काठमाडौ । नेपालले नयाँ नक्सा जारी गरेपछि भारतमा तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दै नक्सामा जसरी भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्ने सगौरव घोषणा गरेलगत्तै भारतमा तहल्का मच्चिएको हो ।
भारतीय मिडियाले नेपालले आफ्नो भूमि लिने घोषणा गरेको भन्दै चर्कोसँग नेपालको भत्र्सना गरेका छन । उनीहरुले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने कुरा बिर्सिएर केही समयअघि भारतले सार्वजनिक गरेको नक्साअनुसार नै सो भूमि भारतको हो भन्ने दाबी गरिहेका छन ।
भारतले कैलाश मानसरोवर जोड्ने सडक बनाएपछि अहिलेको विवाद उत्पन्न भएको हो । यसअघि भारतले नयाँ नक्सा सार्वजनिक गर्दा नेपालले उचित पहल नथाल्नु नै अहिलेको कमजोरीका रुपमा देखा परेको छ । ढिलै भएपनि सरकारले नयाँ नक्सा जारी गरेर केही साहस देखाएको छ ।
तर यो सिर्फ राष्ट्रवादी बन्नका लागि मात्रै हो वा भारतसँग युद्ध लडेरै भएपनि नेपाली भूमि फिर्ता गर्ने हो भन्ने कुरा ओलीको बोलीलाई मात्रै पत्याउन सक्ने आधार छैन । यसका लागि अझै केही बर्ष कुर्नुपर्छ ।
कालापानीमा काश्मिरको खतरा !
जम्मु काश्मिर भारत र पाकिस्तानबीचको लडाईको सीमारेखा हो । भारत प्रशासित काश्मिरलाई पाकिस्तानले पनि आफ्नो दाबी गर्ने गरेको छ । गएको बर्ष भारतले काश्मिरलाई संवैधानिक रुपमै आफ्नो घोषणा गर्यो । उसले काश्मिरलाई दिएको स्वतन्त्र राज्यको संवैधानिक व्यवस्था खारेज गरिदियो ।
यो व्यवस्था खारेज भएसँगै काश्मिर अब भारतकै भएको छ । यसले पाकिस्तान रिसाएको मात्रै छैन । संयुक्त राष्ट्रसंघसम्म यो मुद्दा पुर्याएर यसमा हिसाबकिताब गर्न खोजिरहेको छ । तर दक्षिण एसियाकै बलवान भारतका सामु परमाणु अस्त्रसम्पन्न पाकिस्तानको पनि केही सीप लागेको छैन ।
भारत र पाकिस्तानको मुख्य लडाईको मैदान बनेको जम्मु काश्मिरजस्तै कालापानी र लिपुलेक नेपाल र भारतको लडाईक्षेत्र बनेका छन । भारतले गएको बर्ष नै नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेको हो ।
यो उसको पहिलो कदम थियो । भारतले आफ्नो भूमि दाबी गर्ने औपचारिकता नक्साबाट लिइसकेको थियो । जसअनुसार गएको महिना भारतले लिपुलेक हुँदै चीन कैलाश मानसरोवर जाने सडक उद्घाटन गर्यो । यो उसको दोस्रो कदम हो । यसपछाडी निकै दबाबमा परेको नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ ।
नेपालले पहिलेदेखि नै सो भूमि आफ्नो दाबी गर्दै आएको छ । तर नेपालको भूमि भनिएपनि त्यहाँ भारतीय सेना छ । भारतीय सेनाको सुरक्षाघेरामा रहेका नेपालीले आफ्नो देशबाट पाउने अभिभावकीय सुरक्षा पाउन सकेका छैनन् । नेपालले बल्ल बल्ल सशस्त्र प्रहरी पठाएर बल गर्न खोजेको छ । तर त्यो पर्याप्त छैन । अहिले नक्सा बनाएप्नि त्यो नेपालका लागि कठिन चुनौतिको पहाड बन्ने छ ।
चीनको मौनता चिन्ताजनक !
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरे । लगत्तै भारतीय मिडियामा प्रतिशोधको आगो बल्यो । अहिले पनि बलिरहेकै छ । भारतीय मिडियाले आफ्नो भूमि नेपालले आफ्नो दाबी गरेको झुट बताइरहेपनि भारत सरकार चुप छ ।
प्रधानमन्त्री ओलीले संसदमा नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरेको केहीबेरमै चीनले आफ्नो मुख खोलेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले कालापानी लिपुलेकको मुद्दा चीनको नभएको स्पष्टोक्ति दिएका छन ।
उनले यो विषय भारत र नेपालको भएकाले छलफल र वार्तामार्फत समाधान गर्नुपर्ने सुझाव दिएका छन । चीनको यो बोलीले कालापानी लिपुलेकमा उ मौन छ । चुपचाप बस्न चाहन्छ । यसअघि लिपुलेकमा भारत र चीनका सेनाबीच गोली समेत हानाहान भएको थियो । तर पछि सहमति भयो ।
सहमतिपछि भारतले चीनसँग लड्न सकेको छैन । उसले नेपालतर्फ गिद्धेनजर लगाएको छ । तर यो अवस्थामा नेपाल चीनको साथ खोजेपनि त्यो जम्मु काश्मिरकै जस्तो अवस्था छ । जम्मु काश्मिरमा पाकिस्तानले नेपाल र चीनको साथ खोज्यो । खोजिरहेकै थियो । तर नेपाल र चीन सधै भारतको पक्षमा उभिए ।
अब कालापानी र लिपुलेकमा नेपालले सधै चीनको साथ खोज्नेछ । तर चीन सधै भारतको पक्षमा उभिनेछ । फेरि त्यसमाथि भारतबाट कैलाश मानसरोवर जाने सडक निर्माण भएपछि यसले चीनलाई प्रत्यक्ष फाइदा पुगेको छ । चीनको पर्यटन बजारमा ठूलो फाइदा पुगेको छ ।
यस्तो अवस्थामा चीन चुपचाप लाग्नु आफ्नो शैलीको बाध्यता हो । तर नेपाललाई भने चीनको मौनताले ठूलो फरक पर्छ । चीनको साथ बिना नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नु त के त्यहाँ सीमामा आफ्नो सुरक्षार्थ सेना समेत राख्न हिम्मत गर्न सक्दैन ।
अहिले राखिएको सशस्त्रको बिओपी चौकी सीमा भन्दा धेरै टाढाको क्षेत्र हो । जो नेपालको उपस्थिती मात्रै हो । भारतले मिचेको ठाउँमा नेपाली सेना र सुरक्षाकर्मी पुग्नै सकेका छैनन् ।
ओलीको असली राष्ट्रवाद
भारतीय नाकाबन्दीताका भारतकै विरोध गरेर ओली नेपालको राज्यसत्तामा पुगेको पूरा दुनियाँलाई छ । भारतकै विरोध गरेर कट्टर राष्ट्रवादी नेता बनेका ओली पछिल्लो समय भारतसामु लम्पसार परेको आरोेप पनि लाग्ने गरेको छ ।
भारतले नेपाली भूमि समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपालले एउटा वक्तव्य मात्रेै निकाल्न सक्यो । ओलीले दुई शब्दमा पनि भारतविरुद्ध बोल्न सकेनन् । त्यसैको फाइदा लिदै मोदीले नेपालको छातीमा डोजर चलाएर चीन जोड्ने सडक बनाए ।
यसले ओलीलाई फेरि राष्ट्रवादी नेता बन्ने अवसर ल्याएको छ । बदलामा ओलीले आफ्नो आधिकारिक नक्सा मन्त्रिपरिषद बैठकबाट पारित गरिसकेका छन । एक दुई दिनमा नक्सा नै सार्वजनिक हुनेछ । नयाँ नक्सा सार्वजनिक भएपछि भारतीय कुना कुनामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको ठहरिनेछ ।
नक्सा बनाएसँगै ओलीले नेपाली भूमि भारतीय कब्जाबाट फिर्ता ल्याउने घोषणा गरिसकेका छन । यस्तो अवस्थामा कसरी ओली सर्वशक्तिमान भारतसँगको नेपाली भूमि ल्याउन सक्लान ? आम चाँसो र चिन्ताको विषय बनेको छ । बाँकी दुई बर्षमा ओलीले साच्चिकै नेपाली भूमि भारतबाट फिर्ता ल्याउन सक्लान ? त्यो हेर्न अझै केही बर्ष कुर्नुपर्नेछ ।