(यदि कुनै दिन राम्रा वा नराम्रा कुराले कर्णालीबारे सोधखोज चल्यो भने सामान्यज्ञानमा प्रश्न हुनेछ, कर्णालीका पहिलो मुख्यमन्त्री को थिए ? ध्रुवसत्य उत्तरमा लेखिनेछ, महेन्द्रबहादुर शाही ।
फेरि पनि कुनै दिन कर्णाली चर्चाको विषय बन्यो वा संसारका कुनै कुनामा कर्णालीबारे छलफल चल्यो भने कर्णालीका ऐतिहासिक पात्रबारे सोधखोज हुनेछ । जुन कुरा विगतमा थिएनन् । वर्तमानमा लेखिए । सम्भवतः भविष्यमा सबैभन्दा धेरै चर्चायोग्य हुनेछन् ।
२०७२ सालको नयाँ संविधानले संघीयता लागू गरेपछि कर्णालीले पनि पहिलोपटक प्रदेश राज्य र मुख्यमन्त्री पायो । पहिलो ऐतिहासिक मुख्यमन्त्रीमा नाम लेखाउन सफल भए, नेपालको कान्छो जिल्ला कालिकोटका माओवादी नेता महेन्द्रबहादुर शाही । उनले तत्कालिन समयमा जुम्लाका माओवादी नेता नरेश भण्डारीलाई पछि पारे ।
धेरै पछिसम्म पनि पहिलो मुख्यमन्त्रीको सपना देखिरहेका एमाले नेता यामलाल कँडेल र नवगठित नेकपा एकिकृत समाजवादीका नेता प्रकाश ज्वालालाई पनि उनले आफ्नो ऐतिहासिक कार्यकालमा सफल हुन दिएनन् । राजनीतिक रुपमा सुस्त तर फौजी शैलीमा संगठनमा प्रभाव जमाउने स्वभावका शाही साढे तीन वर्ष कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएर बिदा भइसकेका छन् ।
नेपाल भन्ने देशको प्राथमिकतामा नपरेको कर्णाली र राज्य पुनसंरचना गर्दा पनि सुदूरपश्चिममा गाभिसकेको कर्णालीलाई कर्णालीकै जनताले आन्दोलनको ज्वारभाटा उठाउँदै रगत बगाएर कर्णाली बनाएका हुन् । तत्कालिन रुपमा नेकपा माओवादीले सबैभन्दा धेरै भजाएको तर प्रचण्डले देउवाको जिम्मा लगाएको कर्णाली स्थापना गर्न कर्णालीकै जनता, कर्णालीकै रगत, कर्णालीकै पसिना र कर्णालीकै आन्दोलनले निर्णायक भूमिका खेल्यो ।
प्राकृतिक हिसाबले असाध्यै धनी तर आर्थिक हिसाबले नेपालको सबैभन्दा गरीब प्रदेशका मुख्यमन्त्री बन्ने ऐतिहासिक अवसर पाएका सामन्ती संस्कारका महेन्द्र शाहीको समग्र कार्यकाल कस्तो रह्यो त ? हामीले ढिलै भएपनि यसबारे सहज र स्वभाविक समीक्षा तयार पारेका छौँ । मुख्यमन्त्री शाहीसँगै उनको मन्त्रिपरिषद्मा पहिलो मन्त्रीदेखि अन्तिम मन्त्रीसम्मको रिर्पोट कार्ड पनि हामी क्रमशः प्रस्तुत गर्नेछौँ - सम्पादक )
ऐतिहासिक मुख्यमन्त्री शाहीका सुखद क्षण
जनयुद्धको मोर्चाबाट राजनीतिमा होमिएका महेन्द्र शाही संविधानसभा सदस्य हुन् । गोली चलाएर जनताको मत पाएर आफ्नै हातले संविधान लेख्ने अवसर र अनुभव बटुलेका शाहीले तत्कालिन केन्द्र सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए ।
सोही अनुभवबाट उनी कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका हुन् । दोस्रो संविधानसभामा विभाजित माओवादीमा अध्यक्ष प्रचण्डका विश्वासपात्र जनार्दन शर्मा र शक्ति बस्नेतले नरेश भण्डारीलाई पन्छाउँदै शाहीलाई नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेता चुनेका थिए ।
संसदीय दलको नेता चुनिएपछि शाही मुख्यमन्त्री बन्ने बाटो खुल्यो । तत्कालिन समयमा माओवादी र एमाले एकता भएर बनेको नेकपामा कर्णालीमा माओवादीकै मुख्यमन्त्री बन्ने सहमति ओली र प्रचण्डमा थियो । सोही कारण महेन्द्र शाही मुख्यमन्त्री बने । यो उनको इतिहासकै सुखद् क्षण थियो ।
मुख्यमन्त्रीमा उनी चयन भएदेखि नै उनले धेरै कठिन परिस्थितीको सामना गर्नुपर्यो । राजनीतिक विचार र भिजनमा निकै कमजोर चेत भएका शाहीको सरकार उल्ट्याउन पटक पटक प्रयास पनि भयो । तर पनि उनले कर्णालीको शासनसत्ता छाडेनन् । केन्द्रमा अध्यक्ष प्रचण्ड र प्रभावशाली नेता जनार्दन शर्माको साथ पाएका शाहीले कर्णालीमा आफ्नै हिसाबले सत्ता चलाए । समीकरण उल्ट्याए । सहकर्मी नेतालाई धोका दिए । आलोचना सहे । तर पनि उनले पहिलो ऐतिहासिक कार्यकाल कम्तीमा आफ्ना लागि सफल बनाई छाडे ।
अध्यारो कर्णालीलाई उज्यालो बनाउने भाषण उनले चर्कैसँग दिइरहे । तत्कालिन नेकपामा हुँदा सहयात्री रहेका यामलाल कँडेलको षड्यन्त्रले उनलाई सफलताभन्दा असफलता धेरै दिलायो । तर अन्तिममा उनी सफल भए । सहयात्री कँडेल असफल साबित भए ।
उनले आफ्नो सत्ता टिकाउन संघर्षपूर्ण यात्रा गर्नुप¥यो । तर, अन्तिममा आएर सहज रुपमा बहिर्गमन रोजे । इतिहासमै पहिलोपटक प्रदेशसभामा विश्वासको मत लिँदा फ्लोर क्रस घटना घटाएका मुख्यमन्त्री शाहीले आफ्नो सत्ता टिकाउन साम, दाम, दण्ड, भेदको हदैसम्म प्रयोग गरे । त्यसले उनलाई धेरै विवादित बनायो । कर्णाली प्रदेश सरकारमा त्यत्तिकै लफडा पनि झेल्नुपर्यो । जसको निर्माता उनी स्वयंम थिए ।
अन्तिममा, कांग्रेससँग सत्ता सहयात्रा गर्दा आन्तरिक विवाद झगडामा परिणत हुने र सबै विकल्प समाप्त भएपछि उनले हुम्लाका जीवन शाहीलाई सहमतिको मुख्यमन्त्री बन्ने बाटो खोलिदिए । यसले उनलाई माओवादीभित्र सहमतिको राजनीति गर्ने जस दिलायो ।
तर मुख्यमन्त्री शाहीकै कार्यकालमा केन्द्रको राजनीति कर्णालीबाट घुम्यो । कर्णालीले नै केन्द्रको राजनीति निर्देशित गरिदियो । सुरुमा एमाले र पछि कांग्रेससँग सत्ता सहयात्रा गर्ने माओवादी लाइनमा उनी अग्रमोर्चामा देखिए । त्यसको गोलचक्कर कर्णालीमा भएका कारण उनले सिधा क्रेडिट पाए ।
पात्र अरु धेरै भएपनि नाइके र मुख्यमन्त्री भएका कारण उनैले बढी जसको हिसाब लिए । तत्कालिन सत्तारुढ नेकपा फुटाउने वातावरण बनेको मुख्यमन्त्री शाहीविरुद्ध यामलाल कँडेलको अविश्वास प्रस्तावले केन्द्रकै राजनीतिमा ठूलो परिघटना आयो ।
सो घटनाले तत्कालिन रुपमा नेकपा फुट्यो । मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा प्रतिपक्ष चार जना सांसदले फ्लोर क्रस गरेपछि एमाले फुट्यो । पहिला कर्णालीबाट फुट्ने सुरु भएको नेकपा र एमाले पछि केन्द्रमै औपचारिक रुपमै दुई दुई टुक्रा बने । जसको इपीसेन्टर पनि मुख्यमन्त्री शाही नै बने । आफ्नो सत्ता टिकाउन उनले गरेका प्रयासले केन्द्रीय राजनीतिमै हलचल मच्चायो ।
मुख्यमन्त्री शाही केन्द्रमा केपी ओलीको प्रतिगमनकारी कदम तीव्र रुपमा चलेकै कारण आफू यहाँसम्म आइपुग्ने वातावरण बनेको बताउँछन । उनकै कार्यकालमा कर्णाली प्रदेशबाट बनेको गठबन्धनले राष्ट्रियस्तरमा समेत पाँच दलीय गठबन्धनका लागि बाटो बनाएको धेरैको बुझाइ छ । केन्द्रमा अहिले माओवादी, काँग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा लगायत पाँच दलीय गठबन्धन सरकार बनेको छ ।
मुख्यमन्त्री शाहीको विवाद र चुनौतिपूर्ण कार्यकाल
प्रदेशसभाको पहिलो बैठकमा सबै पार्टीका सांसदले कर्णाली प्रदेशको प्रतिपक्ष भनेकै भौगोलिक विकटता र गरिबी हो भनेका थिए । मुख्यमन्त्री शाही यसैलाई कर्णालीको विकास राजनीति गर्ने सपनालाई साकार पार्ने योद्धा आफू भएको सम्झिन्थे । तर त्यो सोचेजस्तो व्यवहारमा भने नेताहरुमै देखिएन ।
‘उहाँहरुले जुन विचार भाषणमा व्यक्त गर्नुभयो, कार्यान्वयनमा त्यसको ठिक उल्टो गर्नुभयो,’ उनले भने, ‘पहिलो दिनदेखि नै सत्तापक्ष (तत्कालीन नेकपा)कै सांसदहरु सरकारलाई सहयोग गर्नेभन्दा पनि असहयोग गर्ने बाटोमा लाग्नुभयो । केही साथीहरुका कारण सत्ताभित्रै समस्या भयो ।’
उनकै भनाईमा त्यो क्रम अहिलेसम्म पनि जारी छ । ‘चालु आर्थिक वर्षको बजेट नै पास गर्न दिइएन । त्यो नियत भनेको सरकारलाई असहयोग गर्ने हो,’ उनले भने, ‘उहाँहरु (एमाले)का आफ्ना मुद्दा थिए होलान । चारजना सांसदले फ्लोरक्रस गर्नुभयो । आक्रोश थियो, आवेग थियो । त्यो त राजनीतिक कुरा हो ।’
कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएर अनवरत रुपमा चुनौती र संघर्ष गरेका शाही अहिले भने आफ्नो कार्यकालबाट आफूलाई कुनै हिनताबोध र पछुतो नभएको बताउँछन ।
‘असहयोग र विविध समस्याका बाबजुद पनि यहाँसम्म पुग्नु मेरा लागि धेरै राम्रो हो,’ उनले भने, ‘यति धेरै ठुलो चुनौतीहरु ममाथि आउँदा पनि, सारा मेरा विरुद्धमा उभिँदा, मलार्ई कसरी सिध्याउने भन्ने जाल विछ्छाउदा पनि मैले कर्णाली प्रदेशलाई यहाँसम्म ल्याउनु धेरै राम्रो, भाग्यको कुरा हो । मैले यसलाई गर्व ठानेको छु । म जति चुनौनी देख्थे उत्तिकै सम्भावना पनि देख्थे त्यसैले मात्र यहाँसम्म पुगे ।’
यति मात्र उनको संघर्ष र चुनौती थिएन । उनको विगतको राजनीतिक यात्रा अहिले भन्दा पहिलेदेखि नै संघर्षपुर्ण थियो ।
राजनीतिक यात्राको प्रस्थानविन्दु
२०४८ सालबाट औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका उनी २०५२ सालबाटै तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका थिए ।
उनले जनयुद्धमा पार्टी संगठन र छापामार गरी समानान्तर भूमिका निर्वाह गरेका थिए भने त्यतिबेला कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरेका थिए ।
पश्चिम नेपालमा बुटवलदेखि दार्चुलासम्म भएका सैन्य कारवाहीमध्ये केहीमा प्रत्यक्ष नेतृत्व समेत गरे । सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका शाहीले सेना समायोजनको बेलामा राजनीतिक मोर्चा रोजेका थिए ।
सेना समायोजनपछि उनी मुलधारको राजनीतिमा आएका हुन । उनी दोस्रो संविधानसभाको कार्यकालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जम्मा ८३ दिन ऊर्जामन्त्री समेत बनेका थिए ।
सत्ता, शक्ति र काण्डमा बित्यो तीन वर्ष
कर्णाली प्रदेश सरकार गठन भएदेखि उनको समय विकासमा भन्दा पनि सत्ता र सक्तिको मैदानमा बाजी मार्नमै धेरै समय बित्यो । सहयात्रीबाटै अन्तर्घात, असहयोगका कारण कर्णालीको विकासमा उनले बनाएको भिजन अनुसार अघि बढ्न सकेनन् ।
उनी निरन्तर अघि बढ्न खोज्थे । अघि बढ्दै गर्दा खुट्टा तान्नेहरुको जमातले पुग्नुपर्ने ठाउँसम्म पुग्न भने सकेनन् । अध्यारो कर्णालीलाई उज्यालो र दुर्गम कर्णालीलाई सुगम बनाउने सपना उनकै सहयात्रीले पुरा गर्न दिएनन् । यसमा उनी स्वयंम पनि जिम्मेवार छन् ।
उनले जति आन्तरिक रुपमा गृहकार्य गरे । बाहिरी रुपमा सबैसँग छलफल, बहस र आफूलाई मास लिडरका रुपमा उभ्याउन असफल रहे ।
जसकारण उनको यात्रा निकै कष्टपुर्ण रह्यो । तर अघि बढ्न छोडेका थिएनन् । अन्ततः इमान्दारिताको राजनीतिक संस्कार भन्दै आफ्नै प्रचारबाजीमा उनले मुख्यमन्त्री पदबाट राजीनामा दिए । जतिबेलासम्म उनी मुख्यमन्त्री पदमा टिकिरहने सबै विकल्प बन्द भइसकेका थिए ।
दुर्गमबाट सुगम कर्णालीको अपुरो प्रयास
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा २०७४ साल फागुन ३ गते शाही नियुक्त भए । उनले २०७४ फागुन ६ गते ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । भौगोलिक रुपमा विकट र सामाजिक सूचक हिसाबले कमजोर कर्णालीमा शाही सरकारको नेतृत्वको सरकार रहेको अवधिसम्म प्रभावकारी काम भने सुरु हुन सकेनन ।
उनले कर्णालीको विकासको मुहार फेर्ने केही प्रगति हासिल गर्न नसके पनि केही संरचनात्मक, आर्थिक वृद्धिदर, सामाजिक विकासका कामको सुरुवात गरेको दाबी गरेका छन् ।
उनको कार्यकालमा ल्याइएका नीति तथा कार्यक्रम, बजेट तथा योजना र आफैले निर्माण गरेका कतिपय ऐन, कानुन, कार्यविधिको कार्यान्वयनका सन्दर्भमा भने प्रदेश सरकार धेरै ठाउँमा चुकेको छ । निकै महत्त्वाकाङ्क्षी योजना बनाईए पनि कार्यान्वयन पक्ष भने त्यत्तिकै फितलो रह्यो । रोग, भोक र शोकबाट ग्रसित कर्णालीवासीले संघीयतासँगै विकास र परिवर्तनको ठुलो आशा गरेका थिए । तर उनीहरुको आशाअनुसार प्रदेश सरकारले उपलब्धी दिन भने सकेन ।
अन्य प्रदेशको तुलनामा कर्णाली मुख्यमन्त्री नियुक्ति पश्चात् प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएर चर्चामा आएको कर्णाली प्रदेश सरकारले ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’ को नारा अघि सारेको थियो । जुन नारा केन्द्रमा केपी शर्मा ओलीले अघि सारेको सुखी नेपाली, समृद्ध नेपालको हुबहुँ जस्तै कर्णालीसार देखियो ।
भौगोलिक कठिनाई, पूर्वाधारका हिसाबले पछाडि परेको यस प्रदेशमा शाही नेतृत्वको सरकारले रणनैतिक सडक, प्रदेश महत्वका सडक, प्रदेश राजधानी जोड्ने सडक, पूर्वाधार विशेष सडक, जनता सडक, पालिका केन्द्र जोड्ने सडक, कृषि सडक र पर्यटन सडक कार्यक्रम अन्तर्गत प्रदेशभरी चार हजार एकसय ६५ किलोमिटर नयाँ सडक निर्माण गरेको छ ।
सडक, पूर्वाधार र विकासको हरहिसाब
२ सय ८० किलोमिटर सडकमा ग्राभेल र २९ किलोमिटर सडकमा कालोपत्रे, प्रदेशभरि १२ वटा पक्की पुल र २३ वटा झोलुङ्गे पुल निर्माण भएका छन । कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर‑सुर्खेत सडक र राष्ट्रिय प्रसारण लाइन तथा रणनैतिक महत्त्वका रुपान्तरणकारी आयोजना उनको कार्यकालमा अगाडि बढेका छन् । प्रदेशको आन्तरिक आम्दानी वृद्धिमा भने खासै प्रगति भएन । उनको कार्यकालमा प्रदेश सरकारले एक अर्ब १८ करोड ४४ लाख ३८ हजार रुपैयाँमात्र आन्तरिक आम्दानी गर्न सक्यो ।
मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रमबाट रोजगारीका अवसर सिर्जना गर्ने काम भए पनि पर्यटन क्षेत्रमा भने सोचेजस्तो उपलब्धि हासिल भएन । तर पनि विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली बनाउने उद्देश्यका साथ पर्यटन गुरुयोजना भने प्रदेश सरकारले तयार गरेको छ ।
यस बीचमा धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरू, ४० वटा पर्यटन सडक, ५२ वटा पदमार्ग, १३ वटा होमस्टे र ६ वटा पार्क तथा उद्यान निर्माण गरिएका छन । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सुर्खेत उपत्यका रिङ्गरोड, सुर्खेत विमानस्थल लगायत उनको नेतृत्वको सरकारले ल्याएका केही महत्त्वपूर्ण कार्यक्रम भने कार्यान्वयन हुन सकेन ।
जनता आवास कार्यक्रममार्फत दुई हजार एकसय २५ आवास निर्माण भएका छन र थप आवास निर्माण कार्य जारी छ । शिक्षा र खानेपानीका क्षेत्रमा पनि निकै उपलब्धि भएका छन । ‘एक पालिका, एउटा नमुना स्कुल’ भनेर प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरेको छ ।
कर्णाली प्रदेश सरकारले छोरी जन्मिनेबित्तिकै बैक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम मार्फत खाता खोलिदिने व्यवस्था पनि गरेको छ । जस अन्तर्गत सुरुमा खाता खोल्दा १ हजार रुपैयाँ जम्मा गरिनेछ भने छोरी २० वर्ष नपुग्दासम्म मासिक पाँचसय रुपैयाँका दरले खातामा पैसा जम्मा गर्ने गरी प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो ।
उनी मुख्यमन्त्री बन्दै गर्दा जिल्लामा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउने बताएका थिए । तर, हालसम्म कर्णाली प्रदेश अस्पताललाई ३ सय शययामा स्तरोन्नति र जिल्ला अस्पताललाई ५० शयया हुनेगरी पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्नु बाहेक स्वास्थ्यको क्षेत्रमा अन्य गतिलो प्रगति भएको भने भएको छैन ।
पहिलो मुख्यमन्त्रीले झेलेको विवाद, लफडा र झगडा
कर्णाली प्रदेश सरकार र विवाद तथा काण्डहरु पर्याय बने । एकपछि अर्को गरि कर्णाली प्रदेशमा विवाद भइरहे । ती विवाद कतिपय राष्ट्रिय मिडियामा समाचारका हेडलाइन बने ।
कति विवाद प्रदेशमै थामथुम पारे । कति विवाद कर्णालीमै चर्चित बने । जसले मुख्यमन्त्रीको आलोचना बढ्यो । मुख्यमन्त्री शाही कुशल व्यवस्थापकभन्दा भद्रगोल शासकमा गनिए ।
ती मध्येका केही चर्चित विवाद यसप्रकार छन्ः
१. एनीजीओलाई चेतावनी : मुख्यमन्त्रीमा नियुक्त हुनेवित्तिकै उनले काठमाडौबाटै कर्णालीमा संघ सस्थाको व्यापार बन्द गर्ने चेतावनी दिए । कर्णालीलाई गरिब र मगन्ते बनाउनमा एनजीओ तथा आइएनजीको भूमिका बढी भएको बताएपछि उनले चर्को आलोचना व्यहोरे । पछि उनले केही मिडियामा आफ्नो भाषण सच्याउनुपरेको बताएका थिए ।
२. घरमै बसेर श्रीमतिलाई स्कुलको तलब : मुख्यमन्त्री हुनेवित्तिकै उनले जनमुक्ति सेनाको कमाण्डर हुँदा गरेको भष्टाचार पनि चर्चामा आयो । त्यसपछि उनले कालिकोटमा श्रीमतिलाई स्कुलको शिक्षक बनाएको तर स्कुलमा नपढाएरै तलब बुझिरहेको समाचार पनि सञ्चारमाध्यममा आयो । जसकारण उनको आलोचना बढ्यो ।
३. कालो बोका काटेर निवास प्रवेश : सबैभन्दा ठूलो विवाद त उनले मुख्यमन्त्रीको निवासमा प्रवेश गर्दा कालो बोको काटेको विषय चर्चामा आयो । मुख्यमन्त्री भएर पनि अन्धविश्वासमा फसेको र सामन्ती संस्कार देखाएको आरोप लाग्यो । उनी जनयुद्ध लडेको नेता भन्न रुचाउँथे, तर जनयुद्धकै स्प्रिटविपरित सामन्ती संस्कार झल्किने काम गर्थे । जसको सुरुवात उनी मुख्यमन्त्री सरेकै दिनदेखि गरे । यसले उनलाई र माओवादी पार्टीलाई विवाद र बदनाम बनायो ।
४. डिजिटल गफ दिएर आलोचित : मुख्यमन्त्री शाहीले कर्णालीलाई डिजिटल प्रदेश बनाउँछु भन्थे । यसका लागि उनले केही मन्त्रिपरिषद् बैठकमै पनि निर्णय गरे । तर त्यसले सार्थकता पाएन । उल्टो सामाजिक सञ्जाललाई चेतावनी दिने उनको बानीले गर्दा फेसबुक ट्वीटर लगायतमा चर्को आलोचना व्यहोर्नुपर्यो ।
५. ‘फ्लोर क्रस’ सांसदलाई मन्त्री बनाउने : उनले एमाले सांसदलाई फ्लोर क्रस गराएर विश्वासको मत पाएका थिए । तर विश्वासको मत पाएको भोलिपल्टै फ्लोर क्रस गरेका तीन जनालाई मन्त्री बनाए । जीवनमा कहिल्यै मन्त्री बन्न लायक नरहेका केही जनालाई फ्लोर क्रस गरेकै भरमा मन्त्री बनाउँदा पनि उनले आलोचना व्यहोरे ।
६. मन्त्रीको सेक्स स्कयान्डल भाइरल हुँदा पनि रमिते : सबैभन्दा धेरै आलोचना त त्यतिबेला भयो, जतिबेला फ्लोर क्रस गरेर मन्त्री भएका तर निकै ठूलो विवाद र काण्डमा फसेका कृषिमन्त्री र भौतिकमन्त्रीका कारण पनि मुख्यमन्त्री शाही आलोचित बने । कृषिमन्त्री शाहीको सेक्स स्क्याण्डल सामाजिक सञ्जालमा भाइरल भयो । तर उनलाई बर्खास्त गर्न मुख्यमन्त्री शाहीले सकेनन् । भौतिकमन्त्री अम्मर थापा पनि ठगी मुद्दामा विवादित बने । तत्कालिन विपक्षी एमालेका संसदीय दलका नेता यामलाल कँडेलले सोही कारण मुख्यमन्त्री शाहीको सरकारलाई अपराधीको सरकार भनेर आरोप लगाउँथे ।
७. नेतालाई सरकारी गाडी सुविधा दिने : मुख्यमन्त्री शाहीले कति भ्रष्टाचार गरे, त्यो खुल्न बाँकी होला । तर उनले सत्ताको दुरुपयोग गरेर सुरुमा सत्ता सहयात्री यामलाल कँडेल र पछि जीवन शाहीलाई सरकारी गाडी उपलब्ध गराएर थप विवाद सिर्जना गरेका थिए ।
९. धामीबाट चामल लिएर गाउँपालिका भवन शिलान्यास : यस्तै कालिकोटमा गाउँपालिकाको भवन शिलान्यासमा उनले स्थानीय धामीबाट पूजा गराएर चामल हातमा लिएर शिालान्यास गरेको भिडियोले उनी थप विवादमा तानिए । यसबाट उनी कर्णालीको अन्धविश्वास चिर्ने नभई अन्धविश्वासमा रमाउने सामन्ती संस्कारका मुख्यमन्त्री भएको झल्को दिन्थ्यो ।
१०. हेलिकोप्टर मोह र कालिकोट माया : यसबीचमा उनले थुप्रैपटक हेलिकोप्टर उडान भरे । कालिकोटमा सानै घटना हुँदा पनि उनी हेलिकोप्टर चढेर जाने तर अन्य ठाउँमा घटना दुर्घटना हुँदा चुप लाग्ने प्रवृत्तिले पनि उनी विवादित बने । जुन क्रम सुरुदेखि अन्तिमसम्म कायम रह्यो ।
११. विवादकै बेला हुम्ला सीमा भ्रमण : सत्ता समीकरण कांग्रेससँग बनेपछि मुख्यमन्त्री शाहीले नेपाल चीनको सीमाको अवलोकन गरे । जबकी सेना, सडक र सीमा केन्द्र सरकारको मातहत रहन्थ्यो । यी कुरा पूर्ण रुपमा केन्द्र सरकारको नियन्त्रणमा रहँदा मुख्यमन्त्री शाहीले समन्वय नगरेरै कांग्रेस तत्कालिन संसदीय दलका नेता जीवन शाहीको उक्साहटमा हुम्लाको विवादित सीमा नाकाको अवलोकन गरेका थिए ।
१२. डलर झार्न सडक नबनाएको भाषण : मुख्यमन्त्री शाही प्राय आफ्नै अभिव्यक्तिको कारण चर्चा पाउँथे । त्यो भन्दा बढी आलोचित बन्थे । कर्णाली खबर डटकमको औपचारिक उद्घाटन तथा शुभारम्भ कार्यक्रममा उनले कर्णालीको पर्यटन विकासका लागि दिएको अभिव्यक्ति सर्वाधिक विवादित बन्यो । दसै अगाडि मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएका बेला उनले त्यसअघि नै दोभान मल्टिमिडियाले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्ति सर्वाधिक विवादित बन्यो । त्यतिबेला उनले कर्णालीमा सडक निर्माण गर्दा ट्रेकिंग रुट मासिने घुमाउरो भाषण दिएका थिए । तर उनले त्यसलाई आफूले सडक विकास गर्न नसकेको स्वीकार गर्न नसकेर कच्ची सडकमै धेरै विदेशी पर्यटकबाट डलर झर्ने अभिव्यक्ति दिएका थिए । जुन धेरै आलोचित र विवादित बन्यो ।
सफलता थोरै, असफलता धेरै !
मुख्यमन्त्री शाही इतिहासमा पहिलो मुख्यमन्त्री बन्न सफल भए । यो उनका लागि सफलता हो । उनले प्रदेशको संरचना विकास र विस्तार गरे । त्यो औपचारिकता थियो ।
तर उनले पहिलो मुख्यमन्त्री हुँदा पाएका धेरै अवसर खेर फाले । उनले न मन्त्रीलाई काम गर्न उत्साहित पारे । न आफूले गतिलो विकास गरे । यसकारण पनि मुख्यमन्त्री शाहीको तीन वर्षे कार्यकाल सफलताभन्दा धेरै असफलतामै बित्यो ।
कात्तिक १५ गते पदबाट राजीनामा दिँदा झण्डै ९ पेजको सम्बोधनमा मुख्यमन्त्री शाहीले कोरा पेजमा धेरै शब्द उतारेका थिए । देखिने उपलब्धी कम थिए । जसमा १३ किलोमीटर सडक निर्माण गरेको भाष्य समेत सामेल थियो ।
भलै उनले आफ्नो कार्यकालमा कालिकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडे । सुर्खेत र कालिकोटमा अक्सिजन प्लान्ट स्थापना गरे । तर यी बाध्यतामा गरिएका काम थिए । यसर्थ उनले कर्णालीमा त्यस्तो गौरव गर्न लायक काम भने गर्न सकेनन् ।