सुर्खेत : सरकारले कर्णाली प्रदेशको नयाँ प्रदेश प्रमुखमा तिलक परियारलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई हटाएर नयाँ प्रदेश प्रमुखमा परियारलाई पठाउने निर्णय गरेको हो ।
मंगलबार नै सरकारले सुदूरपश्चिमको प्रदेशका प्रदेश प्रमुखमा देवराज जोशी र प्रदेश १ को प्रदेश प्रमुखमा परशुराम खापुङलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि परियार प्रदेश २ का प्रदेश प्रमुख थिए । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका गरेपछि भूमिकाविहीन थिए । परियारको रोजाईमा कर्णाली प्रदेश भएपनि उनलाई ओली सरकारले प्रदेश २ मा पठाएको थियो ।
को हुन् तिलक परियार ?
तिलक परियार जन्म रोल्पाको लिवाङमा भएको थियो । १५ कार्तिक २००० सालमा जन्मिएका उनी दलित समूदायबाट जन्मे हुर्केका हुन् । दलित समूदायले गर्ने परम्परागत पेशामा उनको बाल्यकाल बितेको थियो ।
एक समय परियार भारतमा जागिर खान लालयित थिए । भारतबाट दाजुले पठाएको चिठी पढ्ने घरमा कोही नभएपछि उनलाई पढेर भारतमै जागिर खाने सपना पलाएको थियो ।
त्यसपछि गाँउकै पाठशालामा उनले कखरा पढ्न सिके । त्यसपछि उनले चिठी लेख्न र पढ्न सक्ने भए । त्यसपछि लिवाङकै बालकल्याण प्राथमिक विद्यालयमा पढे । पढेपछि गाउँमा भोगेको तीव्र जातीय विभेदका कारण उनी पढाई छाडेर २०१३ सालमा भारतको हिमाञ्चल प्रदेश पुगे । बाँकी शिक्षा उनले भारतमै गरे ।
भारत गएको झण्डै ६ वर्षपछि उनी गाँउ फर्किए । फेरि उनी भारत पुगे । त्यही उनले एसएलसीसम्मको पढाई गरे । भारतमा एसएलसीलाई मेट्रिक तह भनिन्छ । उनको उच्च शिक्षा पनि भारतमै भएको थियो ।
उच्च शिक्षाकै क्रममा उनले २०२१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । पार्टी सदस्यता लिएलगत्तै २०२२ सालमा परियार नेपाल फर्किए । नेपाल फर्किएपछि उनले केही समय अध्यापन पनि गरे । आफूले पढेकै विद्यालयमा उनले पढाउको अवसर पाए । त्यसपछि फेरि उनी भारत हानिए । त्यसपछि उनले भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
त्यसबेला नेपालका कम्युनिष्ट पार्टीमा विभाजन तीव्र थियो । उनी मोहनविक्रम सिंहको नेकपाबाट चौथो महाधिवेशन हुँदै फुटकै लाइनतिर अघि बढे । नेपालमा कम्युनिष्टको फुट विस्तारै मोहनविक्रम सिंहको पार्टीबाट अलग हुँदै मोहन बैद्य, प्रचण्डसम्म पुग्यो । जुन संघर्ष नेकपा चौम, एकताकेन्द्र मसालबाट माओवादी केन्द्रसम्म आइपुग्यो ।
मोहनविक्रम सिंहबाट सुरु भएको उनको राजनीति अहिले प्रचण्डसम्म आइपुग्दा उनी मन्त्री र प्रदेश प्रमुख भएका हुन् । यसबीचमा उनी थुप्रैपटक जेल समेत परे । खासगरी माओवादी सशस्त्र द्वन्द्वका क्रममा उनी जेल परेका हुन् । उनी पञ्चायतकालदेखि द्वन्द्वकालसम्म जेल बस्ने नेता हुन् ।
उनी यसअघि प्रदेश २ को प्रदेश प्रमुख हुनुअघि मन्त्री समेत भएका थिए । तत्कालिन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामार्फत सरकारमा आउँदा उनी मन्त्री भएका थिए । त्यसपछि उनी भूमिका विहीन थिए ।
खासगरी दलित समूदायको हक हितमा उनी लबिङ गर्दैै आएका थिए । पछिल्लो समय उनी नेताका रुपमा भूमिका विहीन भएपछि प्रचण्डले नै प्रदेश प्रमुखको भूमिका दिएर व्यवस्थापन गरिरहेका थिए ।