काठमाण्डौ । 'नमस्कार हजुर' भन्दै कसैले हात मिलाउन खोज्यो भने जवाफ आउँछ, 'नमस्कार । तर हात नमिलाऔँ होला' ! कारण हो, कोरोना शंका । चीनको वुहानबाट फैलिएको कोरोनाले विश्वव्यापी संकट निम्त्याएका बेला नेपालमा भने शंका दिनप्रतिदिन फैलिदै गएको छ ।
सरकारले कोरोनाको सम्भावित जोखिम न्युनिकरणमा सबै प्रयास गरेको दाबी पनि गरेको छ । तर नागरिकमा त्यो विश्वास देखिएको छैन । मास्क लगाउनै पर्ने बाध्यता बढेका बेला बजारमा मास्क भेटिदैनन् ।
कोरोनाबाट बच्न र बचाउन सरकारले सार्वजनिक सभा सम्मेलन र कार्यक्रममा रोक लगायो । नाकामा क्वारेन्टाइन जाँच बढायो । तर पनि नागरिकमा त्रासदी छ । काठमाडौँमा अझ बढी विपत छ । ठूला मिडिया हाउसले क्वारेन्टाइन शुरु गरिसकेका छन । स्रोत साधन भएकाले क्वारेन्टाइन शुरु गरिसक्दा नभएकाहरु मास्कमै दिन गुजार्न बाध्य छन ।
सरकारको वक्तव्यबाजी
शनिबार मात्रै गृह मन्त्रालयले कोरोना भाइरसका विषयमा फैलिरहेको अनावश्यक हल्ला भ्रम मात्रै भएको बताएको छ । विज्ञप्ती निकालेर गृह मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरस प्रवेश गरेको पुष्टि नभएकोले अनावश्यक भ्रममा नपर्न आग्रह नै गरेको छ । तर सरकारको यो आग्रह आफैमा विवादित छ । जबकी नेपालमा एक महिनाअघि नै एक जना बिरामीमा कोरोनाको संक्रमण थियो ।
टेकु अस्पतालमा उनको उपचार भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर एक जनामा पुष्टि भएको र उपचारपछि सञ्चो भएको जनाएको थियो । बाँकी अरुमा पनि जाँच गर्दा संक्रमण भने देखिएन । आधिकारिक रुपमा अहिलेसम्म एक जनामा मात्रै संक्रमण पुष्टि भएको सत्य हो । तर नेपालमा कोरोना नै प्रवेश नगरेको सरकारको वक्तव्यबाजी आफैमा विवादित देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले नै नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि सरकारले सार्वजनिक सभा सम्मेलन नगर्न आग्रह मात्रै होइन, प्रदेश र पालिका तहमा परिपत्र नै गरिसकेको अवस्था छ । नागरिकमा पनि थोरै रुघाखोकी लाग्नेवित्तिकै कोरोना हो की भन्ने चिन्ता थपिन्छ । यस्तोमा झन त्रासदी बढेको छ ।
फितलो क्वारेन्टाइन जाँच
कोरोनाको क्षतिको अवस्था र नेपालमा सतर्कताको अवस्था हेर्दा डर लाग्नु स्वभाविक छ । अहिलेसम्म यो भाइरसको भ्याक्सिन पत्ता लागिसकेको छैन । यस्तो अवस्थामा कोरोना लाग्यो की ज्यान गयो भन्ने त्रास छ । तर यो मात्रै सत्य भने होइन । संक्रमित भएपनि रोग प्रतिरोधात्मक क्षमता र डाक्टरको प्रत्यक्ष हेरचार भएमा यसबाट जोगिन सकिन्छ ।
तर नेपालमा क्वारेन्टाइन भने फितलो छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जाँच गर्ने प्रविधि चुस्त दुरुस्त छैन । चीनबाट भित्रिने सामान बन्द गरिएपनि त्यो कडाई गरिएको छैन । साथै काठमाडौँ उपत्यकाको फोहोर र प्रदुषणको अवस्था सामान्य हुन सकेको छैन । यस्तो अवस्थामा कोरोनो जोखिम घट्ने नभई बढ्ने निश्चित छ ।
छिमेकी भारतमा समेत कोरोनाको संक्रमण देखिसकेका बेला सरकारले फितलो क्वारेन्टाइन जाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ ।
नागरिकमा त्रासदी
गृहमन्त्रालयको विज्ञप्तीमा के पनि भनिएको छ भने हल्लाको पछि लागेर उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्नु, कालोबजारी, मूल्यवृद्धि र कृतिम अभावलाई बढावा नदिनु लगायतका आग्रह छन ।
तर मास्क समेत बजारमा पाउन छाडेको छ । यस्तो बेला इन्धन, चीनबाट आउने सामान र कपडाको मुल्यबृद्धि बढेको छ । तर अहिलेसम्म सरकारले निगरानी र अनुगमनलाई प्राथमिकतामा राखेको छैन । कोरोनोको जोखिमलाई ध्यान दिएर सभा सम्मेलन स्थगित गर्न भनिरहदा यसलाई हल्ला मात्रै भनिदिएको छ ।
हो, नेपालमा कोरोनाका कारण कसैको ज्यान गइसकेको छैन । वुहानबाट ल्याइएको १ सय ७५ जनामा पनि संक्रमण देखिएन । एक जनाबाहेक अर्कोमा त झन पुष्टि भएको पनि भेटिएन । यस्तोमा हामी नेपाली भाग्यमानी छौ । छिमेकी चीनलाई आहत पारेको कोरोनाले नेपाल प्रवेश नगरेरै राहत दिइरहेको छ ।
यो जोखिमलाई ध्यान दिएर सरकारले अबिर दल्ने जात्रा होली नखेल्न आग्रह गरेको छ । तर यो अवस्था कायमै रहदा हल्ला र भ्रम मात्रै नभनी कोरोना जोखिमलाई नियन्त्रण गर्न तदारुकता देखाउन आवश्यक छ ।