सुर्खेत । कृषिप्रधान देश नेपालका लगभग सबैजसोको घरमा गाईबस्तु छन । गाउँमा किसानले कृषिखेतीसँगै गाई, भैसी, बाख्रा पालेर आयआर्जन गर्छन । शहर बजारका मानिस कोही व्यवसायिक पशुपालन गर्छन त कोही घरमा कुकुर भएपनि पालेरै बसेका हुन्छन । गाउँका किसान गाईबस्तु बिरामी हुँदा मुश्किलले औषधि उपचार पाउँछन ।
आफैले घरमा पालेका गाईबस्तुलाई गाउँमै पाइने ओखती मुलो गरेपनि उपचार गर्न भने भेटेनरीकहाँ पुर्याउनुपर्छ । अचेल गाउँमा भेटेनरीको अभाव नभएपनि भेटेनरी पढेका विद्यार्थीको संख्या भने न्युन नै छ ।
कृषिप्रधान देश भएपनि भेटेनरी खोज्न शहर धाउनुपर्ने बाध्यता सुर्खेतको बड्डीचौरमा रहेको जनज्योती उच्च माध्यामिक विद्यालयले हटाउदै गएको छ । स्कुलमा कृषि विज्ञान अन्तर्गत भेटेनरी विषय पढ्ने विद्यार्थी घरमा पालेका गाई, बस्तु, बाख्रालाई आफै भ्याक्सिन लगाउन थालेका छन ।
जनज्योती उमाविमा आइएस्सी पढिरहेकी सालकोट पलैटेकी दीलु पाण्डेयले लकडाउनको बेला घरमा रहेका पशुपालनको राम्रो हेरबिचार गर्छिन । यतिसम्मकी उनी बिरामी भएका बाख्रा, बोकालाई आफैले इन्जेक्सनमार्फत भ्याक्सिन दिन्छिन ।
सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो कृषिकर्मबारेको एउटा छोटो भिडियो सार्वजनिक गरेकी छन । जहाँ उनी लकडाउनको बेला आफूले विद्यालयमा पढेको, सिकेको, जानेको कुरा व्यवहारमा लागु गरिरहेकी छन । अर्थात व्यवहारिक शिक्षालाई राम्रोसँग उपयोग गरिरहेकी छिन ।
जुन हेर्दा अरुका लागि पनि प्रेरणादायी छ । यसरी खेतबारीमा तरकारी फलाउने, कुखुरा, हाँस, बाख्रपालन गर्ने, उत्पादन बढाउने लगायतका काम गर्न सकेमा अहिले विदेशबाट खाद्यान्न आयात गर्नुपर्ने समस्या हट्ने उनको भनाई छ । यति मात्रै होइन, गाउँघरमै राम्रोसँग व्यवसायिक कृषि खेती गर्न सकेमा विदेश जानुपर्ने बाध्यता पनि हट्ने पाण्डे बताउँछिन ।
'यदि राम्रोसँग यसरी घरमै कृषि खेती गर्ने हो भने विदेश जार्नुपर्ने बाध्यता हट्छ । अनि विभिन्न देशबाट खाद्यान्न र तरकारी किनेर खानुपर्ने समस्या पनि कम हुदै जान्छ' उनले भनिन् ।
जनज्योती स्कुलले कृषि विषय अन्तर्गत विभिन्न विधाका विद्यार्थीलाई आफूले स्कुलमा सिकेको शिक्षालाई व्यवहारिक रुपमा घरमा प्रयोग गरेर त्यसको भिडियो बनाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने अभियान नै चलाएको छ ।
स्कुलका प्रधानाध्यापक नारायणप्रसाद सिग्देल विद्यार्थीका सिर्जनशील काम र सीपयुक्त भिडियोलाई सामाजिक सञ्जालमा शेयर गरेर प्रोत्साहन दिइरहेका छन ।
यो पनि पढ्नुहोस
आइएससी गरेका विद्यार्थी खेतबारीमा रमाउदै