कालिकोटका ४ वटा स्थानीय तहका झण्डै २ हजार घरमा अहिले शुद्ध खानेपानी सहितका धारा जडान गरिसकिएको छ । यहाँका पलाँता, रास्कोट, नरहरिनाथ र तिला गुफाका नगरपालिकाले धारा जोड्ने कामको पहल गरेका हुन् ।
पलाँता गाउँपालिकाले पलाँताका ५ सय ६ घरधुरीमा खानेपानी पुर्याइएको छ । पलाँता गाउँपालिका र वाटर एड नेपालले आर्थिक सहयोगमा किर्डाक नेपालले खानेपानी आयोजना निर्माणका लागि सहजीकरण गरेको हो ।
पलाँता गाउँपालिकाले पहिलो गाउँ सभाबाट तीन वर्षभित्र पलाँताका सबै घरहरुमा खानेपानी धारा पुर्याउने गरी महत्त्वाकांक्षी योजना बनाएको थियो । प्रदेश सरकारबाट अघिल्लो वर्ष १० करोड रुपैयाँ बजेट पाएपछि गाउँपालिकाले सबै वडामा खानेपानी पुर्याउन सर्भे डिजाइन र मूल ट्यांकी निर्माणको काम सकेको छ ।
गाउँपालिकाका ८ र ९ नम्बर वडाका बाडदेव, कालचिउरी, सुनावाडा, बालुवा, दलितटोल, बेर्सनकोटलगायत बस्तीका ५ सय ६ घरमा धारा जडान भइसकेका छन् । अघिल्लो वर्ष थिर्पुका २ सय ७ घर र यस वर्ष ८ र ९ नम्बर वडाका बाँकी २ सय ९९ घरमा मिटरसहितका धारा जडान गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बलमे बताए ।
रास्कोट नगरपालिकाले पनि घरघरमा धारा अभियान थालेको छ । नगरका सबै वडाका घरघरमा धारा पु¥याउन २० करोड रुपैयाँको डिजाइन स्टिमेट तयार भइ बजेट जुटाउन पहल भइरहेको छ ।
वडा नम्बर ३ र ६ का चार सय घरमा धारा जडान भइसकेको नगरप्रमुख काशीचन्द्र बरालले बताए । नगरपालिकाले सिप्टीमा जलाशय बनाएर खानेपानी, विद्युत् र सिँचाइ हुने गरी बहुउद्देश्यीय परियोजना सञ्चालन गर्न लागेको उहाँले जानकारी दिए ।
त्यस्तै, खाँडाचक्र नगरपालिकाको वडा नं १ मा पर्ने मान्मबजार र वडा नं ७ को पिलीमा पनि घरघरमा धारा जडान भएका छन् । वडा नंं १ का धाराहरुमा भने नियम खानेपानी नआउने गरेको गुनासो छ ।
तिलागुफा नगरपालिकाको राँचुली र चिल्खायाँमा पनि घरघरमा धारा पुगेको नगरप्रमुख रतनबहादुर शाहीले जानकारी बताए । उनले नगरका अन्य वडामा पनि घरघरमा धारा पुर्याउन काम भइरहेको बताए ।