सिमकोट: दुरदराजको गाउँ मासपुरका २१ घरधुरी घरबार बिहीन भएका छन् । गत कात्तिक पहिलो हप्ता परेको बर्षाले घर भत्काएपछि स्थानीय गाउँवासी घर बिहीन भएका छन् ।
ताँजाकोट गाउँपालिका–३ को मासपुरका स्थानीय दान बहादुर बुढाका अनुसार बर्षाले २१ घरधुरी रहेको गाउँमा पाँच पुर्ण रुपमा भत्किएका छन् भने १६ घर बस्नै नहुँने गरि क्षेती पुगेको छ । बर्षाकै कारण छ वटा भेडाबाख्रा समेत मरेका छन् ।
उनले घर पुर्ण रुपमा भत्किएका स्थानीयमा केश बहादुर रोकाया, दान बहादुर बुढा, पुस बहादुर रोकाया, पंञ्चलाल रोकाया र दाने रोकाया रहेको बताए । उनले सञ्चार सम्पर्क सहजै नहुने मासपुर गाउँवासी बर्खाको छ महिना बस्ने तिम्बारा कमेठामा स्थानीय पाल टाँगेर बस्दै आएको जानकारी दिए ।
मंसीर महिनाभरि गाउँवासी यसरी पालमै बिताउनु पर्नेछ । त्यसैगरि अन्य १६ जनाको घर पनि बस्न नमिल्ने गरि बर्षाले क्षेती पुगेको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । उनले त्यो संगै घरमा रहेको धनजन बिशेष गरि कोदो, गहुँ, मकै लगाएतका सबै नास भएको जनाए ।
उनले गाउँपालिका केन्द्र छप्रेलाबाट एक दिन पैदल लाग्ने मासपुरबाट स्थानीय आउनै कठिन भएको कारण कात्तिक ३० गते बेलुका मात्र स्थानीय बासिन्दा आएर बल्ल प्रहरी चौकीमा निवेदन पेश गरेका छन् ।
हालसम्म जानकारी नभएको कारण प्रहरी नपुगेको र अब तत्काल मासपुर पुगेर क्षेतीको बिबरण संकलन गर्ने प्रहरीले जनाएको छ । हुम्ला जिल्लाकै टाढाको बस्तीमा मासपुर पर्छ ।