कर्णाली : कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
सो पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता भई ०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो । कन्काई नेपाल प्रगति जेभीले झण्डै १४ करोडमा पुल बनाउन ठेक्का पाएको थियो । सम्झौता भएको नौ वर्षपछि बल्ल पुल निर्माण भएको छ ।
एक महिनाभित्र नै पुल सञ्चालनमा आउने कम्पनीका सञ्चालक दीपक मैनालीले जानकारी दिए । “औपचारिक शुभारम्भ गरेर एक महिनाभित्र नै सञ्चालनमा आउने छ । निर्माणको सबै काम सम्पन्न भएको छ ।
करिडोरमा पुल नहुँदा नजिकैको जितेगडा बजारबाट फेरीबाट कर्णाली नदीमा सवारी साधन तार्ने गरिएको कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका स्थानीय शिक्षक नवराज शाहीले जानकारी दिए । “पुल नहुँदा फेरीबाट सवारी साधन तार्ने गरिएको थियो ।
अब पुल निर्माण भएपछि करिडोर क्षेत्रमा यातायातमा साधन सञ्चालनका लागि सहज हुनेछ ।” सोही करिडोरअन्तर्गतको खुलालुको पुल सञ्चालनमा आएको कालीकोटका पाँच ,बाजुराका पाँच पालिका सहित मुगु र हुम्लावासीलाई यातायात साधनबाट सञ्चालनमा सहज हुने रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले जानकारी दिए ।
करिडोरको पक्की पुल सञ्चालनमा आएपछि कालीकोट, बाजुरा, मुगु र हुम्लाका स्थानीयवासीलाई सहज हुनेछ । “पक्की पुल नबन्दा ढुवानी धेरै खर्च लाग्ने र कर्णाली राजमार्गबाट कर्णाली करिडोरसम्म भारी बोकेर सामान ओर्सानु पर्ने बाध्यता रहेको थियो ।
अब त्यो समस्या पूर्णरुपमा हल हुनेछ ।” करिडोरको पक्की पुल सञ्चालनमा आएमा सुर्खेत, नेपालगञ्जदेखि हुम्लासम्मका सवारी साधन सिधै जाने बाटो खुल्ने पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए । रासस