सिमकोट: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाबाट भएको क्षेती अनुगमन गर्न हुम्ला जाने भएका छन् ।
जिल्लाका सबै गाउँपालिकामा बाढी पहिरोले पुर्याएको क्षेतीको हेलिकोप्टरबाट उनले अनुगमन गर्ने कार्यक्रम रहेको हो ।
मुख्यमन्त्री शाही आइतबार दिउसो हुम्ला आउन लागेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
उनी सुर्खेतबाट हेलिकोप्टरमा आएर खार्पुनाथ गाउँपालिकाको वडा नम्बर २ को थाली गाउँमा पहिरोले पुर्याएको क्षेती अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो गाउँमा स्थानीयका घर, खेतीपाती र खानेपानीका योजनामा ठुलो क्षेती पुगेको छ ।
त्यसपछि उनी हेलिकोप्टरबाट सिमकोट आएर बास बस्ने कार्यक्रम रहेको छ । कात्तिक २२ गते उनी हेलिकोप्टरबाटै अदानचुली र ताँजाकोट गाउँपालिकामा पुगेको क्षेतीको पनि अवलोकन कार्यक्रम रहेको ।
मुख्यमन्त्री भएपछि यो उनको पहिलो जिल्ला अनुगमन भ्रमण हो । जुन आफ्नै गृह जिल्लाबाट सुरु भएको छ । गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाले जिल्ला भरि आठ करोड भन्दा बढी क्षेती पुगेको थियो । जिल्लाबाट यो क्षेतीको बिबरण आउने क्रम जारी रहेको कारण क्षेती अझै बढ्ने देखिएको हो ।
वर्षाबाट माटोको ढिस्को खस्दा खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा एक घर पुरिदा दुई परिवारका छ जनाको ज्यान गएको थियो । जुन गाउँ मुख्यमन्त्री शाहीको घर हो । १२ वटा चौपाया मरेका छन् । कात्तिक १४ गतेसम्म प्रहरी मुचुल्काका आधारमा प्राप्त क्षेतीको बिबरण अनुसार आठ करोड आठ लाख १५ हजार पचास रुपियाँ बराबरको क्षेती पुगेको छ ।
बर्षाले जिल्लाका सात वटै गाउँपालिकामा क्षेती पुर्याएको छ । वर्षाले क्षेती पुर्याएका घरहरु १८७ रहेको र ४१ घर उच्च जोखिममा रहेका छन । त्यसै गरि १४४ वटा घरमा जोखिममा रहेका छन । क्षेती भएका संरचनामा पुर्ण र आंसिक घर, गोठ र शौचालयमा रहेका छन् ।
यो क्षेतीमा जिल्लाभरि भत्किएका सडकको लागत जोडिएको छैन । कर्णाली करिडोर र आन्तरिक रुपमा पालिका जोड्नका लागि निर्माण गरिएको सडक सबैतिर भत्केका छन् । वर्षावाट क्षेतीको विवरण आउने क्रम जारी रहेको कारण यो संख्या अझै बढ्न सक्ने देखिएको छ ।