नेपालगञ्ज, ७ जेठ । मंगलबार राति ३६ घण्टापछि बाँके नरैनापुरका ५९ जना कोरोना संक्रमितलाई नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा बनाइएको आइसोलेसनमा ल्याइएको छ ।
ई नेपाली सेना र एक गैरसरकारी संस्थाको एम्बुलेन्सले उनीहरुलाई मंगलबार राति अबेर नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा ल्याइएको हो ।
तर ५९ जना संक्रमित र एकजना सात महिने शिशुसहित ६० जनालाई २५ वटा बेडमा राखिएको त्यहाँका संक्रमितले टेलिफोनमा बताएका छन् । बेड नभएका कारण कतिपय संक्रमित भुइँमै सुते भने कतिपय बरण्डामा सुतेका छन् ।
५९ जनामध्ये एक महिलाको सात महिने छोरा पनि आमासँगै आएका छन् । घरमा हेरचाह गर्ने मानिस नभएको भन्दै संक्रमण नै नभएको शिशुलाई संक्रमित आमासँगै बस्दै आएका छन् ।
डेन्टल अस्पतालको दुई वटा हलमा बाँकी बेड बुधबारसम्म बनाइसकिने स्वास्थ्य कार्यालय बाँंकेका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
स्रोतका अनुसार उक्त डेन्टल हस्पिटलमा खटाइएका स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीईको व्यवस्था समेत छैन । आइसोलेसनमा राखिएकामध्ये ६–७ जनामा ज्वरो र चक्कर लाग्ने जस्ता समस्या देखिएको र बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नरैनापुरकै एक पुरुषको क्वारेन्टाइनमै रहेका बेला समयमै उपचार नपाएर ज्यान गएको थियो ।
प्रदेश ५ मा कोरोना संक्रमितलाई उपचारका लागि राख्ने आइसोलेसन अस्पतालको अभाव खड्किएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाएका चार वटामध्ये तीनवटामा बेड खाली छैनन् ।
बुटवलको धागो कारखाना, भैरहवाको भीम अस्पताल, नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनेका आइसोलेसन बेडहरु संक्रमितले भरिएका छन् ।
दाङ बेलझुण्डीको आयुर्वेद अस्पतालमा पनि केही बेडमात्र बाँकी छन् । प्रदेश ५ का चारवटा कोरोना विशेष अस्पतालमा आइसोलेसन बेड संख्या १ सय ८४ छन् ।
मंगलबारसम्म ९९ जना कोरोना संक्रमित र १ सय ९५ जना कोरोना शंकास्पद बिरामी भर्ना भएर उपचार गराइरहेका छन् । प्रदेश ५ मा अझै ११ सय जनाको आरटी पीसीआर रिपोर्ट आउन बाँकी छ ।