काठमाडौँ । नेपालको राजधानी काठमाडौँ कोरोनाको हटस्पट बन्दै गएको छ । अहिलेसम्म जम्मा १० जनामा देखिएको कोरोना संक्रमण मंगलबार मात्रै ३ जना र बुधबार थप दुई जनामा पुष्टि भएको छ । ३ बर्षीय बालकदेखि ८१ बर्षीय बृद्धासम्म काठमाडौँका संक्रमित रहेका खुलेको छ ।
तर सरकारले अझै पनि काठमाडौँका खासखास क्षेत्रका संक्रमितका बारेमा जानकारी दिएको छैन । मंगलबार काठमाडौँमा तीन जना, ललितपुर र भक्तपुरका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा ललितपुरका संक्रमित टेकुका विशेषज्ञ डाक्टर हुन । जो नेपालकै पहिलो संक्रमित डाक्टर हुन पुगेका छन ।
यस्तै तीनजनामध्ये बनस्थलीमा रहेका तीन बर्षीय बालक छन । जसको स्थायी घर लमजुंग भनिएको छ । बालकमा देखिएको कोरोना कुन अभिभावकबाट सरेको हो ? भन्ने पुष्टि हुन बाँकी छ । तर सो घरका परिवारमध्ये कसै न कसैलाई कोरोना संक्रमण भएकै देखिन्छ ।
मंगलबार नै बागबजारमा भेटिएका कोरोना संक्रमित प्रेसका कामदार हुन । प्रेसमा काम गर्ने उनले दैनिक कति काम गर्थे ? र कहाँ कहाँ पुग्थे भन्ने खुल्न बाँकी छ । तर काठमाडौँको मुटु भनिएको बागबजारबाट कोरोना कहाँ कहाँ फैलियो भन्ने कुरा केही दिनमा पत्ता लाग्नेछ ।
सिनामंगलमा भेटिएका कोरोना संक्रमित केही दिनअघि रौतहट पुगेका खुलेको छ । आफ्नी छोरीलाई लिन भने रौतहट पुगेका उनलाई रौतहटमै कोरोना संक्रमण भएको आशंका गरिएको छ । घरमै बसिरहेका उनले परिवार र छरछिमेकका अरु क कसलाई कोरोना सारे ? त्यो खुल्न बाँकी छ । तर सिनामंगल क्षेत्र उनको कारणले त्रस्त बनेको छ ।
यस्तै मंगलबार नै तारकेश्वरमा भेटिएका संक्रमित केही दिनअघि विराटनगर पुगेको खुलेको छ । उनी विराटनगरबाटै संक्रमित भएको आशंका गरिएको छ । विराटनगर पुगेर फर्केपछि उनी कहाँ कहाँ पुगे ? क कसलाई भेटे ? यसले को कोलाई कोरोना सरेको होला ? भनेर थप चिन्ता थपिएको छ ।
यस्तै बुधबार मात्रै कालिमाटीमा प्रहरी बृत्तमा भेटिएका दुई प्रहरी संक्रमितले झन भयावह अवस्था ल्याएका छन । अहिले दुई जना मात्रै संक्रमित भेटिदा कालिमाटीका पुरै प्रहरी क्वारेन्टाइन पठाइएको छ ।
यसअघि काठमाडौँका कपन, ढुढानिलकण्ठ, ललितपुरको पुल्चोक, भक्तपुरका विभिन्न ठाउँमा कोरोना देखिसकेको छ । यसले काठमाडौँ अब कोरोनाको नयाँ हटस्पट बन्दै जाने पक्का छ ।
काठमाडौँ कहिले सिल गर्ने सरकार ?
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस नियन्त्रणको पहिलो र अन्तिम उपाय भनेको लकडाउन हो । तर लकडाउनले पनि नेपालमा संक्रमण फैलावटलाई रोक्न सकेको छैन । सोमबार कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण देखिदा दैलेखको आठबीसकोट नगरपालिका सिल गरियो ।
काठमाडौँमा संक्रमण देखिएको ठाउँमा पनि सरकाले लकडाउनसँगै सिल गर्ने गरेको छ । त भित्रभित्रै फैलिरहेको कोरोना नियन्त्रणमा सरकारले खासै चाँसो दिइएको पाइएको छैन । एकपछि अर्को गरी कोरोना संक्रमण देखिदा पनि सरकारले व्यवहारमा लकडाउनलाई नै कसिलो पार्न सकेको छैन ।
अहिलेसम्मको तथ्यांक हेर्दा काठमाडौँको पेप्सीकोला, बागबजार, सिनामंगल, ललितपुको पुल्चोक, काठमाडौँको कपन, तारकेश्वर, बनस्थलीमा संक्रमित देखिसकेका छन । काठमाडौँका चोक चोकमा संक्रमित देखिन थालेपछि काठमाडौँ सिल गर्नुपर्ने हो । तर सरकारले अहिलेसम्म सिल गर्नु परको कुरा कोरोना संक्रमितको बारेमा पर्याप्त जानकारी दिन कन्जुस्याई गरिरहेको छ ।
यसले काठमाडौँ उपत्यकामा रहेकालाई थप चिन्ता र द्धिविधा थपिएको छ ।
कोरोनाको हटस्पट बन्दै
यसअघि उदयपुर, बाँकेको नेपालगञ्ज, पर्साको विरगञ्ज, कपिलबस्तु, नवलपरासी कोरोनाको केन्द्रबिन्दु बनेका थिए । तर पछिल्लो तथ्यांक हेर्दा अब तराईका जिल्ला मात्रै होइन, पहाडी जिल्ला काठमाडौँ उपत्यका नै कोरोनाको हटस्पट बन्ने लगभग पक्कापक्की छ ।
अबको एकदेखि दुई हप्तामा यही रफ्तारमा कोरोना परीक्षण भएमा काठमाडौँ कोरोनाको हटस्पट बनिसक्नेछ । मानिसहरुले लकडाउन पालना गर्नेभन्दा बाहिर हिड्ने, आफ्नो दैनिकीमा कुनै परिवर्तन नगरेकाले पनि काठमाडौँमा कोरोना छिटो फैलिने सम्भावना बढेको छ ।
झण्डै ४० लाख जनसंख्या रहेको काठमाडौँमा कोरोना फैलिएमा नियन्त्रण गर्न भने निकै चुनौति छ । काठमाडौँमा सुविधासम्पन्न अस्पताल भएपनि जनघनत्व धेरै भएकाले एकदेखि अर्को व्यक्तिमा छिटो सर्ने सम्भावना छ । अमेरिकाको न्युयोर्क, भारतको महाराष्ट्र, बेलायतको लण्डन लगायतका देशलाई हेर्दा पनि जनघनत्व धेरै भएका शहरमा कोरोना छिटो फैलिने गरेको छ ।