तौलिहवा । कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारलाई पनि कोरोना संक्रमण भएको पाइएको छ । शनिबार बिहान एक जना वडाध्यक्ष र एक जना पत्रकारसहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।
शुक्रबार पनि दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको थियो। शनिबार थपिएका आठ जनामध्ये छ जना वाणगंगा र दुई जना बुद्धभूमिका रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
उनीहरू कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८, ३, ११, ५, १० का एकएक जना २५, १९, ४२, ४० र ३५ वर्षका पुरुष रहेका छन् भने वडा नम्बर ६ का २७ वर्षीय महिला रहेकी छन्।
बुद्धभूमि नगरपालिका वडा नम्बर ४ का २२ वर्षका पुरुष र १७ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
उनीहरुको जेठ ४ र ५ गते वाणगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पस बुङचीबाट स्वाब संकलन गरिएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले सेतोपाटीलाई बताए।
वडाअध्यक्ष र पत्रकार बाहेक अरु ६ जना भारतबाट आएको थापाले बताए। कपिलवस्तुमा भारतबाट आएका व्यक्तिसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।
यसअघि कृष्णनगर नगरपालिकाका कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।