काठमाडौं: हाम्रो खानामा अनिवार्य हुन्छ नुन । नेपालीहरू स्वादे जिभ्रो हुने नाममा थुपरीमाथि थुपरी नुन खान्छौं । नुनमा पाइने सोडियमले रक्तचाप बढाउँछ जसले मुटुरोग र हृदयघात निम्त्याउँछ ।
चाहे तरकारी होस्, दाल होस्, अचार होस् या जुनसुकै खानेकुरामा नुन चाहिन्छ । तर, चिकित्सकहरू भन्ने गर्छन्, ‘नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । नुनको मात्रा धेरै हुँदा स्वास्थ्यमा असर गर्छ ।’
नुन रासायनिक पदार्थ हो । यसको रासायनिक नाम ‘सोडियम क्लोराइड’ हो । यो ‘सोडियम’ र ‘क्लोराइड’ नामक अणुहरु मिलेर बनेको हुन्छ । तौलको हिसाबले नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ ।
नुन मान्छेको शरीरका लागि अत्यावश्यक पदार्थ हो । प्रकृतिमा नुन विभिन्नरुपमा रहेको हुन्छ । यो उच्च हिमाली चट्टानहरुभित्र ढिक्के नुन खानीका रुपमा पनि पाइन्छ । यस्तै समुद्रको पानीमा नुन अत्यधिक मात्रा घुलिएको अवस्थामा रहेको हुन्छ । सामान्यतया एक लिटर समुद्री पानीमा ३५ ग्राम नुन पाइन्छ । मृत सागरको पानीमा सबैभन्दा धेरै नुन हुन्छ, जसले गर्दा त्यहाँ कुनै पनि जीव बाँच्न सक्दैन ।
नुनले खानाको स्वाद बढाउँछ । मान्छेको रगतमा नुन भएको हुनाले यो नुनिलो हुन्छ । बाघ, आदि जंगली जनावरले एकपल्ट मान्छेको मासु खायो भने मीठो स्वादका कारण त्यो पल्किन्छ र बराबर मान्छेकै सिकार गर्न खोज्छ ।
हुन त सोडियम शरीरलाई नभई नहुने पदार्थ हो । यसले शरीरमा पानीलाई बाँधेर राख्छ अनि कोषिकाहरूबीचका तरल पदार्थलाई सन्तुलनमा राख्छ । यसले कोषिकाहरूको विद्युतीय गतिविधिलाई कायम राख्न पनि मद्दत गर्छ जसले गर्दा नसा, मांसपेशी र शरीरका अन्य अंगका गतिविधि सुसञ्चालन हुन्छन् ।
तर यही सोडियम धेरै लिइयो भने रक्तचाप बढ्छ र मुटुलाई सबैतिर रगत पु-याउन अतिरिक्त मेहनत गर्नुपर्छ । उच्च रक्तचापले मुटुरोग, मृगौला रोग जस्ता जटिल बिमारीहरू निम्त्याउँछ ।