(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । माओवादीको परिवर्तनकारी नारामा समाहित भएर जनयुद्धमा होमिनेको संख्या दिनप्रतिदिन बढ्न थाल्यो । जसकारण जनयुद्ध सुरु भएको १० वर्षसम्म देशभर झण्डै १७ हजारले मृत्युवरण गर्न पुगे । हजारौ घाइते छन् । तीन हजारभन्दा धेरै अहिले पनि बेपत्ता छन् । जनयुद्धका घाइते, बेपत्ता र प्रभावितले अहिले पनि राज्यबाट उचित राहत नपाएको गुनासो गरिरहेका छन् । त्यतिबेला परिवर्तनका लागि भन्दै माओवादीमा लागेका नेता, कार्यकर्ता र सिपाही रगत बगाउन तयार थिए । यता माओवादीकै आक्रमणमा परी कैयौँ सेना, प्रहरी र सशस्त्रले ज्यान गुमाउन पुगे । माओवादी र राज्य पक्षका सुरक्षाकर्मीको आक्रमणमा परी धेरै सर्वसाधारण नागरिकले पनि ज्यान गुमाएका छन् । तर उनीहरुको अहिलेसम्म राज्यले नै लेखाजोखा राखेको छैन । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । यो जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक)
सुर्खेत - दैलेखकी लक्षु थापा मंसिर महिनाकै दिन सुत्केरी भएकी थिइन् । उनले दोस्रो सन्तान जन्माएको पाँच दिन भएको थियो । उनका श्रीमान जनक सुत्केरीका साथमा थिए । सन्तान प्राप्ति गर्दा उनीहरु सुखको दिन आउने अनुमान गर्थे । यो आशा थियो । उत्साह थियो ।
यो २०५९ सालको कुरा हो । उनको उमेर जम्मा २० वर्षको थियो । दैलेखको ठाटीकाँध गाउँपालिका २ टोम्टाल्लाकी लक्षुले नसोचेको घटना व्यहोर्नुपर्यो । मध्यरातमा तत्कालिन विद्रोही नेकपा माओवादीले उनका श्रीमान्को अपहरण गरेर लियो ।
त्यसपछि न श्रीमानको खबर आयो । न त जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आएर पनि सत्तारोहण गरेको माओवादीले यसबारे स्पष्ट जवाफ दियो । आज पनि उनलाई यो प्रश्नले घोचिरहन्छ ?
१६ वर्षको उमेरमा विवाह गरेकी उनी जतिबेला २० वर्ष मात्रै थिइन् । त्यही २० वर्षको जवान उमेरमा उनको सिउँदो खाली भयो ।
माओवादीले श्रीमान लुटेको रातको कथा
२०५९ मंसिर ३० गते । लक्षु सुत्केरी नै थिइन् । खाना खाएर उनी सुतेकी थिइन् । नजिकै श्रीमान सुतेका थिए । मध्यरातमा घरमा कोही आएको जस्तो सुनियो । दुवै जना उठे । त्यति मध्यरातमा आउने माओवादी थिए ।
तत्कालिन समयमा उनीहरु राज्य व्यवस्था बदल्न हिँडेको बताउँथे । परिवर्तनका लागि हतियार उठाउनुपर्छ भन्थे । सयौँ युवाहरुको लाम लगाउँथे । तर उनीहरुले त्यसरात धेरै कुरा भनेनन् । लक्षुका श्रीमान जनकलाई लिन आएको बताए ।
उनीहरुले जनकसँग सल्लाह गर्नुछ भन्दै लिन आए । ढोकाभित्र प्रवेश गर्नेबित्तिकै जबर्जस्ती गरेर लिएर गए ।
‘राती एक्कासी ढोकामा आएर ढोका ढकढक गरेको आवाज आयो । गाउँकै चिनेको मान्छेले ढोका खोल्नुस जनक सरसँग एकछिन काम छ भनेपछि मैले ढोका खोलेँ,’ लछुले भनिन्, ‘एक्कासी १६ जनाको टिम आएर श्रीमानलाई लिएर गए । कपडा लगाउँछु भन्दा पनि दिएनन् । पछि पासो हालेर हत्या गरेको सुने । त्यो रात सम्झिदा अहिले पनि जीउमा काँडा उम्रिन्छ ।’
त्यतिबेला लक्षुलाई भित्रै राखेर बाहिरबाट ढोका थुनियो । जसकारण गाउँलेलाई कुनै जानकारी भएन । उनले आफ्ना श्रीमान् जनकलाई सदाका लागि गुमाइन् । भोलिबिहान लक्षुले सुनिन्, घर नजिकैकोे डाँडा वनको पिपल चौताराको बरको रुखमा जनकलाई झुण्ड्याएर निर्मम हत्या गरिएको रहेछ । नेपाली कांग्रेसमा आस्था राखेकै कारण आफ्ना श्रीमान्लाई झुण्ड्याएर निर्मम तरिकाले मारिएको लछुको भनाई छ ।
‘मेरा श्रीमानको हत्या गर्नेहरु खुलेआम हिंडिरहँदा मेरो मन पनि पागल हुन्छ,’ लछुले भनिन्, ‘राज्यबाट मलाई अरु केही आस छैन, तर दोषीलाई कारबाही भएपछि मात्र मेरो श्रीमानको आत्माले शान्ति पाउनेछ ।’
झण्डै २० वर्षसम्म पनि न्याय पाइएन
२० वर्षको कलिलै उमेरमा लछुको सिउँदो पुछियो । उनी अहिले ४३ वर्षकी भइन् । श्रीमान गुमाएपनि दुइ जना छोराकै निम्ती भएपनि छोराको मुख हेरेर उनले दिन गुजारिरहेकी छन् । जबसम्म श्रीमानको हत्यारालाई कानुनी कठघरामा ल्याइँदैन, तबसम्म परम्परागत काजक्रिया पनि नगर्ने थापाको अडान छ ।
यो घटनाले लक्षुको घर परिवार पुरै बिथोलेको छ । उनीहरु अहिले पनि तर्सिन्छन् । बारम्बार झस्किन्छन् । जनयुद्धका नाममा माओवादीले दिएको पीडाले उनीहरु सबैको मन पोल्छ । लक्षुका ससुरा बलबहादुरलाई पनि त्यसरी छोरालाई अपहरण गरेर हत्या गरेकोप्रति आपत्ति छ ।
‘बुहारी पाँच दिनको सुत्केरी थिइन । म घरको माथिल्लो तलामा सुतेको थिएँ, छोराबुहारी तल्लो भुइ तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछ,’ त्यतिबेलाको घटनालाई बुवा बलबहादुर थापा सम्झिदै भन्छन्, ‘त्यतिबेला छोरालाई छुटाउन भनेर गएका थियौँ । उल्टै उनीहरु माओवादीबाट लखेटिए । पछि मात्रै थाहा भयो छोरालाई झुण्ड्याएर मारेछन् ।’
बलबहादुरलाई अहिले पनि छोराको सम्झनाले सताउँछ । कतिसम्म भने वनमा न्याउली चराको स्वर सुन्दा पनि उनलाई छोराकै सम्झना आउँछ । ‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ । अनि न्याउलीको स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु,’ उनले भने ।
जीवनमा दुःखै दुःख झेलेका बलबहादुरको एउटै मात्र धोको छ ‘देशमा फेरि युद्ध नहोस । मेरो जस्तै अरू बा आमाले छोरा र श्रीमतीले श्रीमान गुमाएको पिडा भोग्नु नपरोस ।’
जनयुद्धले दिएको पीडामा धनयुद्ध
कर्णाली आफैमा गरीब प्रदेश मानिन्छ । कर्णालीका धेरै नागरिकको पीडा अभाव र रोजगारीको समस्यामा बित्ने गर्छ । तर जनयुद्धले आफ्ना आफन्त र घरपरिवार बित्दा कर्णालीबासीलाई अहिले दिनमा दुई छाक टार्न पनि मुश्किल छ ।
छोरा जनक माओवादीको अपहरणमा परेर मारिएपछि अहिले बुहारीको समस्या र पीडाले बलबहादुर झन् भक्कानिन्छन् । छोरा भए घरपरिवार सजिलै पाल्ने उनको बुझाई थियो । छोरा नभएपछि भने रोजगारी र आर्थिक समस्याले गला रेट्ने गरेको उनको भोगाई छ ।
‘गाउँघरमा जसोतसो पेट पाल्न समस्या हुँदैन । तर अब नाति ठूला हुँदै गए । आवश्यकता बढ्यो । खाने मुख थपिए,’ उनले पीडा सुनाउँदै भने, ‘युद्धको पीडा परिवारमा मात्रै कहाँ छ र ? हरेक दिन आइपर्ने समस्यामा पनि अभावले पेल्ने रहेछ ।’
बुहारी लक्षुको समस्या पनि उही छ । साँझ बिहानको छाक टार्न मात्रै होइन, दुई सन्तानको लालनपालनदेखि पढाई खर्च पनि मिलाउन समस्या छ । लक्षुलाई जनयुद्धले दिएको पीडा जति भयानक छ, त्यो भन्दा बढी अहिले आर्थिक समस्यादेखि सामाजिक व्यवहारले दिने पीडा कम छैन । जुन उनको अनुहारमा प्रष्ट देख्न सकिन्छ ।
जनयुद्धदेखि आजका दिनसम्म माओवादी वर्षेनी सत्तामा छ । २०६३ सालदेखि सत्तारोहण गरेको माओवादी सत्ता गुमेपनि फेरि फर्किन्छ । जंगलबाट व्यवस्था बदल्ने सपना बोकेर सिंहदरबारमा पुगेको माओवादी पटक पटक सत्तामा फर्केपनि दैलेखका जनक थापा भने घर फर्किएका छैनन ।
अन्तरिम सरकारमा पहिलोपटक सहभागि भएको माओवादीले २०६४ सालको चुनावपछि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनायो । माओवादीले त्यसपछि पटक पटक सरकारमा सहभागिता जनायो । तर द्धन्द्धका घाउ जहाँका त्यही छाडिदियो । आज पनि यस्ता घटनाले जनकहरु मारिदा लक्षुजस्तो धेरै आफन्त र परिवारलाई पीडा दिन्छ ।
(नेपालमा 'जनयुद्ध' भन्दै सशस्त्र द्धन्द्ध सुरु भएको २६ वर्ष र विस्तृत शान्ति सम्झौता भएको १५ वर्षसम्म पनि जनताले न्याय पाउन सकेका छैनन । जनयुद्धदेखि अहिलेसम्म द्धन्द्धपीडितले भोगिरहेको कथाव्यथा हामी क्रमशः प्रस्तुत गर्नेछौँ - सम्पादक)