स्याङ्जा: स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिने भएको छ ।
कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “वालिङ नगरपालिकाको तथ्याङ्कअनुसार १८ वर्षभन्दा माथिका करिब ३२ हजार नागरिकमध्ये १७ हजार बढीले खोप लगाइसक्नुभएको छ ।
कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म बाँकी रहनुभएका सबैलाई खोप लगाउने गरी तयारी गरेका छौँ ।” वालिङ नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र गरी १७ ठाउँमा तीन दिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आइसकेको नगर प्रमुख खाँणको भनाइ छ ।
वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेका छौँ”, नगरप्रमुख खाँणले भने त्यसैले यहाँ सबै जनाले आआफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई अनिवार्यरुपमा खोप लगाउनु हुन नगरवासीसमक्ष अनुरोध गर्दछु ।
अठार वर्षभन्दामाथिका नागरिकलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनिका नागरिकलाई खोप लगाउनका लागि पहल सुरु गरेको नगरप्रमुख खाँणले बताए ।
नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए । वालिङमा सङ्क्रमणलाई शून्यमा झार्ने अभियानस्वरुप अनिवार्य खोप लगाउन आग्रह गरिएको उनले बताए ।
वालिङ नगरपालिकाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याइँ नगरी निरन्तररुपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।
तीनदिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाइने प्रमुख पाण्डेले बताए । अठार वर्षभन्दामाथिका खोप लगाउन बाँकी रहेका १५ हजार जनालाई भेरोसेलको पहिलो मात्रा लगाइने भएको हो ।
खोप अभियानका लागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करिब १०० जना स्वास्थ्यकर्मी परिचालन गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिए ।
वालिङ नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा कोभिडको रोकथाम तथा नियन्त्रणका लागि खेलेको भूमिकाप्रति यहाँका नागरिक सन्तुष्ट देखिएका थिए । शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणले उक्त कुरा पुष्टि गरेको बताइएको छ । रासस