन र श्रोतबाटै भएपनि सिमकोट हिल्सा सडकका परिकल्पना गर्न पुगे । उनलाई अहिले पनि सिमकोट हिल्सा सडक कारका परिकल्पनाकार भनिन्छ । २०५५ सालतिरै हुम्लामा एक घर एक शौचालयको अवधारणा ल्याएका थिए । भलै त्यसले मुर्तरुप पाउन २०७४ सालसम्म लाग्यो ।
२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेद्धारसँग पराजित भए । तर, २०६९ सालसम्म उनले हिल्सा सडकको निर्माण कार्यमा आफै जुटेर पाँच महिनासम्म डोजर सञ्चालन गरेर सडक निर्माण कार्यमा खटिदाको अनुभव सुनाउँदै उनले त्यतिबेला धेरैबाट धेरै कुरा सुन्नु परेको गुनासो पोखेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले २०७० सालमा सम्पन्न दोस्रो संविधान सभामा हुम्ला जिल्लाबाट निर्वाचित भएपछि संसदमा सबै भन्दा धेरै दिन उपस्थित हुने सांसदको रुपमा देखापर्न सफल भए । यो अवधिमा उनी संसदको विकास समितिको सदस्यमा रहँदा कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्न तत्कालिन सरकारसँग ठुलै लविङ गर्नु परेको उनले जीवन शाहीले बताए ।
२०७३ सालमा देशको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खानेपानी मन्त्री समेत भए । २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश भर नेपाली कांंग्रेसको तर्फबाट उनी मात्रै निर्वाचित भए । हुम्लाको क्षेत्र नम्बर ‘ख’बाट उनी निर्वाचित भएका हुन् । स्पष्ट धारणा राख्न सक्ने शाहीबाट कर्णाली प्रदेशवासीले ठुलो अपेक्षा राखेका छन् । उनले समय छोटो काम गर्नुपर्ने धेरै भएको कारण चुनौती र अवसरकाबीच काम गर्नुपर्ने छ ।
अन्य नेताभन्दा जीवन शाही बढी भिजिनरी नेता हुन् । अन्तराष्ट्रियस्तरको शिक्षा र कर्णालीको सम्भावनालाई थप उजागर गर्न सक्ने क्षमताका नेता हुन् । उनको क्षमता देखाउने पालो कर्णालीले पाएको छ ।