सुर्खेत : नेपाल पत्रकार महासंघ सुर्खेतले श्रमजिवी पत्रकारलाई लेखनबृत्ति उपलब्ध गराउन स्थानीय तहहरुलाई आग्रह गरेको छ । मंसिर ४ गते सुर्खेतको लेकबेशी नगरपालिकास्थित गमखोलामा (शनिबार) बसेको तेस्रो बैठकले लेकबेशी घोषणापत्र जारी गदै यस्तो बताएको हो ।
महासंघ सुर्खेत शाखाका सचिव ललितबहादुर बुढाले श्रमजिवी पत्रकारका लागि संचार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग तथा पत्रकारलाई लेखनबृत्ति उपलब्ध गराउन र छात्रवृत्ति स्थापना गर्न बैठकले स्थानीय तहहरुलाई आग्रह गरेको बताए ।
सचिव बुढाका अनुसार शाखाका अध्यक्ष ललित बसेलको अध्यक्षतामा र महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यो घोषणापत्र जारी गरेको हो ।
यस्तो छ नेपाल पत्रकार महासंघ सुर्खेतद्धारा जारी लेकबेशी घोषणापत्र
१, प्रदेश सभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसंचार प्रतिष्ठान स्थापना सम्वन्धि विधेयकलाई संविधानको परिकल्पना अनुसार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनेगरी आवश्यक संसोधनसहित विधेयक पारित गर्न आह्वान गर्दै तत्काल आमसंचार प्रतिष्ठान स्थापना गर्न बैठकले प्रदेश सरकारसँग माग गरेको छ ।
२, कोरोना महामारीका कारण समस्यामा परेका जिल्लाका संचार माध्यमहरुको दिगो संचालनका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बृद्धि गर्न र स्थानीय तथा प्रदेश सरकारले प्रकाशन गर्दै आएका विज्ञापन स्थानीय संचार माध्यममा अनिवार्य प्रकाशन तथा प्रशारण गर्नेगरी आवश्यक कानून र नीति निर्माण गर्न बैठकले आह्वान गरेको छ ।
३, प्रदेश सरकारले संचालन गरिरहेको पत्रकारको स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन माग गरेको छ ।
४, श्रमजिवी पत्रकारका लागि संचार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग तथा पत्रकारलाई लेखनबृत्ति उपलब्ध गराउन र छात्रवृत्ति स्थापना गर्न यो बैठकले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
५, पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका र आवद्ध भएका यस शाखाका सदस्यहरुलाई सदस्यता शुद्धिकरण (खारेज) गर्नुअघि नै स्वेच्छिक रुपमा महासंघको सदस्यता त्याग्न बैठकले आह्वान गरेको छ ।
६, कोरोना महामारीले संचारगृह र पत्रकारमाथि पारेको प्रभाव तथा श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे जिल्लास्थित संचार माध्यमको अनुगमन गर्ने बैठकले निर्णय गरेको छ ।
७, प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको पर्यटकीय क्षेत्र लेकबेशी नगरपालिकाको समग्र भौतिक तथा पर्यटकीय विकास र प्रवर्दनका लागि विशेष योजना ल्याउन संघीय र प्रदेश सरकारलाई आग्रह गर्दै हालसम्म स्तरोन्नति हुन नसकेको मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट–भेडाबारी सडकलाई तत्काल स्तरोन्नति गर्न यो बैठक सम्बद्ध सबैसँग आग्रह गर्दछ ।
८, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको तेस्रो पूर्ण बैठक पर्यटकीयस्थल लेकबेशी नगरपालिकाको गमखोलामा आयोजना गर्न संयोजन गर्ने लेकबेशी नगरपालिका र जनक मावि गमखोलालाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।