काठमाडौ । लकडाउनको दुई महिना आसपासमा नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । तीमध्ये पछिल्लो एक हप्तामा मात्रै तीन सय बढी संक्रमित थपिएका छन । यसमध्ये तीन जनाको ज्यान गइसकेको छ भने ७० जना कोरोना जित्न सफल भएका छन ।
गएको पुस महिनामा चीनको वुहान राज्यबाट फैलिएको कोरोनाले झण्डै तीन महिनाको बीचमा युरोप र अमेरिकालाई तहसनहस पारिदिएको प्रमाण हामी सबैका सामु छ । युरोप, अमेरिकाका विकसित देशलाई ध्वस्त पारेर नेपाल प्रवेश गरेको कोरोना अहिलेसम्म नियन्त्रणमै देखिन्छ ।
तर वास्तविकता यो होइन । लकडाउनको ६० औँ दिनसम्म नेपालमा कोरोना नियन्त्रणभन्दा बाहिर गइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लकडाउनले सिंहदरबारमै लुकेका बेला जनता भने ठूलो संकटबाट गुज्रिरहेका छन ।
एकातिर लकडाउनले सिर्जना गरेको समस्याबाट तीन करोड नेपाली पिरोलिएका छन भने रोजगारीका लागि भारत लगायत विभिन्न देश पुगेका नेपाली स्वदेश फर्किन नपाएर झन पिरोलिएका छन । शुरुमा एक, दुई, तीन, चार, पाँच जना हुदैँ सयौ नेपालीमा देखिसकेको कोरोनाले कुन भयावह अवस्था ल्याउँछ ? त्यो थाहा छैन । तर ओली सरकारको रवैया यही अवस्थामा रहे कोरोनाले नेपाललाई पनि तहसनहस पार्ने संकेत स्पष्ट रुपमा देखाएको छ ।
सिंहदरबारमै सुत्यो सरकार
पछिल्लो एक हप्तामा नेपालमा तीन जनाको कोरोनाका कारण ज्यान गएको छ । तीन जनामध्ये दुई जनाको मृत्यु, मृत्यु मात्रै नभई हत्या जस्तै भएको छ । बाँकेका २५ बर्षीय युवक र गुल्मीका ४१ बर्षीय हेडसरलाई कोरोना संक्रमणकै कारण तड्पाई तड्पाई मारिएको जस्तो देखिएको छ ।
बाँकेको युवाले समयमै उपचार पाएको भए उनी बाच्न सक्थे । लक्का जवान रहेका उनलाई तत्कालै भेन्टिलेटरमा राखेर अक्सिजन मात्रै दिएको खण्डमा उनी खतराबाट जोगिन सक्थे । तर उनले अस्पताल पुग्नै नपाई ज्यान गुमाउनुपर्यो ।
भारतबाट फर्केका उनको कोरोना परीक्षण पनि मृत्युपश्चात मात्रै भयो । जुन अक्षम्य अपराध हो । भारतबाट फर्केर क्वारेन्टाइनमा राख्दा पनि सरकारले परीक्षण नगर्नु ठूलो गल्ती हो । यदि विदेशका कुनै ठाउँमा यस्तो घटना घटेको भए त्यहाँका मन्त्रीले राजीनामा दिइसक्थे ।
बाँकेपछि गुल्मीका संक्रमितमा पनि सरकारले सोही नियती दोहोर्यायो । गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भिर भएपछि रुपन्देही पुयाईएको छ । जबकी पहिले उनलाई कोरोना परीक्षण गर्नुपर्नेमा निजी मेडिकलले पैसा असुल्न अनेकौ परीक्षण गर्छन । जब कोरोना परीक्षण हुन्छ, तब चिकित्सक बिरामीको नजिकै पर्दैनन् ।
यो नेपालमा अहिलेसम्मकै ठूलो अपराध हो । बिरामीलाई उपचारका लागि अस्पताल भर्ना गरिन्छ । अस्पताल भर्ना गरेपछि चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार थालिन्छ । विश्वव्यापी यो नियमलाई नेपाली नाफाखोर मेडिकलले मात्रै होइन, सरकारले पनि धज्जी उडायो ।
कोरोना संक्रमण पुष्टि हुनेवित्तिकै सरकारले संक्रमितलाई सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने हो । तर नेपाल सरकारले बिरामीको अवस्थाका बारेमा अस्पताललाई समेत सोधेन । लकडाउनको बेला ज्वरोका बिरामी समेत जाँच्न छाडेर गेट बन्द गर्ने निजी मेडिकल कलेजले संक्रमितको उपचार गर्छन ? भनेर सरकारले कसरी पत्यायो ?
यही प्रश्नको जवाफ नेपाली जनताले एक संक्रमितको मृत्यु पाएका छन । जानाजान दुई जनाको मृत्यु हुँदा पुष्टि हुन्छ, कोरोना नियन्त्रण गर्न ओली सरकार अग्रसर हुनु त कहाँ हो कहाँ ? आफ्नै ठूल्ठुला गल्ती सच्याउन पनि सरकार तयार देखिएन । अर्थात जस्तोसुकै संकट आउँदा पनि ओली सरकार सुध्रिएन ।
सुध्रिएनन् प्रधानमन्त्री ओली
नेपालमै पहिलोपटक दुईतिहाई बहुमत ल्याएर ओली सरकारमा बिराजमान छन । उनलाई बहुमत मिलेको नेपाली जनताको दुःखका लागि होइन् । थोरै भएपनि सुख, शान्ति र समृद्धिका लागि हो । तर ओली सरकार ठीक उल्टो दिशामा छ । कोरोना कहरका बीचमा अध्यादेश ल्याएर राजनीतिक कु गर्न तम्सिएका ओली असफल भइसकेका थिए ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न सबै बल र अस्त्र लगाउनुपर्ने बेला ओली अध्यादेश राजनीतिमा अल्झिए । अवस्थालाई सहज रुपमा ल्याउन उनले यी सबै राजनीतिक गतिविधि बन्द गर्नुपथ्र्यो । तर उनले विवाद झिकिरहे । सिंहदरबार र बालुवाटारमा कुर्सी तानातान हुँदा कोरोनाले गाउँ गाउँ, बस्ती बस्ती छिर्ने मौका पायो ।
यस्तो मौकामा कोरोनाले चौका हान्यो । ओली सरकार टाउकोमा हात बाँधेर बस्न बाध्य भयो । शुरुमा एक दुई जनामा देखिएको कोरोना अहिले बस्ती छिरिसकेको छ । हरेक मानिसमा कोरोनाको आशंका बढेको छ । केही लक्षण नदेखिएपनि अवस्था भयावहतिर अग्रसर छ ।
तर सरकार भने संक्रमितको बिरामीको उपचारमा पनि लापरबाही गर्नै बहादुरी देखाउँछ । संक्रमितको मनोबल बढाउन सल्लाह दिने, छलफल गर्ने, सरकार साथमा छ , केही हुदैन भनेर चौबिसै घण्टा स्वास्थ्यकर्मी खटाउनुको साटो सरकार बालुवाटारमै सुतिरहेको छ । ओली फेरि राजनीतिक जोडघटाउका लागि गुटको रिहर्सलमा देखिन्छन ।
समुदायसम्म फैलिसकेको कोरोना नियन्त्रण गर्ने उपाय सरकारसँग छैन । कम्ती डाक्टर र विज्ञको कुरा सुन्नुपर्ने हो । तर ओली कसैका कुरा सुन्न चाहदैनन् । आफ्नो व्यक्तिगत कुण्ठा र बालहठले गर्दा ओली त सुध्रिएनन् । जनतालाई ठूलो चपेटामा पारिरहेका छन ।
कोरोनाको मारमा जनता
नेपाली भारतबाट आफ्नो देशमा पाइला टेक्न नपाउँदै सरकारले लकडाउन घोषणा गर्यो । लकडाउन घोषणा गरेर सिंहदरबारमा सुतेको सरकार अझै ब्युझेको छैन । तर सीमामा भोकै बस्न बाध्य नेपाली सुरक्षाकर्मीको आँखा छलेर आफ्नो घर पुगे । रारातार हिडेर घर आइपुगेका नेपाली सकुशल आइपुगेपनि साथमा कोरोना बोकेर आए ।
क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परीक्षण गर्न हच्किने सरकार घर पुगेकाहरुलाई कहाँबाट सुरक्षित राख्न सक्थ्यो ? जसको परिणाम अहिले दैनिक संक्रमित भेटिरहेका छन । तीपनि सबै जसो भारतबाटै भित्रिएकाहरु छन ।
जो हप्तौ भारतबाट हिडेर घर आइपुगेका थिए । कैयौ दिन सीमामा अलपत्र थिए । अझै कैयौँ नेपालीलाई सरकारले आउन दिएको छैन । उनीहरु सिमामा बसेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन । शुरुमा आउन खोज्दा सीमामा रोक्ने सरकारको कुबुद्धिले अहिले धमाधम बस्तीमा कोरोना फैलिदैछ ।
शुरुमा आफ्ना नागरिक ल्याउन अलमलिएको सरकार अहिले घर फिर्ता गर्न आतुर छ । सीमाका धेरै जसो नेपाली कोरोनाबाट प्रताडित छन । शरीरमा कोरोना होला, नहोला तर कोरोनाका कारण अहिलेसम्म नपाएको दुःख उनीहरुले पाइरहेका छन । जुन सारा नेपालीका लागि दुःखको विषय हो ।
अझै पनि सरकारले सीमामा अलपत्र नेपालीलाई स्वदेश फर्काएर सुरक्षित क्वारेन्टाइन नगर्ने हो भने नेपालमा कोरोनाको अवस्था थप भयावह हुने निश्चित छ । यसका लागि प्रधानमन्त्री ओली नेतृत्वको सरकार बालुवाटार र सिंहदरबारमा होइन, गाउँ गाउँ बस्ती बस्तीमा छिरेर महामारी नियन्त्रणमा प्रत्यक्ष खटिन जरुरी छ ।