काठमाडौँ । बजेट, एमसिसी लगायत महत्वपूर्ण विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा चलिरहेको छ । झण्डै एक घण्टादेखि चलिरहेको बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका एक सचिवालय सदस्यले बताएका छन ।
बैठकमा आगामी बजेट, एमसिसी, सरकारका कामकारबाही, पार्टीभित्रको आन्तरिक असन्तुष्टि, भारतसँगको सीमा विवाद र आगामी वार्ता तथा कोरोना महामारी नियन्त्रण लगायतका विषयमा छलफल चलिरहेको ती सदस्यले बताए । तर प्रधानमन्त्री ओली आराम गर्नुपर्ने भन्दै बैठकमा अनुपस्थित हुँदा छलफल प्रभावकारी बन्न नसकेको नेताहरुको भनाई छ।
आगामी बजेट र भारतसँगको सीमा विवादका विषयमा सचिवालयका नेताहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडालाई भेटेका थिए । मन्त्रीहरुबाट ब्रिफिंग लिएपछि बालुवाटारमा बैठक शुरु भएको हो । यस्तै एमसिसी संसदबाट पास गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।
सत्तारुढ नेकपाभित्र आन्तरिक असन्तुष्टि साम्य भइसकेको छैन । हालै सरकारले नीति तथा कार्यक्रम ल्याउँदा पनि कुनै प्रभावकारी र विशेष योजना ल्याउन नसकेको भन्दै सरकारको आलोचना भएको थियो । भारतसँगको सीमा विवादका विषयमा पनि प्रधानमन्त्री ओली र सचिवालय सदस्यहरुबीच एकपटक पनि गम्भिर छलफल भएको छैन ।
एमसिसीलाई पास गर्ने विषयमा पनि नेताहरुबीच एकमत छैन । पछिल्लो समय उपाध्यक्ष बामदेव गौतम फेरि अर्का अध्यक्ष प्रचण्डको गठबन्धनमा फर्किएपछि ओली सचिवालयमा अल्पमतमा छन । सचिवालय बैठकले बजेट, एमसिसी, सीमा विवाद र कोरोना महामारी नियन्त्रणका विषयमा छलफल गरी सरकारलाई निर्देशन दिने भएपछि ओली अनुपस्थित भएको अनुमान गरिएको छ ।
सरकारका कामकारबाही प्रभावकारी नभएको, कोरोना झन फैलिन थालेको, बजेट पुरानै ढर्राबाट ल्याउन खोजेकाले सचिवालय सदस्यले ओलीसँग स्पष्ट जवाफ माग गर्ने र निर्देशन दिने भएपछि त्यसलाई बेवास्ता गर्न ओली बैठकमा नआएका बुझिएको छ । यसका साथै दुईपटक बोलाइएको स्थायी कमीटि बैठक पनि ओलीले स्थगित गरेपछि त्यसबारेमा पनि लामो समयपछि बसेको सचिवालय बैठकमा छलफल हुने सम्भावना थियो ।
तर मुख्य अध्यक्ष तथा प्रधानमन्त्री नै उपस्थित नभएपछि बैठक सामान्य छलफल गरेर टुंगिने सम्भावना बढेको नेताहरुले बताएका छन । ओलीको अनुपस्थितीले नेकपाभित्रको अर्को र चर्को असन्तुष्टि बढेको पनि अनुमान गरिएको छ ।