सिमकोट : पछिल्लो समय बिरामीको आकर्षण बढ्दै गएको आयूर्वेद चिकित्सा विधि अन्तर्गतको पञ्चकर्म सेवा जिल्लामा निःशुल्क गरिएको छ । बिरामीको माग अनुसार शाखाले उक्त सेवा निःशुल्क गरेको हो ।
सिमकोट गाउँपालिका–६ कि जौका रोकायाले यसअघि यो सेवा लिदा शुल्क तिर्नु परेपनि अहिले आएर निःशुल्क उपचार पाएको जानकारी दिइन् । उनले आयूर्वेद शाखाको यो कार्यलाई न्यून आयश्रोत भएको सेवाग्राहीलाई निकै राहत पुगेको जनाइन् । यसअघि सेवाग्राहीहरुले शाखासँग पञ्चकर्म सेवा निःशुल्क गर्न माग गर्दै आएका थिए ।
शाखाका निमित्त प्रमुख कविराज कृष्णचन्द्र जोशीले पहिले पञ्चकर्म सेवा लिए वापत सेवाग्राहीबाट एक सय रुपियाँ लिँदै आएका थियौं । तिहारपछि यसलाई निःशुल्क गरिएको प्रमुख जोशीले जनाए । न्यून आयश्रोत भएका बिरामीको मागलाई सम्वोधन गर्दै उनले बिना शुल्क उपचार गर्ने निधोमा शाखा पुगेको बताए ।
शाखाले यसरी सेवालाई निःशुल्क गरेपछि सेवाग्राहीको संख्यामा पनि वृद्धि भएको जनाएको छ । उनले विद्युत नियमित नभएको कारण सेवा प्रदान गर्न महँगो पर्ने भएपनि निःशुल्क गर्न थालिएको उल्लेख गरे । शाखामा पञ्चकर्म सेवा लिन दैनिक २५ जनासम्म आउने गरेका छन् ।
हालसम्म सेवा लिनेको संख्या एक हजार पाँच सयसम्म पुगेको शाखाले जनाएको छ । २०७७ साल मंसिर १४ गतेबाट जिल्लामा यो सेवा सुरु भएको थियो । शाखाले यो सेवा प्रदान गर्न छुट्टै कोठाको व्यवस्था समेत गरेको छ । यसका लागि दुई जना जनशक्तिको शाखाले व्यवस्था गरेको छ ।
पुरुष सेवाग्राहीका लागि पुरुष अभ्याङ्गकर्ता र महिलाका लागि महिला अभ्याङ्गकर्ता जनशक्तिको व्यवस्था गरिएको छ । उनीहरु दुबैले सेवा प्रदान गर्दै आएका छन् । यसरी शाखामा पञ्चकर्म सेवा लिन पुरुष भन्दा महिला सेवाग्राही बढी आउने गरेका छन् । गत फागुन महिनापछि शाखाका एक जना चिकित्सकको समेत व्यस्था हुँदा आयूर्वेद उपचारमा बिरामीको आकर्षण बढ्र्दै गएको छ ।
आठ प्रकारका स्थानीय जडिबुटीबाट समेत औषधि जिल्लामा निर्माण गरेर उपचार गरिने भएको कारण पनि यो सेवामा आकर्षण हुने गरेको हो । यद्यपी शाखाले स्थानीय जडिबुटीको औषधि निर्माणमा बजेटको व्यवस्था भने ज्यादै न्यून हुने गरेको जनाएको छ ।