फोटो क्रेडिट : पूर्णसिंह बम/कर्णाली ग्यालरी
सल्यान : कर्णालीको एउटा प्राकृतिक सम्पदा हो, कुपिण्डे दह । वरपर पहाडकाबीच अवस्थित कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर देखिन्छ । पहाडको बीच भागमा आकाशझैँ फैलिएको निलो ताल अनि उत्तरमा देखिने हिमश्रृंखला र हरियालीले कुपिन्डे दह पुग्ने सबैको मन तान्छ । हाँस, जलेवा, मालश्री जस्ता चरा जल क्रिडामा मग्न भएको देख्दा जो कोहीलाई मग्न हुन मन लाग्छ ।
रङ बदलिरहने कुपिन्डे ताल सुनसान छ । प्राकृतिक, सांस्कतिक तथा ऐतिहासिक महत्वका हिसाबले भने यो जिल्ला असाध्यै धनी छ । स्वदेश तथा विदेशबाट आउने पर्यटक कुपिन्डेको सुन्दरताभित्र हराउँछन ।

सल्यानको बनगाँड कुपिन्डे नगरपालिकापर्ने यो ताल आजभोलि ग्रामीण पर्यटन केन्द्र रुपमा विकास भएको छ । जैविक विविधता युक्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण कुपिन्डे दह मनोरम र आकर्षक गन्तव्य बन्दै गएको छ ।
सल्यानबाट मात्र नभई विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेको संख्या बढ्दो छ । चारैतिर हरियाली रुख अनि सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महशुस गराउँछ ।

२३ दशमलव ५३ हेक्टरमा क्षेत्रफलमा फैलिएको कुपिण्डे दह ८ सय ३४ मिटर चौडाइ र ५ सय ३८ मिटर गहिराईमा रहेको छ । दहलाई धार्मिक दृष्टिले हेर्दा परापूर्वकालमा गाउँमा एकदिन साँधु बास आएका थिए रे । साँधुलाई कसैले बाँस बस्न दिएनन् ।
निराश हुँदै ती साधु एक वृद्धको घरमा पुगेछन । वृद्ध गरिव भएको थाहा पाएपछि भोलिपल्ट साँधुले ती वृद्धालाई भनेछन, ‘म कैलुवराह हुँ’ अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिन भरमा डुबाइदिन्छु भनेर गाउँनै डुवाइदिएर दह बनाएको भन्ने किम्वदन्ती रहेको छ ।

पर्यटक गन्तव्यका रूपमा रहेको यस दहमा घुम्न आउने पर्यटकको संख्या बढे पनि आवश्यक सेवा सुविधा भने पाउन कठिन छ । यो समस्या कुपिन्डे दह मात्रै होइन, कर्णाली प्रदेशका अरु जिल्लामा पनि धेरै छ । जहाँ धेरै पर्यटक त पुग्छन्, तर आवश्यक सेवा सुविधा नपाउँदा निराश छन् ।